कोरोना अपडेट: १६ जिल्लामा सक्रिय संक्रमितको संख्या २०० नाघ्यो, काठमाडौंमा सबैभन्दा धेरै
देशका १६ वटा जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या २०० नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ भदौमा सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकभर कोरोनाका सक्रिय संक्रमितको संख्या १२ हजार १३२ पुगेको छ।
त्यसमध्ये सबैभन्दा धेरै काठमाडौंमा २१०० जना छन्। ललितपुरमा ३४५, मकवानपुर २१७, पर्सामा १४००, बारामा ३८३, रौतहटमा ९३२, सार्लाहीमा ६००, महोत्तरीमा ६९८, धनुषामा ४१६, सप्तरीमा २०८, सुनसरीमा २५५ र मोरङमा ८५३ कोरोनाका सक्रिय संक्रमित छन्।यस्तै रुपन्देहीमा २८३, कपिलवस्तुमा २१४, बाँकेमा ३११ र डोटीमा २९५ कोरोनाका सक्रिय संक्रमित छन्।
यस अनुसार पछिल्ला दिनहरूमा कोरोनाका सक्रिय संक्रमितको संख्या बढिरहेको देखिन्छ।
मन्त्रालयको २८ साउनसम्मको तथ्यांक अनुसार यस्ता जिल्लाको संख्या काठमाडौं, पर्सा, रौतहटसहित ८ मात्र थियो।
त्यस्तै १५ साउनसम्ममा २०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित भएका जिल्लाको संख्या काठमाडौं, रौतहट, महोत्तरी, कैलालीसहित ६ थियो। तर २० दिनको अन्तरमा यो संख्या ६ जिल्लाबाट बढेर १६ वटा पुगेको छ।
विज्ञहरूले पछिल्ला दिनहरूमा कोरोनाका सक्रिय संक्रमितको संख्या बढेसँगै उपचारका लागि चाहिने आइसोलेसन तथा अक्सिजनसहितको आईसीयू बेड बनाउन ध्यान दिनुपर्ने बताउँदै आइरहेका छन्।