नेपाली कांग्रेसले भन्यो: विदेशबाट आउने नेपालीबाट खर्च उठाउनु सर्वोच्चको आदेशको उल्लंघन
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विदेशबाट आउने नेपालीले सबै खर्च आफै बेहोर्नुपर्ने भन्ने सरकारको निर्णय सर्वोच्च अदालतको आदेश विपरित भएको जनाएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले १६ भदौदेखि लागू हुनेगरी विदेशबाट नियमित र चार्टर्ड उडानमार्फत नेपालीलाई उद्धार गर्ने तर त्यसको खर्च हवाई टिकटसँगै वायुसेवा कम्पनीले लिन पाउने निर्णय गरेपछि त्यसलाई कांग्रेसले १ असारको सर्वोच्चको आदेशको उल्लंघन भएको जनाएको हो।
"खाडीका श्रमिक ‘वर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ? सर्वोच्चको आदेश उल्लंघन गर्दै महंगो टिकटसंगै सबै खर्च बोकाउनु मानवियता कि ‘सर्वहारा माथि अधिनायकवाद’ ?," कांग्रेसले प्रश्न गरेको छ।
गएको १ असारमा सर्वोच्च अदालतले ‘वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परी नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्वार गर्न’ सरकारका नाममा आदेश जारी गरेको थियो। न्यायाधीशहरू आनन्द मोहन भट्टराई र हरिप्रसाद फुंयालको इजलासले गरेको आदेश कार्यान्वयन गर्न सरकारले कुनै तदारुकता नदेखाएको कांग्रेसको आरोप छ।
आदेशको दुई महीनापछि पुनः महंगो चार्टर्ड फ्लाईटको टिकटदेखि अन्य सबै खर्च गरेर श्रमिकको पीडामाथि पीडा सरकारले थप्न लागेको समाचारले नेपाली कांग्रेसलाई गम्भीर तुल्याएको कांग्रेसले जनाएको छ।
यसबारे सर्वोच्चको आदेश पालना गर्न पनि सरकारलाई सचेत गराउंदै नेपाली कांग्रेस सरकारीले खर्चमै क्वारेन्टिन, पीसिआर परीक्षण र गाउँसम्म पुग्ने प्रबन्ध मिलाउन पनि सरकारलाई आग्रह गरेको छ। "उद्वार गरिने नागरिकको प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारको समन्वयमा फरकफरक कार्य गर्ने नेतृत्व क्षमता अपेक्षित छ," कांग्रेसले भनेको छ।