बारको मानवअधिकार समितिले भन्यो- 'सर्वसाधारणलाई सडकमा घण्टौं उभ्याउने र उठबस गराउने काम बन्द गर'
नेपाल बार एसोसिएसनको मानव अधिकार तथा जनसरोकार समितिले निषेधाज्ञाको उल्लंघन गरेको आरोपमा सर्वसाधारणलाई सडकमा घण्टौं उभ्याउने तथा उठबस गराउने काम तत्काल बन्द गर्न माग गरेको छ।
समिति संयोजक सुनिलकुमार पोखरेल र सदस्य सचिव भुवनप्रसाद निरौलाले आज एक विज्ञप्ति प्रकाशित गरी सार्वजनिक सडकमा खटिएका सुरक्षाकर्मिहरुले आम नागरिकहरुलाई पक्राउ गरी घण्टौंसम्म बाटोमा उभ्याउने, कान समाती उठबस गर्न लगाउने, विभिन्न आसनमा हिँडाउने जस्ता गैरकानुनी र अमानविय कार्य गरेको भन्दै त्यसप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।
'सुरक्षाकर्मीहरुबाट भइरहेका उल्लेखित कार्यहरू नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हक विपरित चरम अमानवीय रहेको' विज्ञप्तिमा उल्लेख छ।
कोभिड-१९ को संक्रमण दिनदिनै फैंलिँदै गएको अवस्थामा स्वास्थ्य सम्बन्धी नियमहरूको पालना गरी संक्रमण थप फैलिन नदिन सबै नागरिकको कर्तव्य भएको पनि समितिले उल्लेख गरेको छ। तर, संक्रमण फैलिन नदिन भन्दै जारी गरेको निषेधाज्ञा उल्लंघन गरेको भन्ने आरोपमा संविधानले सुनिश्चति गरेको सम्मानपूर्वक बाँच्न पाउने हक हनन् नगर्न पनि समितिले सुरक्षाकर्मीलाई आग्रह गरेको छ।
'संविधान बमोजिम प्रत्याभूत भएका विभिन्न हकहरूमध्ये सम्मानपूर्वक बाँच्न पाउने नागरिकको हक सर्वोपरि हक हो, जुन हक निषेधाज्ञाको अवस्थामा त के संकटकालमा समेत हरण गर्न नपाइने भनि नेपालको संविधानले नै सुनिश्चित गरेको छ,' विज्ञप्तिमा भनिएको छ, ' निषेधाज्ञा उलंघन गरेको आरोपमा सुरक्षाकर्मीहरुले गरिरहेका उल्लेखित व्यवहार कानुन, संवैधानिक व्यवस्था एवं मानव अधिकारको अन्तर्राष्ट्रिय मूल्यमान्यता समेतको बर्खिलाप छ। त्यस्ता कार्य तत्काल बन्द गरी कानूनसम्मत अन्य उपाय अवलम्बन गरि मानव अधिकारको सम्मान गर्न तीनै तहका सरकार, सुरक्षाकर्मी लगायत सबैमा अनुरोध गर्दछौं।'