कोरोना अपडेटः सार्क राष्ट्रमा सबैभन्दा बढी सक्रिय संक्रमितको दर नेपालमा
कोरोनाका सक्रिय संक्रमितको दर सार्क राष्ट्रका मुलुकमध्ये नेपालमा सबैभन्दा धेरै रहेको देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको दर ४०.६ प्रतिशत छ।
यो संख्या अन्य सात वटा सार्क सदस्य राष्ट्रमध्ये सबैभन्दा धेरै हो। ६ भदौसम्म नेपालमा कोरोनाबाट ३१११७ जना संक्रमित भएका छन्। यीमध्ये ४०.६ प्रतिशत अर्थात १२६२१ सक्रिय संक्रमित छन् भने ५८.९ प्रतिशत अर्थात १८३५० निको भइसकेका छन्।
यसबाहेक कुल संक्रमितमध्ये ०.५ प्रतिशत अर्थात १४६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यस्तै ११६५८ जना व्यक्ति अझैं पनि क्वारेन्टिनमा छन्।
नेपालमा ५ भदौसम्म पाँच लाख ९२ हजार ४१८ जना व्यक्तिको रियल टाइम पीसीआरबाट कोरोना परीक्षण भएको छ।
सार्क राष्ट्रमा नेपालपछि धेरै कोरोनाका कुल संक्रमितमध्ये सक्रिय संक्रमित दर बांग्लादेशमा ३९.६ र निको भएका व्यक्तिको संख्या ५९ प्रतिशत छ। यसपछि यो दर माल्दिभ्समा ३८.२, भुटानमा २९.४, भारतमा २३.८, अफगानिस्थानमा २३.२, श्रीलंकामा ४.९ र पाकिस्तानमा ४ प्रतिशत छ।
करिब १० दिनअघि अर्थात २८ साउन सम्मको तथ्यांक अनुसार ८ सार्क राष्ट्रमध्ये नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या २८.३ प्रतिशत र निको भएका व्यक्तिको संख्या ७१.४ प्रतिशत थियो। २८ साउनसम्ममा सार्क राष्ट्रमा सबैभन्दा धेरै कोरोनाका सक्रिय संक्रमितको संख्या माल्दिभ्समा ४४.७ र निको हुनेको संख्या ५४.९ प्रतिशत थियो।
त्यतिबेलासम्म कोरोना सक्रिय संक्रमितको संख्या अफगानिस्तानमा २६.४, बाङ्लादेशमा ४०.९, भुटानमा १४.२, भारतमा २८.२, पाकिस्तानमा ६.३ र श्रीलंकामा ९.३ प्रतिशत थियो।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार १८ साउनसम्ममा सार्क राष्ट्रमा कोरोनाका सक्रिय संक्रमितको संख्या नेपालमा २६.८ प्रतिशत र निको हुने व्यक्तिको संख्या ७२.९ प्रतिशत थियो। त्यति बेलासम्म बाङ्लादेशमा सक्रिय संक्रमितको संख्या सबैभन्दा धेरै अर्थात ४२.१ र निको हुने व्यक्तिको संख्या ५६.६ प्रतिशत थियो।
१८ साउनमा कोरोना संक्रिय संक्रमितको संख्या अफगानिस्तानमा २६.८, भुटानमा १२.९, भारतमा ३३.३, माल्दिभ्समा ३०.५, पाकिस्तानमा ९ र श्रीलंकामा १६.७ प्रतिशत थियो।
यसरी झण्डै २० दिनको अन्तरमा नेपाल सार्क राष्ट्रमा सबैभन्दा धेरै सक्रिय संक्रमित हुने मुलुकमा परेको छ। पछिल्लो २० दिनको अन्तरमा नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या १४ प्रतिशतले बढेको देखिन्छ।
टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोला भारतसँगको खुला सीमानाकामा कडाई नहुँदा र तराईका जिल्लाबाट परीक्षण विना उपत्यका प्रवेश गर्न दिएका कारण नेपालमा संक्रमित व्यक्तिको संख्या बढेको बताउँछन्।
डा. बास्तोला परीक्षणको दायरा पहिलेको भन्दा बढेका कारण पनि सक्रिय संक्रमितहरू धेरै देखिएको हुनसक्ने बताउँछन्। मुलुकमा बन्दाबन्दी खुलेलगत्तै सरकारी र नागरिक स्तरबाट भएको जनस्वास्थ्यका मापदण्ड पालना गर्न र गराउन भएको लापरवाही नै संक्रमण बढ्नुको मुल कारण भएको उनको बुझाइ छ।
उनी मुलुकमा कोरोना सक्रिय संक्रमितको संख्या बढीसकेकाले अब यही दरमा बढ्न नदिन सरकारले निषेधाज्ञालाई व्यवस्थित गर्दै भिडभाडलाई नियन्त्रण गर्नुपर्ने र परीक्षणको दायरा अझैं बढाउनुपर्ने बताउँछन्। “तीज मनाउन विभिन्न स्थानमा गएका महिलाहरूमा कोरोना संक्रमण भेटिएको छ,” उनी भन्छन्, “त्यसैले जनस्वास्थ्यको मापदण्ड पालना गर्ने कुरामा परिवार र समुदायस्तरबाटै पहल हुनु आवश्यक देखिएको छ।”
लक्षण देखिएका कोरोना संक्रमितको उपचारका लागि सरकारले व्यवस्थित आइसोलेसन सेन्टर बढाउनुपर्ने, अस्पतालमा अनावश्यक भिडभाड हुन नदिन टेलिमेडिसिन सेवा शुरु गर्नुपर्ने, अस्पतालमा संक्रमण नियन्त्रण र स्वास्थ्यकर्मीको सुरक्षा गर्न आवश्यक नीति रणनीति बनाउन आवश्यक भएको डा. बास्तोला बताउँछन्।