‘हटस्पट’ की प्रहरी कमाण्डर
कोरोनाभाइरस संक्रमणकाे 'हटस्पट' बनेकाे प्रदेश २ मा पर्सा जिल्ला सबैभन्दा बढी प्रभावित छ। भारतसँगको खुला सिमाना र प्रमुख व्यापारिक नाका भएकाले अनियन्त्रित आउजाउका कारण यो जिल्लामा साउन पहिलो सातापछि संक्रमण दर ह्वात्तै बढ्यो।
४ भदौसम्मको तथ्यांक अनुसार, कुल संक्रमित १ हजार ६९१ पुगिसकेको पर्सामा उपचाररत सक्रिय संक्रमितको संख्या १ हजार २०० हाराहारीमा छ। संक्रमणबाट २४ जनाको मृत्यु भइसकेको छ। संक्रमण बढेसँगै १० साउनदेखि वीरगञ्ज महानगरपालिकामा र १८ साउनदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ। ३२ साउनदेखि त निषेधाज्ञामा कडाइ गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै नेपाली सेना पनि खटाउने निर्णय भएको छ।
यी तीन सुरक्षा निकायमध्ये समुदायसँग प्रत्यक्ष जोडिने नेपाल प्रहरी हो। यसैकारण अहिले पर्सा प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तको काँधमा कोरोनाको ‘हटस्पट’ जिल्लाको जिम्मेवारी छ।
“स्थानीय सरकार, उद्योगी–व्यवसायी र सामाजिक संघसंस्थासँगको समन्वयमा गरिएको काम प्रभावकारी भयो, कतिपय दीर्घरोगीहरुले सहजै नपाउने औषधि खोजेर घरसम्मै पुर्याउने काममा पनि हामी प्रहरी खटियौं।”
जिल्लामा शान्ति सुरक्षा कायम राख्ने नियमित कामसँगै कोरोना रोकथाम र नियन्त्रणका लागि अग्र भागमा खटिने थप दायित्व प्रहरीले सम्हालिरहेको छ। जस अन्तर्गत संक्रमित पहिचानका लागि कन्ट्याक्ट ट्रेसिङ गर्न समुदायमा पुग्नेदेखि घरघर गएर कोरोना संक्रमितलाई आइसोलेसन सेन्टर वा अस्पतालमा पुर्याउने लगायत काम छन्। र, कोरोना विरुद्धका यो लडाइँमा एसपी पन्त कमाण्डर झैं खटिएकी छिन्।
पन्तले २३ माघ २०७६ देखि पर्सा प्रहरीको नेतृत्व सम्हालेकी हुन्। त्यसको केही समयपछि नै कोरोना संक्रमण महामारीले थपेको चुनौतीबीच काम गरिरहेको उनी बताउँछिन्।
सरकारले भारतसँगका सीमानाकामध्ये १० वटा खुला गर्ने निर्णय गर्दा वीरगञ्ज नाका पनि त्यसमा परेको छ। एकातिर नाका खुला रहने र अर्कातिर लामो खुला सिमानाका कारण लुकिछिपी हुने आवतजावतका कारण पर्सामा संक्रमितको संख्या बढिरहेको छ।
खुला सीमाबाट हुने अवैध आवतजावत छँदै थियो, नाकाबाट आवागमन रोक्न पनि प्रशासनलाई हम्मे पर्यो। सीमावर्ती बस्तीका बासिन्दाले दैनिक गुजारा चलाउन र औषधोपचार लगायत कामका लागि भारत जानुपर्ने भएकाले आउजाउ रोक्नै गाह्रो भएको एसपी पन्त बताउँछिन्। “कोरोनाको जोखिम कम गर्न नाकाबाट आवतजावतमा कडाइ गर्दा प्रहरी र नागरिकबीच द्वन्द्वकै अवस्था देखियो”, उनी भन्छिन्।
त्यो अवस्था आएपछि प्रहरीले नै नाकामा हेल्थ डेस्क स्थापना गर्यो। जसबाट स्वास्थ्य परीक्षण मात्र होइन, औषधि लिन भारत जान खोज्नेहरूलाई निःशुल्क औषधि दिएर घर फर्काउने गरेको उनले बताइन्।
“स्थानीय सरकार, उद्योगी–व्यवसायी र सामाजिक संघसंस्थासँगको समन्वयमा गरिएको काम प्रभावकारी भयो”, पन्त भन्छिन्, “कतिपय दीर्घरोगीहरुले सहजै नपाउने औषधि खोजेर घरसम्मै पुर्याउने काममा पनि हामी प्रहरी खटियौं।”
संकटमा सारथी
कोरोना विरुद्धको लडाइँमा अग्र भागमा खटिने सुरक्षाकर्मीसामु कस्तो चुनौती छ भने, संक्रमणबाट आफू सुरक्षित रहँदै समुदायका धेरै मानिसलाई सुरक्षित राख्नु छ। यो चुनौती पर्सामा ४० जनाभन्दा बढी प्रहरी संक्रमित भएपछि झनै थपिएको छ। पर्सामा नेपाल प्रहरीको १ हजार १७६ दरबन्दी रहेकोमा यसै पनि ९०० हाराहारी जनशक्तिले काम गरिरहेका थिए।
यस्तै, कतिपय प्रहरी शंकास्पद बिरामी र संक्रमितको नजिक पुगेका कारण होम क्वारेन्टिन र सेल्फ आइसोलेसनमा बस्नुपर्दा घट्दो जनशक्तिबाट बढ्दो कामको व्यवस्थापन गर्नुपरिरहेको एसपी पन्त बताउँछिन्। कम जनशक्तिले संकटमा काम गर्न कत्तिको अप्ठ्यारो छ त ? उनी भन्छिन्, “एउटा कमाण्डरले यो पुगेन, त्यो कम भयो भनेर गुनासो गर्ने भन्दा पनि भएकै जनशक्तिको व्यवस्थापन गरेर काम गर्न सक्नुपर्छ। जति हुन्छौं, धेरै समय ड्यूटी गरेर भए पनि संकटसँग जुधिरहेका छौं।”
कोरोना परीक्षण गराएकाहरूको पोजिटिभ रिपोर्ट आएपछि प्रहरीलाई पनि ती संक्रमितहरूको सू्ची आउँछ। उनीहरुलाई खोजेर आइसोलेसन सेन्टर वा अस्पतालमा पुर्याउनुपर्छ। पर्सामा एम्बुलेन्स प्रशस्त भए पनि संक्रमणको डरले धेरैले बिरामी बोक्न नमान्दा व्यवस्थापनको अभिभारा प्रहरीकै काँधमा पुग्छ। उनी भन्छिन्, “प्राइभेट गाडी मागेर, चालक खोजेर अस्पताल पुर्याउनुपर्ने अवस्था पनि कैयौं पटक आयो।”
कोरोना बाहेकका बिरामीलाई पनि एम्बुलेन्सले बोक्न नमान्दा प्रसूति व्यथा लागेकी गर्भवतीलाई प्रहरीको गाडीमा अस्पताल पठाएको उनले बताइन्।
कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा सहजीकरणको काम आआफ्नो ठाउँमा जनप्रतिनिधिले गरिरहे पनि प्रहरीको उपस्थिति आवश्यक पर्ने उनले अनुभव गरेकी छिन्। प्रहरीको त्यस्तो अग्रसरता मृतकको शव व्यवस्थापनमा पनि जरुरी भयो। अन्य ठाउँको मृतकको शव व्यवस्थापन गर्न ल्याएको भन्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएपछि प्रहरीले भीड नियन्त्रण गर्नुपरेको थियो।
भीडभाडमा जोखिम हुने र सतर्कता अपनाउनुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि ड्यूटीमा सधैं सम्भव नहुने पन्तको अनुभव छ। “जोखिम हुन्छ भन्ने थाहा हुँदाहुँदै हामीले भीडमा जानैपर्छ”, उनी भन्छिन्, “संक्रमितको उपचार गर्ने स्वास्थ्यकर्मीले कम्तीमा पीपीई लगाउन पाउनुहुन्छ, हामीले त त्यो पाउँदैनौं र लगाएर काम गर्न संभव पनि हुँदैन। त्यसैले कोभिडमा हामी सबैभन्दा अग्रभागमा र असाध्यै जोखिममा हुँदा रहेछौं।”
प्रहरीको ‘ड्यूटी आवर’ हुँदैन भन्ने मान्यता राखिन्छ। कोरोना संक्रमणपछि त सुरक्षा निकायको व्यस्तता झन् बढेको छ। चौबीसै घण्टा ड्यूटी भए पनि बन्दाबन्दी भएयता दैनिक १८ घण्टा लगातारजसो बोलिरहनुपर्दा भने समस्या भएको पन्त बताउँछिन्। “बिहान ५ बजेदेखि राति ११ बजेसम्म कहिले प्रत्यक्ष कुराकानी त कहिले फोनमै हुन्छु, बोल्दाबोल्दै स्वर बस्छ तर नबोली काम नै हुँदैन”, भासिंएको मधुरो स्वरमा भनिन्।
महिला नेतृत्वमा शंका र हेला
संगठनले जिम्मेवारी दिए पनि समाजमा महिलाको क्षमतामा विश्वास नगर्ने प्रवृत्तिका कारण एसपी पन्तलाई दिक्क लाग्छ। त्यसरी शंका र प्रश्न गर्नेहरूको मुख उनी काम देखाएरै बन्द गरिदिन्छिन्।
पहिलो संविधानसभा निर्वाचनको वेला २०६३/६४ मा उनी महानगरीय प्रहरी प्रभागको प्रमुख भइन्। २०६९ सालमा बालाजु वृत्तको इन्चार्ज र त्यसपछि २०७३/७४ मा पर्वत जिल्लाको प्रहरी प्रमुख भइन्। २०५६ सालदेखि दुई दशक लामोे प्रहरी सेवामा उनले थुपै्र आपराधिक घटनाको सफल अनुसन्धान गरेकी छिन्। समुदायसँग निकट रहेर काम गर्ने क्रममा आम नागरिकको मन पनि जितेकी छिन्।
“संगठनले विश्वास गरेर जिम्मेवारी दिएर पठाउँछ, तर समाजमा महिलाले पाइला–पाइलामा प्रमाण पेश गर्नुपर्छ।”
यति हुँदाहुँदै महिला भएकै आधारमा मनोबल खस्काउन खोज्नेहरु पनि भएको केही तीतो अनुभव उनीसँग छ। करीब ७ महीना उनी पर्सा जिल्लाको प्रहरी प्रमुख तोकिएपछि ‘पर्सा जिल्लामा महिला प्रहरी प्रमुख ?’, ‘पर्सामा महिलाले चलाउन सक्छ र ?’ भन्ने प्रश्न आएको उनले थाहा पाइन्।
“कतिपय प्रहरी संगठनकै अवकाशप्राप्त उच्च अधिकारीहरुले समेत यस्तो प्रश्न गरेको थाहा पाउँदा नमीठो लाग्यो”, उनी भन्छिन्, “संगठनले विश्वास गरेर जिम्मेवारी दिएर पठाउँछ, तर समाजमा महिलाले पाइला–पाइलामा प्रमाण पेश गर्नुपर्छ।”
अर्कातिर, उच्च ओहोदामै पुगे पनि महिला कर्मचारीहरुले पद अनुसार सम्बोधन पाउँदैनन्। ठूलो पदमा महिलालाई स्वीकारिंदैन। यो भोगाइ सचिव भएका महिलादेखि प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्लाको कमाण्ड सम्हालेकाहरुले पनि सुनाउने साझा अनुभव हो। एसपी पन्तसँग पनि यस्तो खालका धेरै अनुभव छन्।
उनी सुनाउँछिन्, “एसपीको लागि तोकिएको नम्बरमा फोन आउँदा उठाउँछु, तर ‘एसपी साप’ लाई खोजेको भन्छन्। मै हुँ एसपी भन्दा पनि कतिपयले दोहोर्याई–तेहेर्याई एसपी साप पाऊँ न भन्छन्। कसैले कुरा गर्न थालेपछि दिदी भन्न थाल्छन्।”
दिदी शब्दको आफ्नै महत्व भए पनि कहाँ के सम्बोधन प्रयोग गर्ने भन्नेले फरक पार्ने उनको भनाइ छ। समाजले अझै पनि यो पदमा महिलालाई स्वीकार्नै नसकेको भनेर कहिलेकाहीं उनलाई टीठ लाग्छ।
खुला सिमाना, मुलुककै प्रमुख व्यापारिक नाका, औद्योगिक करिडोर भएकाले आर्थिक अपराध र ठूलाठूला उद्योगी–व्यवसायीहरु बस्ने भएकाले उनीहरुको सुरक्षा उनले पर्सामा देखेको मुख्य चुनौती हो। यस्तै, लागूऔषधको कारोबारी र प्रयोगकर्ताहरुको गतिविधि नियन्त्रणमा पनि आँखा लगाइरहनुपर्छ।
“एसपीको लागि तोकिएको नम्बरमा फोन आउँदा उठाउँछु, तर ‘एसपी साप’ लाई खोजेको भन्छन्। मै हुँ एसपी भन्दा पनि कतिपयले दोहोर्याई–तेहेर्याई एसपी साप पाऊँ न भन्छन्। कसैले कुरा गर्न थालेपछि दिदी भन्न थाल्छन्।”
यति मात्र होइन, समुदाय स्तरमा सानोतिनो कुरामा पनि झैझगडा र कुटपिटमै उत्रिने घटनाले पनि प्रहरी हरक्षण समुदायमा हुनुपर्ने उनको भनाइ छ। यसमाथि अहिलेको कोरोना संकटले थपेको चुनौतीलाई पनि सिकाइको रुपमा लिंदै काम गरिरहेको उनी बताउँछिन्।
पर्सामा आएपछि उनले महिला हिंसाका घटना नियन्त्रण र अनुसन्धानमा पनि आफूलाई केन्द्रित गरिन्। ११ चैतमा बन्दाबन्दी शुरु भएको केही दिनमै एक महिलालाई दाइजोको निहुँमा परिवारका सदस्यले मारेर घटना सामसुम पार्न खोजेका थिए। तर, जलाउँदै गरेको शवका टुक्रा फेला अनुसन्धान गर्दा हत्या गरेको प्रमाणित भयो। मारिएकी महिलाका सासू, ससुरा लगायत पुर्पक्षका लागि थुनामा छन्। अनुसन्धानको पाटोलाई पनि पीडितमैत्री रुपमा गर्ने गरेको उनको भनाइ छ।
अर्को घटनामा एक बालिकाले आत्महत्या गरेको खबर आयो। तर, प्रभावकारी अनुसन्धानबाट बालिकाकै बुवाले मारेर झुण्ड्याई आत्महत्या गरेको बताएको पुष्टि भयो। अर्की एक महिलाको हत्या भएको घटना ढाकछोप गर्ने प्रयास पनि विफल पारेको उनी बताउँछिन्। ती घटनामा संलग्नहरु प्रहरी हिरासतमा छ।
उनी भन्छिन्, “महिला हिंसा विरुद्ध प्रभावकारी कार्यक्रम गर्ने योजना थियो, तर पर्साको जिम्मेवारी शुरु गरे लगत्तैदेखि कोभिड विरुद्ध लाग्नुपर्दा त्यतातिर राम्ररी लाग्न पाइएन।”
महामारीको संकटलाई परास्त गरेपछि उनी पूर्ववत् समुदायसँग जोडिएर जुट्ने नै छिन्।