सर्लाहीमा एक हप्ता निषेधाज्ञा थप
पछिल्ला केही दिनयता सर्लाहीमा कोरोनाको संक्रमण बढेको र बढ्ने सम्भावना कायमै रहेको हुँदा जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लाभर लागू हुने गरी निषेधाज्ञाको म्याद एक हप्ता थप गरेको छ।
निषेधाज्ञाको कारण सर्लाहीमा चहलपहल कम भएको र कोरोनाको विस्तारमा नियन्त्रण गर्न सजिलो भएकाले सबैतिरबाट सुझाव आएपछि सर्लाहीमा निषेधाज्ञाको म्याद एक हप्ता थप गरिएको हो।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्लास्तरीय समितिको आइतबारको बैठकले १४ भदौसम्मका लागि निषेधाज्ञाको म्याद थप गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन्।
सर्लाहीमा २६ साउनदेखि ३२ साउनसम्म निषेधाज्ञा जारी गरिएकोमा एक हप्ता म्याद थपेर ७ भदौसम्म पुर्याइएको थियो। ७ भदौमा भएको निर्णयअनुसार १४ भदौको राती १२ बजेसम्मको लागि पुनः निषेधाज्ञा थप गरिएको प्रजिअ पौडेलले जानकारी दिए।
निषेधाज्ञाले जनजीवन प्रभावित भएको तर कोरोना नियन्त्रणमा निकै सहयोग पुगेको सदरमुकाम मलंगवाका बुद्धिजीवी रामचन्द्र महतोले प्रतिक्रिया दिए। अब थप गरिएको अवधिमा कोरोनाको विस्तारमा ठोस योगदान दिने महतोको भनाइ छ।