काठमाडौं उपत्यकामा थप १६६ जनामा कोरोना संक्रमण
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६६ जना कोरोना संक्रमित भेटिएका छन्। यससँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ३०९६ पुगेको छ। काठमाडौमा २४५३, ललितपुरमा ३९९ र भक्तपुरमा २४४ संक्रमित रहेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा आइतबार ८१८ जना कोरोना संक्रमित भेटिएका छन्। त्यसमध्ये २२० जना महिला र ५९८ जना पुरुष रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाका जिल्लाहरू काठमाडौंमा १२६ जना, ललितपुर १२ जना र भक्तपुरमा २८ जना कोरोना संक्रमित भेटिएका हुन्।
त्यस्तै पछिल्लो २४ घण्टामा २८१ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १८६३१ पुगेको छ।
त्यस्तै मुलुकमा हाल सक्रिय संक्रमितको संख्या १३१५५ पुगेको छ। त्यसमध्ये ९२१२ जना संस्थागत आइसोलेसन र ३९४३ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै देशभर १० जनाको भेन्टिलेटर र १३७ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ। आईसीयूमा उपचार भइरहेकामध्ये प्रदेश-१ मा १७ जना, प्रदेश-२ मा ४९ जना, बागमती प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश-५ मा १६ जना छन्। भेन्टिलेटरमा उपचार भइरहेका १० जना नै बागमती प्रदेशमा रहेको मन्त्रालयले जनाएको छ।