वागमती नदीमा डुबेर तीन बालिका बेपत्ता
रौतहटको वागमती नदीमा तीन बालिका डुबेर बेपत्ता भएका छन्। वागमती नदीमा नुहाउने क्रममा भेलमा परेपछि डुबेर धर्मपुर गाउँका तीन बालिका बेपत्ता भएको स्थानीयले जानकारी गराएका छन्।
रौतहटको गढीमाई नगरपालिका ७ धर्मपुर गाउँका लछुमन दासकी १२ वर्षाीया छोरी सुसीताकुमारी दास, भदई मुखियाकी १० वर्षीया छोरी पिंकुकुमारी मुखिया र छठु मुखियाकी १० वर्षीया छोरी चञ्चलकुमारी मुखिया नुहाउने क्रममा वागमती नदीको पानीमा डुबेर बेपत्ता भएको स्थानीय दिनेश संगमले जानकारी गराए।
धर्मपुरस्थित वागमती नदीमा तीन बालिका नुहाउने क्रममा डुबेर बेपत्ता भएको खबर प्राप्त भएको र घटनास्थलमा खोज तथा उद्धारका लागि प्रहरी चौकी धर्मपुर र इलाका प्रहरी कार्यालय समनपुरबाट प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज खड्काले जानकारी दिएका छन्।
प्रहरीका साथै स्थानीयवासीले पनि वागमती नदीको पानीमा बेपत्ता बालिकाको खोजी गरिरहेका छन्। डुबेर बेपत्ता भएको स्थानभन्दा निकै टाढासम्म बेपत्ता बालिकाको खोजी भइरहेको छ। वागमती नदीमा पानीको बहाव भएकोले बालिकाहरु तलतिर बगेको हुनसक्ने अनुमान गरिएको छ।