लुकाकुले आत्मघाती गोल गर्दा सेभियालाई उपाधि
यूरोपा लिगको उपाधि फेरि सेभियाले जितेको छ। पाँचौ पटकको उपाधि विजेता टीम सेभियाले इन्टर मिलानलाई फाइनलमा पराजित गर्दै छैटौं पटक उपाधि उचालेको हो।
शनिबार राति सकिएको फाइनलमा इन्टर विरुद्ध सेभियाले तीन–दुईले जित निकाल्यो। शुरुवाति अग्रता जोगाउन नसक्दा इन्टर भने उपाधिबाट चुकेको छ। खेल शुरु भएको पाँचौं मिनेटमै इन्टरले अग्रता लिएको थियो। डिबक्सभित्र सेभियाका खेलाडीले फउल गरेपछि इन्टरले पेनाल्टीको अवसर पायो।
बेल्जियम स्टार रोमेलु लुकाकुले पेनाल्टीको अवसरलाई सजिलै गोलमा परिणत गर्दै टीमलाई अग्रता दिलाएका थिए। तर, यो अग्रता धेरैबेर टिक्न सकेन। लुक डी जोङले हेडर गोलमार्फत् खेल बराबरीमा ल्याए।
केही समय खेल एक–एक गोलको बराबरीमा चल्यो। तर, ३३औं मिनेटमा फेरि जोङले हेडर गोल नै गर्दै इन्टरलाई अग्रता दिलाए। यो अग्रता दुई मिनट पनि टिक्न सकेन। उस्तै शैलीमा डिएगो गोडिनले गोल फर्काउँदै दुई–दुईको बराबरी बनाए।
दोस्रो हाफ धेरैबेरसम्म बराबरीमै चल्यो। तर, फ्रीकिकको मद्दतमा सेभियाले निर्णायक गोल गर्यो। यो निर्णायक गोलमा भने लुकाकुले आत्मघाती गोल गर्न पुगे। डियगो कार्लोसको सुन्दर ड्र्यागिङ डाउनलाई लुकाकुले छुन पुग्दा आफ्नै पोष्टमा गोल हुन पुग्यो। थप गोल इन्टरले गर्न सकेन र उपाधि सेभियाले जित्यो।