स्वाब लिएको पाँच दिनपछि आयो कोरोना रिपोर्ट, चार दिनअघि मृत्यु
मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ। चार दिनअघि ३ भदौमा मृत्यु भएका मिर्चैया नगरपालिका४ निवासी ६८ वर्षीय वृद्धमा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए।
लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित ती वृद्धको २ भदौमा गाउँमै स्वाब संकलन गरिएको थियो। स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला पठाइएको र रिपोर्ट नआउँदै उनको ३ भदौमा मृत्यु भएको थियो।
कोरोना संक्रमण पुष्टि भएकाले कन्ट्याक्ट ट्रेसिङ्गको काम शुरु गरिएको प्रमुख यादवको भनाइ छ। यो सँगै सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ।
यसअघि सिरहाको गोलबजार नगरपालिका १२ का २२ वर्षीय युवक र विष्णुपुर गाउँपालिका१ का ४० वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।