शौचालय अभियान चलाउँदाका ती हैरानी
म केटाकेटी छँदा लुतो, खटिरा, बर्खामा खुट्टाका औंलाका काप पाक्ने जस्ता अनेकौं स्वास्थ्य समस्याले सताउँथ्यो। हाम्रा छोराछोरीलाई भने जुका पर्ने बाहेक त्यस्तो समस्या भएन। खटिरा, औंलाका काप पाक्ने समस्या फोहोरका कारण हुने रै’छ।
पहिले गाउँमा घरघरमा खाल्डे चर्पी बनाएर काम चलाउने गरिन्थ्यो। त्यस्तो चर्पी भरिनासाथ झिंगा लाग्ने, दुर्गन्ध आउने, बर्खामा खाल्डो भरिएर चौपट हुन्थ्यो।
राष्ट्रिय समाचार समिति (रासस) मा काम गर्दा समाचार संकलनका लागि म विभिन्न ठाउँ पुगिरहन्थें। त्यस क्रममा विभिन्न क्षेत्रका विशेषज्ञ र सरोकारवालाहरूसँग भेटघाट र सम्पर्क भइरहन्थ्यो। यसै प्रसङ्गमा इष्ट कन्सल्ट भन्ने संस्थाका प्रतिनिधिहरूसँग भेट भयो। त्यो संस्थाका पीसी जोशीले गैरनाफामूलक रूपमा स्वास्थ्य र सरसफाइसँग सम्बन्धित समाज सुधारको काम पनि थालेछन्। सस्तोमा बन्ने र थोरै पानीले फ्लस हुने ‘सुलभ शौचालय’ निर्माणको कार्यक्रम रै’छ त्यो।
दुर्गन्धरहित शौचालयबाट प्रभावित भएँ। सुलभ शौचालय निर्माण अभियान शुरु भएको अर्को वर्ष नै २०३६ सालदेखि म पनि यो अभियानमा जोडिएँ। करीब १५ सय इँटा, नौ बोरा बालुवा, तीन बोरा सिमेन्ट, एउटा प्यान, दुई वटा पाउदान र साइफन (पानी अडेर बस्ने घुमाउरो पाइप) भयो भने शौचालय तयार हुँदो रै’छ। सुलभ शौचालयको विशेषता आधा लिटर पानीले पनि फ्लस हुने र ‘वाटर सिल’ अर्थात् पानी ताल्चा पनि हुने, जसका कारण दुर्गन्ध पानी नाघेर बाहिर आउन सक्दैन।
यी विशेषताले गाउँघरमा सुलभ शौचालय औधी लोकप्रिय भयो। मेरो बसोबास क्षेत्र भक्तपुरको दधिकोटमा पहिलो चरणमा ५० वटा शौचालय बनायौं।
तर, शौचालय निर्माण अभियानले प्रशंसा र सकारात्मक प्रतिक्रिया मात्र पाएन, विरोधमा पनि उत्तिकै निस्किए।
युवाहरू नै विपक्षमा
सुलभ शौचालय निर्माणको अभियानमा काठमाडौं उपत्यकाका तीन जिल्ला र उपत्यका बाहिरका विभिन्न ठाउँमा पुगें। कीर्तिपुरको डाँडा–डाँडामा घर उभिएका थिए। जमीन सारै कम भएकाले स्थानीयले सुलभ शौचालय भान्छानिर पनि बनाए। अब लुतो, घाउ–खटिरा नगन्य भए।
अभियानको सफलता देखेर पीसी जोशी दंग हुनुभयो। अभियानमा जोडिन पाउँदा हामी फुरुंग भयौं।
यो योजना लिएर हामी ललितपुरको लुभू, भक्तपुरको थिमी गयौं। ५७÷५८ वटा शौचालय बनायौँ। घरभित्रै शौचालय बनाएकोमा गाउँ–समाजमा चर्को टिप्पणी गरिए। कति ठाउँमा शौचालय बनिसकेर पनि धेरै महीनासम्म प्रयोग गरिएन।
यस्ता शौचालयमा दिसा–पिसाब गर्न असहज भयो भन्ने गुनासो पनि गरियो। कतिले त खुला हावामा दिसा गर्दै आएको अधिकार कुण्ठित भएको गुनासो पनि गरे! घरका कति जनाले सासू–ससुरा र बुहारीहरूको एउटै शौचालय भएकोमा आपत्ति जनाए। तर, समय क्रममा बुहारीसहित घरका सबै परिवारले शौचालय प्रयोग गर्न लागे।
मध्यपुर थिमीका युवाहरूले सुलभ शौचालय प्रयोग गर्न असहज माने। उनीहरू ‘यो शौचालयले बा–आमा, बाजे–बज्यैलाई सजिलो हुने भए पनि हामीलाई त बिहानको ताजा हावा खाँदै खोलाको डिलमा बसेर दिसा गर्दा जस्तो मज्जा घरभित्रको साँगुरो चर्पीमा कहाँ हुनु र’ पो भन्छन्। त्यस्तो टिप्पणी सुनेर म त छक्क परें।
सुलभ शौचालय प्रयोगको पक्षमा छलफल गर्ने प्रयास गरें। तर, युवाहरू त एक–एक गरी तर्किन पो लागे।
शौचालय नभएको घरमा चिया नखाने
सुलभ शौचालयको विधि मैले २०४२/४३ सालतिर उत्तरी इलामको जस्वीरे पुर्याएँ। त्यहाँबाट दुई जनालाई काठमाडौं ल्याई शौचालय बनाउने तालिममा पठाइयो। त्यसरी तालिम लिन आउनेमा मानबहादुर मुखिया र नीरबहादुर ढुङ्गाना थिए।
शौचालय निर्माण अभियानलाई बढी व्यापक बनाउन मैले एउटा उपाय सोचें, जुन घरमा शौचालय छैन, त्यहाँ चिया नखाने। मेरो यो उपायले इलाम जस्वीरेमा सबैको घरमा शौचालय बने। पाल्पा, दैलेखका धेरै गाउँमा शौचालय बने, प्रयोग भए।
४४० कोठे सिंहदरबारमा शौचालय शून्य !
शैचालयको अट्याच बाथरुमको अवधारणा मैले बुझेको थिइनँ। म ‘हालखबर’ दैनिकमा काम गर्दाको कुरा हो, अखबारको कार्यालय र प्रेस समेत भएको घरमा प्रोपाइटर रङ्गनाथ शर्मा पनि बस्न थाले।
शर्मालाई छिटोछिटो शौच लाग्दो रहेछ। कार्यालयमा छलफल भइरहेको वेला उनी वेला वेला सँगै गाँसिएको सानो कोठामा पस्थे। म त्यसको कारण बुझ्दिनथें। धेरै पछि मात्र थाहा भयो, त्यस्तोलाई अट्याच बाथरुम भनिंदो रै’छ।
पश्चिमा संसारमा बाथरुम वा रेष्टरुम वा ट्वाइलेट तीन श्रेणीका हुँदा रहेछन्– फूल, हाफ र क्वाटर। दिसा–पिसाब गर्ने र नुहाउने टब (बाथ टब) समेत भएकोलाई फूल रेष्टरुम, दिसा–पिसाब मात्र गर्न सकिनेलाई हाफ रेष्टरुम र पिसाब मात्र गर्न मिल्ने रेष्टरुमलाई क्वाटर रेष्टरुम भनिने रै’छ।
राणा प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं. १९६० मा सिंहदरबार निर्माण गर्न लगाए। तर ४४० वटा कोठा भएको त्यत्रो विशाल दरबारमा एउटा पनि शौचालय थिएन। राणाहरू चाँदीको कोपरा प्रयोग गर्थे।
अहिलेको ‘खुला दिसामुक्त’ को युग आएपछि पनि सबैका घरमा शौचालय छैन। बनेका कतिपय ठाउँमा प्रयोग गरिंदैन।