कोरोना संक्रमित बढ्ने क्रम नरोकिएपछि रौतहटमा एक हप्ता थपियो निषेधाज्ञा
केही खुकुलो बनाउँदै रौतहटमा निषेधाज्ञाको अवधि एक हप्ताको लागि थप गरिएको छ। अत्यावश्यक उपभोग्य खाद्यान्न पसल, निर्माण सामग्रीका पसल तथा बैंकहरूलाई विभिन्न शर्तको अधिनमा रही बिहान ७ बजेदेखि ११ बजेसम्म खोल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
२४ साउनदेखि जारी निषेधाज्ञा १ भदौदेखि ७ भदौसम्मको लागि दोस्रोपटक थप गरिएकोमा थप केही खुकुलो बनाउँदै ८ भदौदेखि १४ भदौसम्म दोस्रोपटक निषेधाज्ञा थपिएको हो।
जिल्लामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको र संक्रमणको जोखिमको सम्भावनासमेत उच्च रहेकोले जिल्लास्तरीय कोभिड – १९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार १४ भदौसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन्।
नेपाल सरकारद्वारा जारी सबै स्वास्थ्य सुरक्षासम्बन्धी मापदन्डको पूर्ण पालना गरी गराई बैंक तथा बित्तीय संस्था तथा निर्माण सामग्री ढुवानी तथा खाद्यान्न सामग्री ढुवानीका सबारी साधनलाई पनि संचालन गर्न दिने निर्णय भएको प्रजिअ यादवले बताएका छनु। तर बैंक तथा वित्तीय संस्थाहरुको सेवा लिन तथा खाद्यान्न सामग्रीहरु खरिद गर्न जाँदा आउँदा उपभोक्ताले सबारी साधनको प्रयोग गर्न नपाइने निर्णय भएको प्रजिअ यादवले बताए।
निषेधाज्ञाको अवधिमा खाद्यान्न तथा तरकारी खरिद गर्न जाने भनी अत्यधिक मात्रामा मोटरसाइकलको प्रयोग हुन थालेपछि उपभोक्ताको लागि सबारी साधनको प्रयोगमा रोक लगाइएको हो।
बिक्रेता तथा उपभोक्ताहरुले स्यानिटाइजर, मास्क तथा पन्जाको अनिवार्य प्रयोग गर्नुपर्ने, मास्क नलगाई आउने उपभोक्ताहरुलाई मालसामान बिक्री वितरण नगर्ने तथा अनिवार्य रुपमा भौतिक दुरी कायम गरी मात्र बिक्री वितरण गर्नुपर्ने शर्त पनि राखिएको र स्वास्थ्य सुरक्षासम्बन्धी मापदन्डको उल्लंघन गर्ने–गराउने, कार्यान्वयवनमा अवरोध गर्ने गराउने, शर्तहरुको पालना नगर्नेउपर संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कडा कारबाही गरिने प्रजिअ यादवले बताएका छन्।
जिल्लाको विभिन्न ठाउँमा सानातिना हाटबजार तथा मुख्य गरी तरकारी बजारमा भीडभाड बढ्न थालेको गुनासो बढेपछि प्रजिअ यादवले भीडभाड नगर्न आग्रह गर्दै महामारीबाट जोगिन र जोगाउन सबै पक्षलाई गम्भीर हुन पनि आग्रह गरेका छन्।