महानायक विवादबारे दीपाश्रीले माफी माग्दै भनिन्- 'अबदेखि यस्तो गल्ती दोहोर्याउँदिनँ'
अभिनेत्री एवम् निर्देशक दीपाश्री निरौलाले आफ्नो जन्मदिनको अवसरमा दर्शकसँग माफी मागेकी छिन्। ‘महानायक’ विवादपछि सामाजिक सञ्जालबाट टाढा रहेकी उनले फेसबूकमा भिडिओ राख्दै राजेश हमालबारे आफ्ना टिप्पणीको लागि माफी मागेकी हुन्।
एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता हमालको महानायक उपाधिबारे प्रश्न गरेपछि चौतर्फी आलोचनामा परेकी दीपाश्रीले भिडिओमा हात जोड्दै भनेकी छिन्, ‘मेरो अभिव्यक्तिले तपाईंहरु सबैको मन दुखेको छ। कृपया, आफ्नै दिदीबहिनी सम्झिएर माफी दिनुहोला।’
दीपाले केही पुराना र केही नयाँ कुरा लिएर आएको भन्दै भिडिओमा आफू आलोचित बनेको घटनाबारे बढी समय खर्चेकी छिन्। उनले आफ्नो ३० वर्ष लामो कलाकारिता यात्राको आधा समय पीडादायी भएको बताएकी छिन्। २०६० सालमा हास्य टेलिशृंखला ‘तीतो सत्य’ आएपछि मात्र आफूले पछाडि फर्किएर हेर्नु नपरेको उनको भनाइ छ।
उनले सिरियल र चलचित्र मार्फत दर्शकको धेरै माया पाए पनि व्यक्तित्व विकासमा भने आफ्नो धेरै कमजोरी रहेको महसुस गरेकी उनले स्विकारेकी छिन्। उनले भनेकी छिन् ‘मिडियामा कसरी बोल्ने, शिष्ट, सरल कसरी हुने, चलाखीपूर्ण रुपमा कसरी उत्तर दिने भन्ने विषयमा मेरो कमजोरी रहेछ। यो कुराले मलाई पनि शिक्षा दिएको छ।’
अन्तर्वार्ता दिनुअघि गर्नुपर्ने तयारी नपुग्दा गल्ती हुन गएको र अन्तर्वार्ता दिने क्रममा आफूले ३ गल्ती गरेको बताएकी छिन्। ‘पहिलो गल्ती त म अन्तर्वार्तामा जानु नै थियो। दोस्रो गल्ती मलाई यस्ता-यस्ता प्रश्नहरु सोधिए कि, मैले आफ्नो आवेगलाई रोक्न सकिनँ। र तेस्रो गल्ती, म एक कलाकार भएर अर्को सिनियर कलाकारको बारेमा टिप्पणी गर्न पुगेँ’, उनले भनेकी छिन्।
भिडिओमा दीपाले महानायक विवाद अगाडि पनि आफूलाई गाली आइरहेकोले सफलतासँगै गाली पनि भाग्यमा जोडिएर आएको बताएकी छिन्। उनले चलचित्रको ट्रेलर, गीत रिलिज हुँदा गाली आउने गरेको र धेरै कुरा सहेर अगाडि बढेको भनेकी छिन्।
महानायक विवादमा भने साथी दीपकराज गिरीलाई र टिमलाई नै अनावश्यक तानिएको उनले बताइन्। उनले भनिन्, ‘मेरो साथी दीपकराज गिरीलाई पनि महानायक भनेर ट्रोल बनाइयो। जबकि, उनले मलाई तिमीले राजेश हमालको बारेमा गलत बोल्यौ भनेका थिए।’
दीपाले सबैको मायाले आफू फेरि उठ्न सकेको पनि बताएकी छिन्। उनले जन्मदिनको अवसरमा प्रण गर्दै भनेकी छिन्, ‘अबदेखि यस्तो गल्ती दोहोर्याउने छैन। आफ्नो व्यक्तित्व विकासमा पनि समय खर्चिनेछु। राम्रो चलचित्र बनाएर दर्शकमाझ पस्कनेछु।’