सेभ द चिल्ड्रेनद्वारा सरकारलाई सात थान भेन्टिलेटर सहयोग
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनले सरकारलाई रु. १ करोड ७५ लाख ३० हजारको स्वास्थ्य सामग्री सहयोग स्वरुप दिएको छ। सेभ द चिल्ड्रेनले ग्लोबल फन्ड परियोजनामार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सात थान मेकानिकल भेन्टिलेटर सहयोग गरेको हो।
संस्थाका निमित्त डेपुटी राष्ट्रिय निर्देशक वीरेन्द्र ठगुन्नाका अनुसार भेन्टिलेटरलाई मन्त्रालयको आवश्यकता अनुसार प्रयोगमा ल्याउन सक्नेछ।
"आईसीयू भेन्टिलेटरको अभावलाई सम्बोधन गर्न सेभ द चिल्ड्रेन अन्तर्गतको ग्लोबल फन्ड प्रोजेक्टमार्फत कोभिड नियन्त्रणमा सहयोग पुर्याउन सात थान भेन्टिलेटर उपलब्ध गराएका छौं," उनले भने "यी भेन्टिलेटर महिला तथा बालबालिका र पिछडिएको समूदायको स्वास्थ्य उपचारमा प्रयोग हुनेछ।"
पछिल्लो समय कोभिड–१९ संक्रमणको दर बढिरहँदा संक्रमितको उपचारका लागि भेन्टिलेटरको माग पनि बढ्दै गइरहेकोले सरकारले तोकिएको सर्तमा भन्दापनि आवश्यकता अनुसार प्रयोग गर्न सक्ने उनले बताए।
सेभ द चिल्ड्रेनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलालाई पीसीआरको नमूना संकलन कार्यमा प्रयोग हुने सामग्री (पीसीआर स्याम्पल एक्स्ट्राक्सन मसिन) पनि उपलब्ध गराएको छ।
यसका साथै देशभरका परीक्षण ल्याबमा २० हजार थान आरएनए जाँच र २० हजार थान पीसीआर जाँचका लागि उपकरणसमेत उपलब्ध गराएको सेभ द चिल्ड्रेनले जारी गरेको एक प्रेस विज्ञप्तीमा उल्लेख छ।