प्लाज्मा ब्यांक नहुँदा कोरोना संक्रमितको उपचारमा कठिनाइ, दाताको खोजीमा भौंतारिंदै बिरामीका आफन्त
कोरोनाका सिकिस्त बिरामीको उपचारका लागि प्रभावकारी देखिएको प्लाज्मा थेरापी विधिबाट उपचार गर्न प्लाज्मा ब्यांक नहुँदा बिरामी र आफन्तले कष्ट बेहोर्नु परेको छ।
नेपालमा पहिलोपटक २२ साउनमा प्लाज्मा थेरापी विधिबाट गरिएको उपचार सफल भयो। महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालमा उपचार गर्ने क्रममा ती बिरामीका लागि कोरोना संक्रमणबाट निको भएका विराटनगरका ६० वर्षीय पुरुषले प्लाज्मा दिएका थिए।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धान गर्ने प्रयोजनका लागि त्रिवि शिक्षण अस्पतालसहित १२ वटा अस्पतालमा प्लाज्मा थेरापीबाट उपचार गर्ने भनिए पनि अन्य अस्पतालमा शुरु हुनसकेको छैन।
प्लाज्मा थेरापी विधिबाट गरिने उपचार खर्च नेपाल स्वास्थ्य अनुसन्धान परिषद् आफैंले बेहोर्ने व्यवस्था गरेको छ। तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ब्लड ब्यांकहरूलाई निको भएका बिरामीको रगतबाट प्लाजमा निकाल्न अनुमति नदिएका कारण उपचार सेवा प्रभावित बनेको हो।
धनगढीको सेती प्रादेशिक अस्पताल र वीरगञ्जको नारायणी अस्थायी कोभिड अस्पतालमा कोरोना संक्रमणपछि निको भएका बिरामीले प्लाज्माका लागि रगत दान गर्न इच्छा देखाए पनि ब्लड ब्यांकले रगत लिन नमानेका कारण अन्यत्र प्लाज्मा थेरापीबाट गरिने उपचार शुरु हुनसकेको छैन।
जनस्वास्थ्य प्रयोगशालाले प्लाज्मा दिने व्यक्तिको दुई पटकसम्म पीसीआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने र र्यापिड डायग्नोष्टिक टेष्ट विधिबाट कोरोना परीक्षण गर्दा पोजिटिभ आएको हुनुपर्ने मापदण्ड बनाएको छ।
प्रयोगशालाको यही मापदण्डका कारण ब्लड ब्यांकहरूले निको भएका कोरोना संक्रमितको रगत लिन मानेका छैनन्। यस्तै, कतिपय ठाउँमा निको भएका कोरोना संक्रमितले परिचय खुल्ने डरले रगत दिन हिच्किचाउने गरेका छन्। यसको पीडा बिरामी र बिरामीका आफन्तले बेहार्नु परेको छ।
प्लाज्मा लिन र दिन गाह्रो
ललितपुरका भूषण शिल्पकारका दुई जना आफन्तलाई दुई हप्ताअघि कोरोना संक्रमण देखिएपछि उपत्यकाभित्रकै एक अस्पतालको सघन उपचार कक्ष(आईसीयू)मा राखेर उपचार भइरहेको छ। उनका एक जना अर्का आफन्तको त करीब १५ दिनअघि संक्रमणका कारण नै ज्यान गइसकेको छ। कोरोना संक्रमितको उपचारमा उपयोगी देखिएको रेमडिसिभिर र प्लाज्मा थेरापी विधिलाई तत्काल प्रयोग गर्न नपाएका कारण शिल्पकारले आफ्ना दुई कोरोना संक्रमित आफन्तको ज्यान बचाउन सबैतिर हारगुहार गरे।
चिकित्सकको सल्लाहमा उनले आफन्तलाई रेमडिसिभिर औषधि प्रयोग गर्ने निधो गरे। तर सरकारले रेमडिसिभिर औषधि आयात र प्रयोग अनुमति नदिएका कारण उनले कालोबजारीबाट तीनदेखि चार गुणा बढी मूल्यमा खरीद गर्नुपर्यो।
औषधि व्यवस्था विभागले गएको शनिबार तीन वटा भारतीय कम्पनीलाई नेपालमा रेमडिसिभिर औषधि आयात गर्ने अनुमति दियो। यसै क्रममा ५ भदौमा बल्ल रेमडिसिभिर औषधि नेपाल भित्रिएको छ।
रेमडिसिभिरसँगै शिल्पकारका आफन्तलाई प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने निर्णय भयो। उनका एकजना आफन्तलाई गएको सातादेखि र अर्का एक आफन्तलाई हिजोबाट प्लाज्मा थेरापी विधिबाट उपचार शुरु भएको छ।
यीमध्ये एक साताअघि प्लाज्मा दिएर उपचार गरिएका आफन्तको स्वास्थ्यमा क्रमिक सुधार देखिन थालेको शिल्पकारले बताए। प्लाज्मा थेरापीबाट उपचार गरेपछि ती आफन्तको बिहीबार कोरोना रिपोर्ट नेगेटिभ आइसकेको छ। तर प्लाज्मा थेरापी विधिबाट उपचार गर्नका लागि निको भएका बिरामी खोज्ने क्रममा शिल्पकारले दुःख बेहोर्नु परेको गुनासो गरे।
कोरोना संक्रमणपछि निको भएका बिरामीको रगतमा प्रतिरोधात्मक क्षमता हुने भएकाले उनीहरूको रगतबाट निकालेको प्लाज्मा संक्रमित बिरामीलाई दिने गरिएको हो। ट्रान्सफ्युजन विधिबाट निको भएका व्यक्तिको रगतबाट प्लाज्मा निकालिन्छ।
शिल्पकारले आफ्ना आफन्तलाई प्लाज्मा दिनका लागि निको भएका बिरामी खोज्न सबैतिर हारगुहार गरे। उनले निको भएका व्यक्तिहरू आफ्नो परिचय खुल्ने र त्यसै कारण समाजमा बस्न समस्या पर्ने भएकाले सम्पर्कमा नआएको थाहा पाए। तर पनि उनले हार खाएनन्। र, अन्ततः सामाजिक सञ्जालको सहारा लिए।
उनले १ भदौमा फेसबुकमार्फत प्लाज्मा दिन इच्छुक कोही कोरोनाबाट निको भएका व्यक्तिहरू भए आफूलाई सम्पर्क गर्न आग्रह गरे।
उनको त्यो फेसबुक पोष्टलाई पछ्याउँदै चिन्दै नचिनेका कोरोनाबाट निको भएका प्लाज्मा दिन इच्छुक दुई जना व्यक्ति भेटिए। तर ती दुई व्यक्तिले आफ्नो परिचय सार्वजनिक रुपमा नखुलाउने शर्त राखे। शिल्पकारले उनीहरूको परिचय नखुलाउने शर्त स्वीकारेर आफ्ना आफन्तका लागि प्लाज्मा लिए।
“मैले डर नमानी आफ्नो परिचयसहित फेसबुकमार्फत सहयोग माग्दा त्यसले फाइदा गर्यो” उनले भने, “तर कोरोनाबाट निको भएका दाताहरू अझै पनि आफ्नो परिचय खुल्ने डरले प्लाज्मा दिन तयार देखिंदैनन्।”
सरकारले प्लाज्मा थेरापीबाट गरिने उपचारलाई अझै प्राथमिकतामा राख्न नसक्दा धेरै कोरोनाका सिकिस्त बिरामीको उपचारमा कठिनाइ उपत्पन्न भएको उनको अनुभव छ। शिल्पकारले बिरामीका आफन्त आफैं दाता खोज्दै हिंड्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएको बताए।
विकल्पमा ब्लड ब्यांक जस्तै प्लाज्मा ब्यांक
शिल्पकार जस्ता धेरै बिरामीका आफन्तले प्लाज्माका लागि आफै निको भएका व्यक्ति खोज्दै हिंड्नुपर्ने बाध्यता छ। त्यसमाथि सम्पर्कमा आएका निको भएका व्यक्तिले सजिलै रगत दान गर्न हिच्किचाउँछन्।
यी सबै समस्याको समाधान ब्लड ब्यांक जस्तै प्लाज्मा ब्यांक हुनसक्छ। तर सरकारले अहिलेसम्म प्लाज्मा ब्यांक बनाउन कुनै ध्यान दिएको पाइँदैन।
भारतको दिल्लीमा झण्डै दुई महीनाअघि कोरोना संक्रमितको उपचारमा सहज होस् र बिरामीका आफन्त निको भएका व्यक्ति खोज्दै हिंड्नुपर्ने अवस्था नहोस् भनेर प्लाज्मा ब्यांक बनाइएको छ।
नेपाल चिकित्सक संघले करीब एक महीनाअघि नै प्लाज्मा ब्यांक बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरे पनि अहिलेसम्म ब्यांक बनाउन कुनै पहल भएको छैन।
प्लाज्मा बनाउने काममा संलग्न ग्रान्डी अस्पतालका रक्त सञ्चार विभाग प्रमुख तथा रक्त सञ्चार विशेषज्ञ डा. विपिन नेपाल सरकारले प्लाज्मा ब्यांक बनाउन तत्काल पहल थाल्नुपर्ने बताउँछन्।
“प्लाज्मा ब्यांक बनाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, नेपाल रेडक्रस जस्ता संस्थाले पहल लिनुपर्ने हो” डा. नेपाल भन्छन्, “तर अहिले अत्यन्तै जरुरी र आवश्यक भएको विषयमा ध्यान दिएको देखिएन।”
उनी आफूलाई दैनिक १० देखि १२ जना व्यक्तिले प्लाज्मा उपलब्ध गराइदिन आग्रह गर्ने गरेको र त्यसक्रममा आफैं रगत दिने दाता खोज्ने काम गरिरहनु परेको बताउँछन्। डा. नेपाल आफ्नो एक्लो पहलमा मात्र दाता खोज्ने काम सम्भव नभएकाले सरकारी स्तरबाटै समस्या समधान गर्न प्लाज्मा ब्यांक स्थापना गर्नुपर्ने बताउँछन्।
“सिकिस्त बिरामीलाई तत्काल प्लाज्मा चाहिएको हुन्छ” उनी भन्छन्, “तर उपलब्ध नभएका कारण दाता खोज्ने क्रममा नै बिरामीको ज्यान जाने अवस्था बनेको छ।”
यदि प्लाज्मा ब्यांक भयो भने बिरामीलाई चाहिएको बेला तत्काल प्लाज्मा दिन सकिन्छ। त्यसका लागि सबैभन्दा पहिला कोरोना संक्रमणपछि निको भएका बिरामीहरूको लिष्ट बनाउने र तीमध्ये प्लाज्मा लिन उपयुक्त भएका व्यक्तिलाई सम्पर्क गरेर रगत दान गर्न लगाउनुपर्ने विज्ञहरू बताउँछन्।
स्वास्थ्य मन्त्रालयको ५ भदौसम्मको तथ्यांक अनुसार मुलुकभर कोरोना संक्रमणबाट निको हुने व्यक्तिको संख्या १८ हजार २१४ पुगेको छ।
विज्ञहरू निको भएका व्यक्तिबाट लिइएको प्लाज्मा एक वर्षसम्म प्रयोग गर्न सकिने बताउँछन्।