वीरगञ्ज महानगरका मेयर सरावगी २५ दिनपछि कोरोना मुक्त
पर्साको वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी २५ दिनपछि कोरोना मुक्त भएका छन्।
१४ साउनमा कोरोना संक्रमण पुष्टि भएका उनी आज संक्रमण मुक्त भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्। काठमाडौंकै एक अस्पतालमा उपचाररत उनको १२ दिन सघन उपचार कक्षमा उपचार भएको थियो।
उनका बुबासहित परिवारका सदस्यहरूसमेत संक्रमण भएका थिए। उनका बुबा अझै अस्पतालमा भएको र आफूसहित अरू परिवारका सदस्यको कोरोना रिपोर्ट नेगेटिभ उनले आएको बताएका छन्।
बुबाको काठमाडौंस्थित ग्राण्डी अस्पतालको सघन कक्षमा उपचार भइरहेको र स्वास्थ्यमा खासै सुधार आउन नसकेको पनि उनले जानकारी दिएका छन्।
आफूलाई संक्रमित हुँदा राष्ट्रपति, प्रधानमन्त्रीदेखि सबै क्षेत्रका व्यक्तिहरूले स्वास्थ्य अवस्थाबारे चासो राखेकोमा धन्यवाद व्यक्त गर्दै अब वीरगंजलाई कोरोना मुक्त गर्दै ग्रीन जोन बनाउन सबैको साथ सहयोग चाहिएको पनि उनले बताएका छन्।