भारतमा बसेर नेपालमा लागूऔषधको कारोबार गर्ने एकजना पक्राउ
भारतमा बसेर नेपालमा अपराधिक गतिविधि गरिरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंलगायत प्रदेश १ र २ का विभिन्न स्थानमा हतियार तथा लागूऔषधको कारोबार गर्ने एक व्यक्तिलाई विराटनगरमा बोलाएर प्रहरीले पक्राउ गरेको हो।
काठमाडौंका ब्यापारीसँग रु १ करोड भन्दा बढीको लागूऔषधको सम्झौता गर्ने प्रलोभन दिएर मोरङ प्रहरीले भारतीय अपराधीलाई ६ भदौमा विराटनगर बोलाएर उनलाई नियन्त्रणमा लिएको हो।
मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार भारतको बिहार अररिया जिल्ला इन्द्रनगर १० टिकुलिया टोलका बग्गा नामले चिनिने प्रदीप यादव (३९) पक्राउ परेका हुन्।
नेपालमा विभिन्न मुद्दा लागेका यादव यहाँ सर्वाधिक खोजीमा रहेका अपराधीमध्ये पर्छन्। प्रहरीका अनुसार, यादवलाई हातहतियार तथा लागूऔषधको कारोबार सञ्जाल विस्तार गरी आपराधिक कार्य गर्ने गिरोहका मुख्य नाईकेका रुपमा यसअघि नै मुद्दा चलाइएको थियो। प्रहरीले लागूऔषध कारोबारी बनेर फोन गरी बोलाएपछि शनिबार अपरान्ह विराटनगर १६ दरहिया नाकाबाट यादव नेपाल प्रवेश गरेका थिए।
उनको साथबाट डाइलेक्स डि.सी. १५ बोतल, नाईट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्की लागूऔषध बरामद गरिएको प्रहरीले बताएको छ। ३ मंसीर २०७५ मा उदयपुरको उदयपुरगढी निवासी मन्दिप तामाङलाई मेड इन युएसए लेखिएको अटोमेटिक पेस्तोल र ४ राउण्ड गोलीसहित प्रहरीले विराटनगरमा पक्राउ गरेको थियो।
यादवले तामाङ मार्फत सुनसरी दुहवी ५ घर भई ईटहरी १२ खनार बस्ने सुशीलकुमार साहुलाई दिन भारतबाट पेस्तोल पठाएका थिए।
तामाङ र साहुलाई विराटनगर १६ स्थित भारतीय सीमावर्ती क्षेत्रमा प्रहरीले पक्राउ गरेपछि यादवले पेस्तोल पठाएको रहस्य खुलेको प्रहरीको भनाइ छ। ८ मंसीर २०७५ मा विराटनगर १६ का बिध्यानन्द मण्डल र अनुप गिरीलाई ३८० एम्पुल लागूऔषध, १०५.११० ग्राम ब्राउन सुगर, कटुवा पेस्तोल र २ राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको थियो।
मण्डल र गिरी सुनसरी धरान घर भई ललितपुर ४ एकान्तकुनामा बस्ने रुपम राईलाई लागूऔषध र पेस्तोल दिन भरिया बनेर आएका थिए। भारतबाट यादवले पठाएको लागूऔषध र पेस्तोल लिन ललितपुरबाट आएका राई विराटनगर बसपार्कमा कुरेर बसेका थिए। त्यसै दिन राईलाई पनि प्रहरीले पक्राउ गरेको थियो।
“लागूऔषध र हतियार बोक्ने भरिया मात्रै पक्राउ परिरहेका थिए” एसपी खड्काले भने– “थोक ब्यापारी नै पक्राउ गर्न लामो समय कुर्नु पर्यो।” भारतबाट नेपाल लागूऔषध र हतियार पठाउनेमध्ये एकजनालाई पक्राउ गरिए पनि अर्का ब्यक्ति भारतमा नै रहेको प्रहरीले जनाएको छ। अर्कालाई पनि योजना बनाएर पक्राउ गर्ने प्रहरीले तयारी गरेको छ।