काठमाडौं उपत्यकामा यी स्थानमा बन्दैछन् दुई हजार बेडका आइसोलेसन सेन्टर
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्थानमा गरी करिब दुई हजार बेडका आइसोलेन सेन्टर थप्ने भएको छ।
हाल काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ३०९६ पुगेको छ। त्यसमध्ये उपत्यकाका जिल्लाहरू काठमाडौमा २४५३, ललितपुरमा ३९९ र भक्तपुरमा २४४ जना संक्रमित रहेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकमा कोरोना संक्रमितको संख्या ३१९३५ पुगेको छ। यीमध्ये १३१५५ सक्रिय संक्रमित छन्। ७ भदौसम्ममा कोरोना कारण १४७ जनाको मृत्यु भइसकेको छ, भने १८६३१ जना निको भइसकेका छन्।
पछिल्ला दिनमा काठमाडौं लगायत मुलुकका विभिन्न ठाउँमा लक्षणसहितका र कोरोनाका सिकिस्त बिरामीहरूको संख्या पनि बढीरहेको छ। कोरोनाका लक्षणसहितका र सिकिस्त बिरामीको संख्या बढेपछि सबैजसो कोरोना विशेष अस्पताल संक्रमितले भरिएका छन्।
अस्पतालले थेग्न सक्ने अवस्था नआएपछि स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिएका कारोना संक्रमितलाई घरमै स्वास्थ्यका मापदण्ड पालना गरेर बस्ने व्यवस्था मिलाएको छ।
स्वास्थ्य मन्त्रालयको ७ भदौसम्मको तथ्यांक अनुसार होम आइसोलेसनमा बसिरहेका कोरोना संक्रमितको कुल संख्या ३९४३ छ। तर घरमा बसिरहेका कोरोना संक्रमितले स्वास्थ्यका मापदण्ड पालना गर्न सक्ने सम्भावना कम भएकाले अन्य व्यक्तिलाई पनि संक्रमण सार्न थालेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गर्दै आइरहेका छन्।
यसैबीच स्वास्थ्य मन्त्रालयले लक्षण बिनाका कोरोना संक्रमित राख्न उपत्यकाका विभिन्न चार स्थानमा आइसोलेसन केन्द्र बनाउने भएको छ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपरेन्द्ररमण सिंहले संक्रमित व्यक्ति राख्न कीर्तिपुरको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र चिकित्सा शास्त्र अध्ययन संस्थानको भवनमा २०० भन्दा बढी बेड छुट्याएको बताएका छन्। डा. सिंहका अनुसार यसबाहेक इचगुंमा रहेको एक भवनमा ५०० बेड र खरिपाटीको विद्युत प्राधिकरणको भवनमा ५०० बेडको आइसोलेसन केन्द्र बन्दैछ।
उनले दहचोकको मनमोहन मेडिकल कलेजको भवनमा ३०० भन्दा बढी बेडको आइसोलेसन केन्द्र आतबारदेखि नै सञ्चालनमा आएको बताए। “यसबाहेक उपत्यकाका विभिन्न अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा छुट्टै आइसोलेसन बेड बनाइएको छ,” उनले भने।
डा. सिंहले उपत्यकाका चार ठाउँमा ठूलो स्तरमा र अन्य विभिन्न स्वास्थ्य संस्थामा सानो स्तरमा गरेर कुल करिब २००० बेडको आइसोलेसन कक्षको व्यवस्थापन गरेको र गर्ने क्रममा रहेको बताए।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाका मेडिकल कलेजमा कोरानाका लक्षण देखिएका बिरामीको उपचार गर्न कोरोना विशेष अस्पताल बनाउनेबारे छलफल भइरहेको बताए।
डा.गौतमका अनुसार आवश्यक परे मन्त्रालयले विभिन्न होटलका भवनहरूलाई समेत प्रयोग गरेर आइसोलेसन केन्द्र बनाउने तयारी गरिरहेको छ।