माछा मार्न गएका युवकको सेनाको यातनाबाट मृत्यु भएको मानवअधिकार तथा शान्ति समाजको निष्कर्ष
मानवअधिकार तथा शान्ति समाजले चितवनको राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकले यातना दिएपछि राप्ती नदीमा माछा मार्न गएका युवकको मृत्यु भएको निष्कर्ष निकालेको छ।
समाजले गत १ साउनमा राप्ती नदीमा माछा मार्न गएका २४ वर्षीय राजकुमार चेपाङ्गलाई सेनाले चरम यातना दिएपछि मृत्यु भएको प्रकरणको स्थलगत अध्ययनपछि प्रतिवेदन सार्वजनिक गरेको हो।
घटना राष्ट्रिय, अन्तर्राष्ट्रिय कानूनको उल्लंघन र मानव गरिमा विरुद्ध भएको ठहर समाजले गरेको छ।
उक्त यातनाको घटनामा सम्लग्न सैनिकलाई कानूनसम्मत कारबाही गर्दे सार्वजनिक गरी नेपाली सेना यातना विरुद्धको अन्तर्राष्ट्रिय महासन्धिको कार्यान्वयन गर्न र मानवअधिकारको उच्च सम्मान र संरक्षण गर्न प्रतिवद्ध रहेको सबै सामु विश्वस्त पार्नुपर्ने समाजको भनाइ छ।
साथै राज्यले मृतक परिवारलाई यथेष्ट क्षतिपूर्ति र यातना पीडितहरूको स्वास्थ्य उपचारको सम्पूर्ण प्रबन्ध मिलाउनुपर्ने माग पनि समाजले गरेको छ।
"अति सीमान्तकृत चेपाङ्गहरूमाथि भएको अत्याचारको सिलसिला तत्काल बन्द गर्नुपर्ने र विपन्न चेपाङ्ग जातिको उत्थानको लागि राज्यले ठोस रुपमा योजना लागू गर्नपर्ने भन्दै चितवनको माडी नगरपालिका कुसुमखोलामा रहेका सकुम्वासीहरूको घर आगजनी गरी बिचल्लीमा पारेको क्रुर घटनाप्रति मानवअधिकार तथा शान्ति समाजले घोर निन्दा र भत्र्सना गर्दै उनीहरूको बसोबासको उचित प्रबन्ध मिलाउन जोडदार माग गर्दछ," समाजले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
अनुगमन टोलीले मृतकका परिवार, यातना पीडितहरू, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा नागरिक समाजका ब्यक्तिहरूसँग छलफल गरेको थियो।
मानवअधिकार तथा शान्ति सामाजका वरिष्ठ केन्द्रीय उपाध्यक्ष गोविन्द खनालको नेतृत्वमा गएको टोलीमा अधिकारकर्मीहरू केन्द्रीय सचिवद्धय श्यामसुन्दर पराजुली, बाबुहरि अचार्य, विभागीय संयोजक राजेन्द्र पौड्याल, सदस्य तोयनाथ ढुंगानाको सहभागिता रहेको समाजले जनाएको छ।