बुटवलमा दुईजना कोरोना संक्रमितको मृत्यु, अस्पतालमा नर्सको अभाव
बुटवलको कोरोना विषेश अस्पतालमा उपचारको क्रममा आइतबार दिउँसो दुई जनाको मृत्यु भएको छ। कोरोना अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नम्बर १ की ६७ वर्षीया महीला र समरीमाई गाउँपालिका २ का ३८ वर्षीय पुरुष छन्।
कोरोना संक्रमित भएपछि महिलालाई ३१ साउनमा अस्पताल भर्ना गरिएको थियो। अवस्था नाजुक बन्दैगएपछि ३ भदौमा भेण्टिलेटरमा सारिएको थियो।
त्यसैगरी पुरुषलाई १ भदौमा उपचारका लागि कोरोना विषेश अस्पतालमा भर्ना गरिएको थियो। उनलाई २ भदौबाट भेण्टिलेटरमा राखिएको थियो। दुवै जनालाई अस्पताल पुर्याउँदा ज्वोरो, खोकी र स्वास प्रश्वासमा समस्या रहेको डा. थापाले बताए।
महिलामा उच्च रक्त चाप र मृगौलाको समस्या देखिएको थियो। संक्रमितहरूको संख्या बढेसंगै अस्पतालमा बिरामीको चाप बढेको छ। कोरोना अस्पतालमा रहेको १६ आईसीयू बेडमा बिरामी भरिएका छन्।
त्यसबाहेक आईसीयूमा नर्सको कमि छ। डा. थापाका अनुसार आधा नर्सले काम चलेको छ। ६० जना थप नर्स आवश्यक पर्नेमा अहिले आईसीयूमा ३० जना रहेका छन्।