कोही किन गर्छ आत्महत्या? रोकथामका लागि कसले के गर्ने?
विश्वमै आत्महत्या गम्भीर चुनौती बनिरहेको छ। सामान्यतया चरम निराशा, तनावलाई यस्तो दुर्घटनाको कारण औंल्याउने गरिए पनि आत्महत्याका घटनामा एउटै मात्र कारण हुँदैन। ८० प्रतिशत आत्महत्या भने मानसिक स्वास्थ्य समस्याका कारणले हुन्छन्। त्यस बाहेक व्यक्तिका मनोवैज्ञानिक, वंशाणुगत र सामाजिक अवस्थालाई पनि आत्महत्याको कारण मानिएको छ।
खासमा मनोवैज्ञानिक, वंशाणुगत र सामाजिक अवस्था आदि समष्टिगत कारणले नै हामीलाई स्वस्थ वा रोगी बनाउने हो। मानिस मानसिक रूपमा रोगी भयो र समयमा रोगको पहिचान हुन सकेन भने आत्महत्या जस्तो दुःखद दुर्घटना निम्तिन सक्छ।
मानसिक स्वास्थ्य समस्या निम्तिनुमा जैविक, सामाजिक र मनोवैज्ञानिक पाटो जोडिएको हुन्छ। अहिले देखिएको कोभिड–१९ महामारीले सामाजिक अवस्थाको प्रतिनिधित्व गर्छ। अहिले कुन व्यक्ति आत्महत्याको जोखिममा छन् भन्ने निर्धारण उनीहरुको दैनिकी, वंशाणुगत अवस्था र व्यक्तिले आफ्नो असहज अवस्थालाई कसरी व्यवस्थापन गर्छन् भन्ने विषयले गर्छ। महामारीले ल्याउने सामाजिक–आर्थिक कठिनाइ र बेरोजगारीको समस्याका कारण मानिसमा तनाव र अवसाद बढ्छ र आत्महत्याका घटना बढ्न सक्छन्।
मानसिक स्वास्थ्य समस्या निम्तिनुमा जैविक, सामाजिक र मनोवैज्ञानिक पाटो जोडिएको हुन्छ। अहिले देखिएको कोभिड–१९ महामारीले सामाजिक अवस्थाको प्रतिनिधित्व गर्छ। अहिले कुन व्यक्ति आत्महत्याको जोखिममा छन् भन्ने निर्धारण उनीहरुको दैनिकी, वंशाणुगत अवस्था र व्यक्तिले आफ्नो असहज अवस्थालाई कसरी व्यवस्थापन गर्छन् भन्ने विषयले गर्छ।
नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको तथ्यांक हेर्दा विगतको वर्षमा भन्दा आत्महत्याको घटना त्यति धेरै बढी छैन। यद्यपि आत्महत्याका घटना बढिरहेका छन्। एउटा व्यक्तिले के कारणले आत्महत्या गर्छ वा कुन कुराले त्यसका लागि प्रेरित गर्छ भन्ने पहिचान गरेर मानसिक स्वास्थ्यबाट सम्बोधन गर्न सकियो भने आत्महत्याका घटना रोकथाम गर्न सकिन्छ।
सरकारले आत्महत्या न्यूनीकरण गर्ने लक्ष्यसहित सूचक नै राखेर सन् २०१४ बाट काम शुरु गरेको थियो। सन् २०१५ मा प्रति एक लाखमा १६ जनाले आत्महत्या गरेका देखिएको थियो। यो संख्या सन् २०२० मा घटेको हुनुपर्नेमा झन् बढ्यो। अहिले प्रति एक लाखमा १९ जनाले आत्महत्या गरिरहेका छन्।
यो तथ्यांकले सन् २०३० सम्म प्रतिलाख जनसंख्यामा आत्महत्या ४.७ मा झार्नुपर्ने लक्ष्य पूरा गर्न चुनौती देखिन्छ। अहिले बढिरहेको आत्महत्या दरले परिणाम हासिल गर्न मानसिक स्वास्थ्यका लागि धेरै काम गर्न बाँकी रहेको पुष्टि गर्छ।
न्यूनीकरणका लागि के गर्ने ?
आत्महत्याका घटना न्यूनीकरण गर्ने विषयमा भएका अध्ययन–अनुसन्धानले यसका लागि विभिन्न उपाय सिफारिश गरेका छन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तयार पारेको आत्महत्या सम्बन्धी रणनीतिलाई हाम्रो अनुकूलता अनुसार परिमार्जन गरेर प्रयोग गर्न पनि सक्छौं।
आत्महत्या दुःखद दुर्घटना र अकाल मृत्यु हो भन्ने कुरा जनचेतना बढाउन आवश्यक छ। आत्महत्याको सोच स्वास्थ्य समस्याको समयमै निराकरण नहुँदाको परिणाम हो, जुन सोचलाई व्यवस्थापन गर्न सकिन्छ भनेर मार्गदर्शन गर्न सकिन्छ। आजको परिस्थिति र घटनाले तनाव निम्त्याए पनि भोलिका दिन सुखद हुन्छ भनेर सर्वसाधारणमा सकारात्मक चिन्तन फैलाउन सके आत्महत्या केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ।
आत्महत्या दुःखद दुर्घटना र अकाल मृत्यु हो भन्ने कुरा जनचेतना बढाउन आवश्यक छ। आत्महत्याको सोच स्वास्थ्य समस्याको समयमै निराकरण नहुँदाको परिणाम हो, जुन सोचलाई व्यवस्थापन गर्न सकिन्छ भनेर मार्गदर्शन गर्न सकिन्छ।
मानसिक स्वास्थ्यको समयमै पहिचान गर्ने खालको कार्यक्रम पनि जरुरी छ। यसका साथै हाम्रा परिवारका सदस्य, आफन्त, साथीभाइ कस्तो चरणबाट गुज्रिरहेका छन् भनेर मनोभाव बुझ्ने, तिनका कुरा सुन्न समय दिने हामी सर्वसाधारणको प्रयासले पनि तनाव व्यवस्थापनमा ठूलो सघाउ पुग्छ। जसले सम्भावित दुर्घटना टर्न सक्छ।
नेपालमा विष सेवन र झुण्डिएर आत्महत्या गर्ने दर उच्च छ। विषादीको पहुँच टाढा गराउन सकियो भने पनि केही मात्रामा आत्महत्या घटाउन सकिन्छ।
आत्महत्या न्यूनीकरणमा सञ्चारमाध्यमको पनि महत्वपूर्ण भूमिका हुन्छ। आत्महत्याको घटना सम्बन्धी समाचार प्रकाशन/प्रसारण गर्दा सनसनीखेज पार्ने भन्दा पनि चेतना बढाउने र आत्महत्यालाई निरुत्साहित गर्ने गरी प्रस्तुत गर्नुपर्छ। आत्महत्याका समाचारलाई प्राथमिकता दिएर व्यक्तिले कसरी आत्महत्या गर्यो भनेर विस्तृत घटना विवरण दिनुहुँदैन।
एउटा व्यक्तिले आत्महत्या गर्दा अरु २५ जनाले प्रयास गरेका हुन्छन् भनिन्छ। त्यसैगरी एउटा व्यक्तिले आत्महत्या गर्दा उसको परिवार छरछिमेक र इष्टमित्र गरी ८० जना पीडाबाट गुज्रिन्छन् भन्ने मान्यता छ। यसै कारण उनीहरुको पीडाप्रति संवेदनशील हुनुपर्छ।
आत्महत्या न्यूनीकरणमा सञ्चारमाध्यमको पनि महत्वपूर्ण भूमिका हुन्छ। आत्महत्याको घटना सम्बन्धी समाचार प्रकाशन/प्रसारण गर्दा सनसनीखेज पार्ने भन्दा पनि चेतना बढाउने र आत्महत्यालाई निरुत्साहित गर्ने गरी प्रस्तुत गर्नुपर्छ। आत्महत्याका समाचारलाई प्राथमिकता दिएर व्यक्तिले कसरी आत्महत्या गर्यो भनेर विस्तृत घटना विवरण दिनुहुँदैन।
आत्महत्या न्यूनीकरणलाई नेपाल सरकारले प्राथमिकतामा राख्दै आएको छ। सरकारले आत्महत्या रोकथामका लागि गत वर्षदेखि प्रदेश र स्थानीय तहमा जनचेतना अभिवृद्धि गर्न वार्षिक कार्यक्रम बनाएर बजेटको व्यवस्था गरेको छ। हरेक वर्ष सेप्टेम्बर १० मा विश्व आत्महत्या विरुद्धको दिवसलाई जनचेतनामूलक कार्यक्रम गरेर मनाउने भनेर ७ सय ५३ वटै पालिकामा बजेटको व्यवस्था गरिएको छ।
तर विडम्बना के छ भने, स्थानीय सरकारको प्राथमिकतामा यति संवेदनशील पाटो पर्ने गरेको छैन। आत्महत्या रोकथामका लागि विनियोजित बजेट गत वर्ष खर्च गरेको पाइएन। अर्थात् स्थानीय सरकारले त्यसको महत्व नै बुझ्न सकेनन्।
आत्महत्या रोकथामको विषयमा स्थानीय सरकारलाई जिम्मेवार बनाउन आवश्यक छ। उनीहरुलाई यसप्रति सचेत गराउनुपर्ने देखेर स्थानीय सरकारमा रहेका स्वास्थ्यका व्यवस्थापकहरुलाई मानसिक स्वास्थ्यका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत अभिमुखीकरण गर्नुपर्छ भनेर लागेका छौं। बजेट राखेर मात्र परिणाम प्राप्त हुँदैन। परिणाम ल्याउन हामीले रणनीतिक तयारी गरिरहेका छौं।
(मानसिक रोग अस्पताल पाटनमा कार्यरत डा. कार्कीसँग मुकेश पोखरेलले गरेको कुराकानीमा आधारित।)