रुपन्देहीमा निषेधाज्ञा एक हप्ता थप
रुपन्देही जिल्लामा लगाइएको निषेधाज्ञालाई १४ भदौसम्म थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज सूचना जारी गर्दै २ भदौदेखि लगाइएको निषेधाज्ञालाई १४ भदौ राति १२ बजेसम्म थप गरेको जनाएको छ।
कोरोना भाइरसको संक्रमण दिनहुँ बढिरहेकाले नियन्त्रण र रोकथामलाई प्रभावकारी बनाउन जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार ७ भदौसम्मको निषेधाज्ञालाई १४ गतेसम्म लम्बाइएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।
औषधी, खाद्यन तथा अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनैपनि व्यक्ति घरबाट बाहिर निस्कन प्रशासनले रोक लगाएको छ।
खाद्यान्न, फलफूल, तरकारी, माछामासु दूध तथा डेरीजन्य पसलहरु बिहान ६ देखि ९ बजेसम्म र साँझ ४.३० देखि ६.३० सम्म सञ्चालन गर्न दिइने जनाइएको छ। जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तीमा कृतिम अभाव सिर्जना गर्ने, र लुकाउनलाई कानुन बमोजिम कारवाही गर्ने जनाएको छ।