खल्लो भयो तीज
भोलि (७ भदाै) पञ्चमी। तीजभन्दा पनि पञ्चमीमा हाम्रो घरमा विशेष तयारी हुन्थ्यो। पूजा त हुँदैनथ्यो, तर ‘कर्कलो भात खाने’ उत्सवका लागि हामी तम्सिन्थ्यौँ! यो चाहिं मेरो बूढीसासू (चन्द्रकुमारी जाेशी, अहिले १०५ वर्ष) को रहर।
बन्दाबन्दीका कारण हिजो (५ भदौ) को तीजमा चेलीबेटी माइत जान नपाएरै होलान्, फेसबुक राताम्य बने । कसैले आफैं, वा दिदीबैनीहरूसित नाचेको भिडियो राखे, कसैले नाचेको, गाएको टिकटक पस्किए । त्यसो पनि गर्न नपाएकाहरुले पोहोरको तीजको तस्वीर हालेरै भए पनि चित्त बुझाए ।
यसपालिको तीज अरूका तस्वीरहरु हेरेरै बित्यो । ‘लाइक’ गर्न पनि मन लागेन । मन खल्लो भयो । शोकको वर्ष भएकाले पनि होला, एक किसिमको अमिलो हुने । सकेसम्म यताउति काम गरेर मन भुलाउन खोजें ।
सासू (अङ्गुरबाबा जोशी) नबित्दाको तीजको याद आयो । यतिबेला नैवेद्यका लागि सेल पकाउँदै हुन्थे हुँला... ऐपन हालेर पूजासामान मिलाउँदै हुन्थेँ होला... रातो सारी, रातो चुरा, तिलहरी नत्थ लगाएर बेलुका नन्दहरू सहित वरिपरि बसेर भगवान शिवको आराधना गर्दै हुन्थ्यौँ होला !
मामी (सासू) स्वयंकै कारण हाम्रो घरमा रातो रङ्ग नै हावी हुन्थ्यो । आफू विधवा नहुँदा, मामी पनि रातो पहिरन नै मन पराउने । निधारमा जहिल्यै ठूलो रातो टीका । कति त पत्र–पत्र टाँसेर आफैं बनाइसिन्थ्यो, थरीथरीका ठूल्ठूला टीका ।
ससुरा बितेपछि सासूले एक वर्षसम्म चहकिलो रङ्गका लुगा नलगाउने हुनाले अब लगाउने के होला त भनी हामीले मामीको दराज खोल्दा त जम्मै साडी रातो, सुन्तला रङ्गका । अनि मैले आफ्ना साडीहरुमध्ये चलन नगरेका, वा एकादुईपटक मात्र लगाएका र उहाँलाई लगाउन मिल्ने रातोसातो नभएका साडीहरूको चाङ्ग लगेर टक्राएँ ।
साडीका चाङ देखेर मामी साह्रै भावुक होइस्यो । “बुहारी, मलाई कसैले यस्तरी, यति धेरै लूगा ‘ल छान’ भनेर दिएकै थिएनन्” यसो भन्दै उहाँले मलाई अँगालो हालिस्यो ।
ससुराको एक वर्षको काजकिरिया सकिएपछि, मामीले रातै नलगाए पनि, सुन्तला र कलेजी रङ्गको लूगा लगाउन थालिस्यो । सुन्तला रङ्ग मामीलाई झनै मन पर्न थाल्यो । केही सुन्तला रङ देख्दा – चाहे फूल होस या लूगा, वा कुनै बस्तु, 'ऊ मामीको रङ्ग' भन्न थाल्यौँ हामी ।
बिस्तारै मामीले ठूलो कलेजी टीका पनि लगाउन थालिस्यो । ‘शास्त्रमा बिधवाले टीका लगाउन हुन्न भनेर लेखेकै छैन’ भनिसिन्थ्यो । तीजको दरमा म मामीलाई गाउन बनाउने कपडा र ठूलाठूला कलेजी टीकाको पत्ताहरु टक्राउँथेँ ।
आफूले लगाउन नमिलेपछि मामीको रातो मोह फुलहरूमा सर्यो । आफ्नो सानो बार्दलीमा ठूलो गमला माथि स–साना गमला खप्ट्याएर लटरम्म फूल फुलाइसिन्थ्यो । ती फूलहरुमा पनि अक्सर रातो र सुन्तला रङका फूलहरु नै बढी मन पराइसिन्थ्यो ।
त्यही फूलहरु माझ झुलनामा बसेर लेखपढ गर्न मन पराइसिन्थ्यो । मामीका लागि सानो स्वर्ग सरी थियो त्यो कौसी बगैँचा । उहाँले आफ्नो क्यामेराबाट कैयौँ तस्वीर खिचिसेको थियो, आफ्ना फूल 'परी'हरूका साथमा !
मामीलाई लाग्थ्यो, आफूले लगाउन नपाए पनि रातो अरूले लगाइदियोस् । मैले रातो सारी, कुर्ता सुरुवाल लगाएको दिन, “तिमी कस्ती उज्योली देखिएकी छौ आज!' भनिसिन्थ्यो । पछिपछि अफिस जाने बेला मैले लुगाकै रङ्ग मिलाएर टीका पनि लगाउन थालेँ । जुन दिन निधारमा रातो टीका हुन्थ्यो, अनि नबिराई भनिसिन्थ्यो, “कस्तो सुहाएको तिमीलाई रातो टीका!”
तीजको दर खाने बेला, माइत गएर पोहोरसम्म पनि कम्मर भाँचुला झैं गरी नाचिसिन्थ्यो। आफ्नो लागि भन्दा पनि आफू फनफनी घुमेपछि सबै दंग पर्छन् भनेर पनि हो।
भोलि पञ्चमी । तीजभन्दा पनि पञ्चमीमा हाम्रो घरमा विशेष तयारी हुन्थ्यो । पूजा त हुँदैनथ्यो, तर 'कर्कलो भात खाने' उत्सवका लागि हामी तम्सिन्थ्यौँ! यो चाहिं मेरो बुढीसासू (मुवा, अहिले १०५ वर्ष) को रहर ।
पहिले पहिले एक, दुई साताअघि बाटै मुवाको बहिनीकी छोरी सोफी फुपू (स्वर्गीय सोफिया शर्मा)ले आफ्नो घरमा फलेको काँचो केराको घारी नै पठाइसिन्थ्यो । अनि बजारमा नेपाली रामतोरियाँ खोजी खोजी बटुल्न थालिन्थ्यो । ती दुबैलाई मसिनो गरि चाना पारेर सुकाइन्थ्यो, अनि घ्यूमा झुरुमझुम हुने गरि तारे पछि मुवाले टम्म पारेर सिसीमा राखिसिन्थ्यो– आफ्नै कोठामा।
अनि, आफ्ना बहिनीहरू, बहिनीका छोरी, भाइ बुहारीहरू, भदै, संधिनी (मेरी आमा) लाई मुवा आफैले फोन गरेर डाकिसिन्थ्यो । मामीले पनि छोरीहरू, भदैहरू, आफ्ना नानीहरू – निर्मला पोखरेल र कमला सुबेदीलाई पनि बोलाइसिन्थ्यो ।
पञ्चमीको दिन थाललाई सफा केराको पातले ढाकिन्थ्यो । मुवा कर्कलो पकाउन आफैं तम्सिसिन्थ्यो कि अरुलाई अह्राएर तयार पार्न लगाइसिन्थ्यो ।
याे पनि पढ्नुहाेस्– बुहारीको सम्झनामा अंगुरबाबा जोशीः सासू हैन गुरु
अनि दिउँसो १ बजे तिर सबैजना आएपछि वरिपरी बसेर खाना खाइन्थ्यो । केराको पातमाथि तात्तातो मज्जाले घ्यू हालेको भात, केराउ मिसाएर फत्तक्क गलेको कर्कलोको लेदो, केराउको दाल, थप घ्यू र कागती निचोरेर सपासप, हात चाटीचाटी खाइन्थ्यो । यसवाहेक केरा र रामतोरियाँको चिप्स, रातो हुनेगरी तारेको आलु, दही र काँक्रोको अचार, हरियो खुर्सानी र केही गुलियो परिकार पनि । तीजको भोलीपल्ट पञ्चमी परेका बेला, यति खाए पछि ‘डेग’ नचल्ने अवस्थामा पुग्थ्यौँ हामी ! नून खाएको कुखुरा जस्तै । गफ पनि सुस्ताएर जान्थ्यो !
यसपाली पञ्चमी पनि मनाइन्न ।
तर मामी स्वर्गीय नभएको भए पनि, कोभिड–१९ को बन्दाबन्दी नभएको भए पनि, न मुवाले सबैलाई फोन गरेर बोलाउने अवस्था हुन्थ्यो, न पहिले जस्तै डाक्दा कोठै ढाकिने पाहुना नै हुन्थे । मुवाले डाक्ने गरेका, उमेर पुगेका धेरै निम्तालुहरू अब यो संसारमै छैनन् ।
चाडबाड मनाउने, रम्ने दिन परिवारजनको कमी र बन्दाबन्दीले खल्लो बनाइदियो ।
यसपाली यस्तै भयो !
याे पनि पढ्नुहाेस्– धुमधाम नाम कमाएर गइन् सानीमैया