कोभिड–१९ को मारमा नेपाली पत्रकार, मानसिक र आर्थिक समस्या डरलाग्दो
कोरोनाभाइरस संक्रमणको महामारीबीच फिल्डमा खटिएर ‘फ्रन्टलाइन’मा काम गर्नेमध्ये पर्छन्, पत्रकार। जोखिमपूर्ण भूमिकामा काम गरिरहेका तिनै पत्रकारमा महामारी सिर्जित गम्भीर मानसिक र आर्थिक समस्या देखिन थालेको छ।
एउटा देशव्यापी मत सर्वेक्षणले देखाएको नतिजा हो यो। नेपाल प्रेस इन्स्टिच्युट र बेलायतको बर्नमाउथ विश्वविद्यालले संयुक्त रुपमा गरेको मत सर्वेक्षणले पत्रकारमा मनोवैज्ञानिक र आर्थिक रुपमा गम्भीर असर पारेको तथा सञ्चार माध्यमको सञ्चार सामग्रीसमेत घटेको देखाएको छ।
गएको २६ असारदेखि ९ साउनसम्म सातवटै प्रदेशका एक हजार १३४ जना पत्रकारहरूमाझ गरिएको सर्वेक्षणले अधिकांश पत्रकारको मानसिक स्वास्थ्यमा असर पु¥याएको देखाएको छ।
महामारी फैलिँदै जाँदा पत्रकारहरू नै संक्रमित हुने क्रम बढ्दै छ। संख्या सानो भए पनि त्यसले धेरै पत्रकारमा त्रास बढाएको छ।
सर्वेक्षणमा सहभागीमध्ये करिब एक प्रतिशत अर्थात् ११ जना पत्रकार कोरोना संक्रमित भइसकेका थिए भने ११ जनाले आफ्नो परिवारका सदस्य कोरोना संक्रमित रहेको बताएका थिए। तर, धेरैजसोमा कोरोना संक्रमणभन्दा संक्रमणको त्रास र महामारीका असर तथा प्रभावले पारेको समस्या ज्यादा देखिएको छ।
सर्वेक्षणमा सहभागी करिब ८३ प्रतिशत (९३७ जना) पत्रकारले जोखिमको अनुभूति बढेको बताएका छन्। ७५ प्रतिशत (८४८ जना) पत्रकारले चिन्ता बढेको उल्लेख गरेका छन्। ६२ प्रतिशत (६९८ जना) पत्रकारले आफूहरू दुःखमा परेको अनुभुति भएको बताएका छन्। २८ प्रतिशत उत्तरदाता अर्थात् ३१६ जना पत्रकारले आफूहरू निद्राबाट बञ्चित भएको बताए।
यसभित्रको पनि डरलाग्दो पक्ष के छ भने सर्वेक्षणमा सहभागी भएका एक चौथाई अर्थात् २५ प्रतिशत (२८३ जना) पत्रकारले त आफूहरू चरम निराशाबाट ग्रसित रहेको समेत उल्लेख गरेका छन्। यसले महामारीका कारण पत्रकारहरूको मानसिक स्वास्थ्य कति डरलाग्दो हिसाबले बिग्रँदो छ भन्ने देखाउँछ।
महामारीले पत्रकारलाई आर्थिक रुपले समेत संकटमा पारेको सर्वेक्षणले देखाएको छ। सर्वेक्षणमा सहभागी ७३.५ प्रतिशत (८३४ जना) पत्रकार आर्थिक रुपमा प्रभावित देखिएका छन्। उनीहरूले आर्थिक कठिनाईको अनुभूति गरिरहेको बताएका छन्। जसमध्ये ३८ प्रतिशतले आफूहरू पारिश्रमिक कटौतीमा परेको बताए।
सर्वेक्षणमा सहभागी ६.३ प्रतिशत (७२ जना) पत्रकारले पूर्णरुपमा रोजगारी गुमाएका छन्। त्यस्तै ३८.४ प्रतिशत (४३५ जना) पत्रकारले पारिश्रमिक कटौती भएको बताएका छन्। १९.६ प्रतिशत अर्थात् २२२ जना पत्रकारले काम गर्ने समय र पारिश्रमिक दुवै घटेको बताए।
सर्वेक्षणमा सहभागी ६०.२ प्रतिशत (६८३ जना) पत्रकारले महामारी शुरु भएपछि रोजगारीबारे बढी चिन्तित बनेको बताएका छन्। यो पत्रकारले भोग्नुपरेको आर्थिक असुरक्षासँगै मानसिक तनावको विषय पनि हो।
महाव्याधिले सबै खालका समाचार प्रकाशन तथा प्रसारणमा उल्लेख्य प्रभाव पारेकोसमेत सर्वेक्षणले देखाएको छ। सर्वेक्षणमा सहभागी उत्तरदाताको ठूलो संख्याले प्रसारण, श्रव्य तथा श्रव्य दृश्य सामग्रीको उत्पादन घटेको बताएका छन्। छापा माध्यमहरूको पनि प्रकाशन (फ्रिक्वेन्सी) तथा पृष्ठ दुबै घटेको देखिएको छ । केही प्रकाशनहरू डिजिटल माध्यममा मात्र सीमित भएका छन् ।
सर्वेक्षणमा सहभागी छापा माध्यममा कार्यरत ५५ प्रतिशत उत्तरदाताले आफू कार्यरत छापा माध्यमको पृष्ठ घटेको बताएका छन् भने ४८.४ प्रतिशत (२२७ जना) ले छापा माध्यमको फ्रिक्वेन्सी घटेको उल्लेख गरेका छन् ।
भर्चुअल समारोहबीच प्रतिवेदन सार्वजनिक गर्दै सरकारका प्रवक्ता, अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले पत्रकारहरूलाई परेको आर्थिक कठिनाइबारे सरकारले समाचार संस्थहरुसँग छलफल गरी कोरोना राहत कोषबाट सहयोग गर्न सकिने बताए।