सांसद चुनकुमारीको कथा: ४० वर्षपछि अक्षर सिकिन्, एसईईपछिको धोको राजनीतिशास्त्र पढ्ने
सुदूरपश्चिम प्रदेश सभा सदस्य चुनकुमारी चौधरीको जीवनमा धेरै कुरा उल्टा भए। ढिलो हुनुपर्ने कुरा छिटो र समयको रफ्तार अनुसार हुनुपर्ने कुरा ढिलो। समयले ठग्दै ल्याए पनि भुइँबाट उठ्न उनले जुटाएको हिम्मत र त्यसले दिलाएको उपलब्धिले खुशी अटेसमटेस छ।
कैलालीमा कमैया परिवारमा जन्मिएकी चुनकुमारीको बाल्यकाल जमीनदारकै घरमा बित्यो। मालिकको सेवालाई नै जिन्दगी बनाएका कमैया दम्पतीसँग छोरीलाई पढाउनुपर्छ भन्ने सोच नै थिएन।
बाल्यकालको चञ्चलता छँदै १५ वर्षकै उमेरमा उनको विवाह भयो। कलिलो उमेरमा घरगृहस्थीको बोझले औपचारिक अध्ययन सुदूर सपना भयो। तर, उनको जीवनमा एक जुगमा एक दिन आउन बाँकी नै रहेछ।
उनै चुनकुमारीले समय–परिस्थितिले पछि पारे पनि पढ्न कहिल्यै ढिलो हुँदैन भन्ने साबित गरेकी छन्। २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को हालै आएको नतिजाले ४३ वर्षीया चौधरीलाई बिछट्टै खुशी दियो। कैलालीको गोदावरी नगरपालिका–६, बडेहा घर भएकी उनले गेटास्थित सिद्धबाबा माध्यमिक विद्यालयबाट एसईईमा २.२५ ग्रेड ल्याएकी छिन्।
विद्यालय भर्ना हुने त्यो इख
चुनकुमारीले २०७४ सालमा ४० वर्षको उमेरमा विद्यालय शिक्षा शुरुआत गरेकी हुन्। अत्तरियास्थित भागेश्वर आधारभूत विद्यालयमा एकैचोटि ८ कक्षा भर्ना भई बोर्ड परीक्षा उत्तीर्ण भएकी थिइन्।
२०७४ सालमा प्रदेश सभा सदस्यको टिकट लिने क्रममा उनलाई धेरैले ‘पढेकै छैन’ भन्ने टिप्पणी गरे। “त्यसबाट मलाई आत्मग्लानि भयो, आखिरमा त्यसैलाई प्रेरणा बनाएर म स्कूल भर्ना भएँ”, उनी भन्छिन्।
विद्यालय शिक्षा लिनु अघि उनले साक्षरता कक्षा नलिएकी भने होइनन्। उनले आधारभूत कम्प्युटर शिक्षा, ड्राइभिङ सीप पनि हासिल गरेकी थिइन्। तर, शैक्षिक योग्यता नभएको कारण जीवन अन्धकार भएको महसुस भइरहन्थ्यो। “सामाजिक संरचना र गरीबीको कारण मैले समयमा शिक्षा आर्जन गर्न पाइनँ”, उनी भन्छिन्, “शिक्षाविना जीवनमा कैयौं पटक मान्छेहरूको माझमा मरेतुल्य भएको अनुभूति पनि भयो।”
२०७४ सालमा प्रदेश सभा सदस्यको टिकट लिने क्रममा उनलाई धेरैले ‘पढेकै छैन’ भन्ने टिप्पणी गरे। “त्यसबाट मलाई आत्मग्लानि भयो, आखिरमा त्यसैलाई प्रेरणा बनाएर म स्कूल भर्ना भएँ”, उनी भन्छिन्। उनी स्कूल भर्ना भएको शुरुमा पति र छोरालाई समेत जानकारी थिएन। एक सातापछि पतिले थाहा पाएर उनको हौसला बढाउँदै बधाई दिए। “त्यो दिनदेखि औपचारिक शिक्षाबारे बाहिर खुल्न आँट आयो”, उनी भन्छिन्।
विद्यालयमा भर्ना त भइन्, तर कक्षाकोठामा भर्खरका किशोरकिशोरीसँग बसेर पढ्न शुरु–शुरुमा उनलाई कम अप्ठेरो लागेन। स्कूले जीवनको पहिलो वर्ष सम्झँदै भनिन्, “कति अप्ठेरो लाग्थ्यो भने, कक्षामा पसेपछि पिसाब फेर्न पनि निस्कदैनथें। बिरामी पनि परें। बिस्तारै विद्यार्थी भाइबहिनीलाई साथी बनाएर घुलमिल हुँदै गएँ।”
पढाइप्रति चुनकुमारीको भोक किन पनि उदाहरणीय छ भने, उनी आफ्नो छोराभन्दा पनि साना उमेरकासँग लय मिलाएर पढ्न थालिन्। उनका २५ वर्षीय छोरा दीपक चौधरी बीएससी उत्तीर्ण गरेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जागिरे छन्।
पढाइ अगाडि बढाउँदा आफूले संसद्को काममा कहिल्यै बाधा नपुर्याएको उनी बताउँछिन्। सामाजिक, राजनीतिक कामको चापाचापबीच शिक्षालाई निरन्तरता दिंदै आएको उनको भनाइ छ।
एसईईको नतिजापछि अब राजनीति शास्त्र लिएर उच्च शिक्षा पढ्ने उनको योजना छ। उनी भन्छिन्, “देशको लागि धेरै काम गर्न बाँकी छ। अब मलाई कुनै पनि अवरोधले छेक्न सक्दैन।”
चुनकुमारीले आफ्नो सामाजिक तथा राजनीतिक जीवन २०५१ सालदेखि शुरू गरेकी हुन्। २०७४ सालको प्रदेश सभा निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी चुनकुमारी पहिल्यैदेखि सामाजिक गतिविधिमा क्रियाशील थिइन्।
एसईईको नतिजापछि अब राजनीति शास्त्र लिएर उच्च शिक्षा पढ्ने उनको योजना छ। उनी भन्छिन्, “देशको लागि धेरै काम गर्न बाँकी छ। अब मलाई कुनै पनि अवरोधले छेक्न सक्दैन।”
स्थानीय बडेहा चैटनीपुर महिला सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ता हुँदै सचिव र अध्यक्षको जिम्मेवारी सम्हालेकी उनी त्यसपछि रेन्जपोस्ट अत्तरिया अन्तर्गत सामुदायिक वन उपभोक्ता महासंघ (फोकोफन) को उपाध्यक्ष भइन्। २०६३ सालमा एमालेको क्रियाशील सदस्यता लिएकी उनी खानेपानी उपभोक्ता महासंघको केन्द्रीय सदस्य समेत भइन्।
हाल उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा), कैलालीकी जिल्ला सदस्य छिन्।