कोरोना, कोथिना क्याफे र कफी गफ
बलेसीमा झर्दै गरेका झरीलाई अञ्जुलीभरि सँगाल्दै/हावामा फाल्दै गर्दा बाल्यकालका धेरै ‘नोस्टाल्जिया’ बल्झिए । बाछिटाका स्पर्शहरूले मन तरंगित भए । झरी थामिएपछि बुट्यान्नहरूमा अडिएका पानीका थोपाहरू हेर्दै कफी पिउनुको मज्जा क्याफेहरूमा कहाँ ? लाग्छ, समय टक्क अडियोस्!
म धरानमा थिएँ । नेपाल बन्दाबन्दीसँगै अन्तर्राष्ट्रिय उडान बन्द हुने कुरा साँझ सुन्नासाथ, रातारात काठमाडौं आउने सुमो जीपको सिट मिलाएर भोलिपल्ट झिसमिसेमै धरान छोडियो।
झण्डै एघार घण्टाको यात्रा। सिन्धुली बाइरोडको बाटो हुँदै राजधानी आइपुग्दा थाकेको शरीर। मोबाइलको डेटा अन के गरेकी थिएँ, घण्टी बज्न थाल्यो। लण्डनदेखि अञ्जनाले फोन गरेकी रहिछिन्। ‘दिदी, कता हो?’ उनको उही परिचित ऊर्जावान् आवाज।
काठमाडौं आइपुगेको ‘अपडेट’ दिएँ। भलाकुसारीको अन्त्यमा, अञ्जनाले जोड दिंदै सुझाइन्, ‘जसरी भए पनि प्लिज ! देवेन्द्रजीलाई भेट्नुस् है !’ थाकेको बेला उनको कुरा केवल ‘ओके’ भनेर टुंग्याएँ।
काठमाडौं आइपुगेको भोलिपल्ट नै सरकारले बन्दाबन्दी घोषणा गर्यो । अन्तर्राष्ट्रिय हवाई उडान बन्द भए। कोरोना कहरको त्रासमा रातारात राजधानी छोडेर मानिसहरू आफ्नो थातथलो फर्कन थाले । दशैं अघि घर फर्किए झैं मानिसहरूको गाउँ फर्कंदै गरेको लर्को देखियो । बस नपाएकाहरू पैदल लागे।
शरणार्थी जस्तै पोका–पन्तरासँगै स–साना नानीहरू च्यापेर गाउँ फर्किरहेकाहरूको दृश्य आफैंमा मार्मिक थियो। सिमानामा अलपत्र परेकाहरूले क्वारेन्टिनमा भोगेका दयनीय अवस्थाले मन चिमोटिन्थ्यो । विभिन्न मुलुकमा रोजगार गुमाएर अलपत्र परेकाहरू, रोग भन्दा भोकसँग लड्दै गरेकाहरूको खबरले मन आहत हुन्थ्यो । त्यसो त कोरोना र बन्दाबन्दीको प्रभावले के घरदेश, के परदेश संसार नै प्रभावित भइरहेको छ।
यता आफ्नै व्यथा थियो । सुनें, ब्रिटिश दूतावासले चार्टर्ड गरेर बेलायती नागरिकलाई उद्घार गरेर बेलायत लैजाँदैछ । केही शुभचिन्तकहरूले मेसेन्जरमा जानकारी पनि पठाए । तर, आफू नेपाली राहदानी वाहक भएकोले त्यो उद्घार सेवा अन्तर्गतको सुविधामा परिएन।
‘चरी जस्तै उडिहिंडने स्वच्छन्द स्वभाव छ यसको’ सानोमा आमाले भन्नुहुन्थ्यो । नेपाल छुट्टी आएलगत्तै धरान हान्निएर एकहप्ताभित्रै भेडेटार, धनकुटा, हिले, बसन्तपुरदेखि तीनजुरेसम्म पुगेर धरान फर्किएको भोलिपल्ट नै म रातारात काठमाडौं फर्किएकी थिएँ । र यसरी बन्दाबन्दीमा परेकी थिएँ
केही दिन पश्चात् अञ्जनाले फोन मार्फत पुनः सुझाइन्, कोथिना क्याफे जान । देवेन्द्रजीलाई भेट्न। ‘बन्दाबन्दीमा घरभित्रै बस्दाको उकुसमुकुस कम हुन्छ नि क्याफे गयो भने’, अञ्जना जसरी पनि मलाई क्याफे जाओस् भन्ने चाहना राख्थिन्।
बन्दाबन्दीले हिंड्ने अवस्था थिएन । भौगोलिक दूरीको हिसाबले करीब १५ मिनेट पैदलमा पुगिन्छ, ‘कोथिना मीठो छ’ क्याफे । ‘प्रधानमन्त्री क्वार्टरको गल्लीको छड्के बाटो हुँदै जानुस् न’ भन्ने जुक्ति पनि दिइन् अञ्जनाले।
बालुवाटार इलाकामा, ‘इनफ इज इनफ’ को प्रदर्शनी भइरहेको थियो।
अञ्जनाको फोन ताकेतापछि उनैको मन राख्नै सही, एक मध्याह्न ‘कोथिना मीठो छ’ को प्राङ्गणमा पुगें, भतिजीसँग ।
लाजिम्पाटको मुख्य व्यस्त सडकभन्दा थोरै भित्र अवस्थित क्याफे कम सोसल इन्टरप्राइजेज् । बाहिर पर्खालमा कलात्मक ढंगले लेखिएको छ— ‘कोथिना मीठो छ’। बन्दाबन्दीको प्रभावका कारण होला क्याफेकोे फलामे गेट थोरै मात्रै खुलेको थियो । गेट विस्तारै ठेल्दै हामी कम्पाउण्डभित्र पस्यौं।
गेटभित्र खुल्ला वातावरणमा रोजमेरी, तुलसी, करी पत्ता, कफीका बुट्यान्नहरू थिए। पर्खालसँगै उभिएको जाभाकुसुमको बोटमा हल्का गुलाबी रंगका फूलहरू फुलिरहेका थिए। सेतो सिंगमर्मरको चौकर टेबल र काला रंग पोतिएका फलामे कुर्सीहरू सेट । हावामा लहराइरहेका रंगीविरंगी ध्वजाहरू। क्याफे होइन कतै बौद्ध ध्यान शिविर पुगे जस्तै अनुभूति भइरहेको थियो।
वातावरणमा शान्ति व्याप्त थियो।
वातावरण नियाल्दै गर्दा उपहार पसलको कर्नरदेखि निस्किए उनी । दुई दिनअघि मात्रै हामी फेसबूक अर्थात् मुहार—पुस्तिकामा साथी बनेका थियौं । चिन्न मुश्किल परेन, अञ्जनाले धेरै पटक बखान गरेका व्यक्ति— देवेन्द्र पोखरेल।
औपचारिक नमस्ते आदान—प्रदानपछि हामी क्याफेको मुख्य स्थानमा आइपुग्यौं। एकप्रकारको कौतूहल मनमा थियो, ‘के यी व्यक्ति अञ्जनाले वर्णन गरेजस्तै सहज स्वभावका होलान्?’
बाहिर घाम अनि गर्मी । ‘के पिउनुहुन्छ ?’ भन्ने सोधनीअघि नै ‘फ्रेस मिण्ट पिउँ है’ भन्ने देवेन्द्रजीको आग्रह सुनियो । भतिजी र मैले उनको आग्रह स्वीका¥यौं । त्यही बीच, कोथिनाको आफ्नै बेकरीको ताजा केक चाख्नुपर्ने देवेन्द्रजीको आग्रह पनि थपियो ।
क्याफेको कर्नरमा राता टिसर्ट लगाएका एक हूल युवा सल्बलाइरहेका देखिन्थे । प्रश्न गर्न नपाउँदै, देवेन्द्रजीले सुनाए— ‘बन्दाबन्दीले स्कूल, कलेज बन्द भएकोले यी युवा यहाँ बारिष्टाको तालिम लिंदैछन् ।’ मेरो उत्सुकताको लहर समाप्त भयो।
फ्रेस मिण्ट पेय र चिज केक खाँदै गफियौं । केही अञ्जनाका अनि केही कोथिनाका । क्याफे, बेकरी बाहेक त्यहाँ ब्रेड एण्ड ब्रेकफाष्ट सेवा पनि संचालनमा रहेछ । कोरोनाका कारण पाहुनाहरू थिएनन् ।
करीब एक घण्टा कोथिना क्याफेमा विताएपछि हामी बाहिरियौं।
अघि कोथिनाको अर्थ सोधिएन । फर्कंदै गर्दा गुगलमा खोजें– ‘कोथिना’ को अर्थ ‘किचेन’ हुँदोरहेछ स्पेनिस भाषामा । त्यसैले क्याफेको नाम राखिएको रहेछ ‘कोथिना मीठो छ ।’ त्यहीबेला भतिजीले भनिन्, ‘कति मीठो बोली नि ! अंकलको ।’ उनको आशय देवेन्द्रजीको मृदुभाषी व्यवहारप्रति थियो । भतिजीलाई भनें, ‘हो रहेछ, खाएकोे चिज केकजस्तै मीठो ।’ हामी दुवै हाँस्दै छिटो–छिटो ओरालो लाग्यौं।
थाहै नपाई बन्दाबन्दीमा घरभित्र नै बसेको पनि महीनौं भएछ।
अपवाद बाहेक, आफ्नै घर—सँघारभित्र पनि परदेशदेखि आउनेहरूलाई हेर्ने दृष्टि कोरोना कहरका कारण बदलिएको छ । कोरोनाले फैलाएको अनावश्यक अधिक त्रासले वृद्घ तथा बालबालिकाका लागि जोखिम बनिरहेको छ । घरमा ८० कटेका वृद्ध सासू—ससुरा अनि देवरका साना बाल—बच्चाहरू छन् । यो बेला बाहिर जानु या बाहिरदेखि आएकाहरूलाई घरमा प्रवेश दिनु निषेध जस्तै छ ।
यतिबेला, कोरोनाले भन्दा पनि अनावश्यक हल्लाहरूले मानिस त्रस्त देखिन्छन् । कोरोनाले कसैलाई भेदभाव नगरे तापनि अनेक वहानामा मानिस–मानिस भेदभाव गरिरहेका छन् । आत्महत्याका घटनाहरू आइरहेका छन् । दैनिक रोजगारीमा परिवार पाल्नुपर्ने मजदूरहरूको अवस्था दयनीय बनिरहेको छ।
रामेछाप घर बताउने एक ट्याक्सी चालक सुनाउँदै थिए– कमाइ छैन । तर बैंकको ऋण लिएर किनेको ट्याक्सी, ब्याजको ताकेता भने समय नपुग्दै आउँछ।’ उनी बिहान चार बजे नै कालीमाटी थोक बजारदेखि सब्जी ल्याएर मौका हेर्दै स्थानीय टोलमा बेच्दा रहेछन्।
घरदेखि निस्कनै बन्देजजस्तो यही बेला भतिजी र म भाटभटेनी सुपर मार्केट जाने क्रममा ‘कोथिना मीठो छ’ क्याफेतिर सुटुक्क लागेका थियौं।
कोथिना क्याफेको पहिलो भ्रमण र देवेन्द्रजीसँगको भेट यादगार बन्यो।
दिन विते । हप्ता विते । महीनौं भयो । व्यावसायिक हवाई सुविधा खोलिएन । त्यसो त चार्टर हवाईजहाज चल्न शुरू भइसकेका थिए । तर, चार्टर्डको अचाक्ली महँगो टिकट तिर्ने पक्षमा म थिइनँ । नेपाल बसाइँ लम्बिंदै गयो । बन्दाबन्दीले खुम्चिएका बेला कोथिना क्याफे मेरा लागि सुगम गन्तव्य बन्यो।
त्यसो त, कोरोना कहर बन्दाबन्दीले न केवल उकुसमुकुस, ऐंठन लाग्ने समय । अपितु, केही ‘अग्र्यानिक’ अनुभूतिहरू पनि दिएका छन्।
बलेसीमा झर्दै गरेका साउने झरीलाई अञ्जुलीभरि सँगाल्दै÷हावामा फाल्दै गर्दा बाल्यकालका धेरै ‘नोस्टाल्जिया’ बल्झिए । हलुका हावासहितका बाछिटाका स्पर्शहरूले मन तरंगित भए । आडैमा रहेका रोजमेरी, बासिलका पोथ्रापोथ्री अनि कफीको बोट । झरी थामिएपछि ती बुट्यान्नहरूमा अडिएका लोभलाग्दो पानीका थोपाहरू हेर्दै कफी पिउनुको मज्जा लण्डनका क्याफेहरूमा कहाँ?
लाग्छ, समय टक्क अडियोस् !
एकदिन, कोथिना क्याफे पुग्दा देवेन्द्रजी कतै बाहिर गएका रहेछन् । टहलिन कफीको बोटसँगै उभिएको बडेमाको अम्बाको बोटनेर पुगें म । छेवैमा रहर लाग्दो गरी लहरै राखिएका कालो प्लाष्टिकका ब्यागहरूमा एभोकाडो, स्ट्रवेरी यस्तै केही प्रजातिका बिरुवा, बोटहरू हेर्दै थिएँ, क्याफेका सहायक रोशनले नजिकै आएर बताए, ‘सरले बिक्री पनि गर्नुहुन्छ यी बिरुवाहरू ।’ यसो भनौं, रोशनले मार्केटिङ्ग गर्न भ्याए।
अर्को भेटमा, देवेन्द्रजीले सुनाए, बागवानीको सोख । यो मात्र होइन, हाम्रो थुप्रै स्वभाव मेल खाँदोरहेछ । “थाहै नपाई हामी त बेष्ट फ्रेण्ड पो भइसकेछौं’ अञ्जनालाई फोनमा सुनाएँ । “थाहा पाउनुभयो त, त्यही भएर त भेट्नुस् भनेको नि!”
‘कोथिना मीठो छ’ क्याफेको यो सानो बगैंचाभित्र यस्ता थुप्रै प्रिय पात्र भेटिए।
झट्ट हेर्दा योगीजस्ता, कालो तिल—चामल मिसिएको जस्तो दाह्री पालेका सुदर्शन कार्की दाइसँग पनि यहीं परिचय भयो । प्रायः हाफ—पाइन्ट, हाफ ज्याकेट लगाउने देश—देशान्तर घुमेका सुदर्शन दाइ न केवल चराहरूको अध्ययनमा रुचि राख्दा रहेछन्, चराजस्तै उन्मुक्त उड्न रुचाउने स्वभावका रहेछन् । उनले बन्दाबन्दीको समयमा राजधानी वरिपरिका चराहरूलाई दाना खुवाउँदै हिंडेको पनि सुनाए।
सुन्दा खरो लाग्ने सुदर्शन दाइसँग सुन्दै जाँदा अनुभवका घत लाग्दा शृंखलाहरू रहेछन् । पेरिसमा आर्टस् पढेका, वर्षौं स्कटल्याण्डमा बिताएका उनका रोचक गफ सुन्नलाई कफी होइन, ह्विस्कीको चुस्की लिंदै सुन्न मज्जा हुँदो हो ! हाइल्याण्डरका अनुभूतिहरू!
पूर्वी पहाड इलामदेखि काठमाडौं हुँदै बेलायत अनि अमेरिकासम्मको उच्च अध्ययन यात्राको वर्णन सुनेपछि लाग्यो, डा. प्रेम फ्याक संघर्षको अर्को नाम हो। लण्डनको विश्वविद्यालयमा एम.एका लागि छात्रवृत्तिमा आवेदन दिएपछि मात्र पहिलोपटक ‘स्काइप’ प्रयोग सुनेका प्रेमले बागबजारमा भौंतारिएको देखि अमेरिकाको हवाइबाट विद्यावारिधि गर्दासम्मका कतिपय रोचक प्रसंग सुनेर हामी दिल खोलेर हाँसेका थियौं। उच्च अध्ययनपश्चात् आफ्नै मुलुकमा केही गर्छु भनि फर्किएका यी बौैद्धिक युवा यतिबेला कोरोना भन्दा पनि देशको माहोलबाट अन्योलमा देखिन्थे।
शायद, कोरोना र बन्दाबन्दीले मान्छेका रचनात्मक सोचहरूलाई भने बन्दी बनाउन सक्दैन।
‘ओया’ अर्थात् ल्याटिन भाषामा आँधीकी देवी । ओया जस्तै मजबूत व्यक्तित्वकी धनी दृष्टि नेपालकी अध्यक्ष परिना सुब्बासँग नयाँ परियोजना ‘ओया ईनिसिएटिभ्स्’ पनि यही बसेर कफी पिउँदै टुंगो लगाइयो । बन्दाबन्दीले प्रभावित धेरै एकल आमा र बालबालिकाका लागि सप्तरीमा पु्¥याइएको राहत सहयोगबारे पनि छलफल भए।
कोरोना कहरको मारमा परेर खाडी मुलुकदेखि रोजगारी गुमाएर आएका महिलाका लागि सीपमूलक तालिम सञ्चालनार्थ खटिएकी अधिकारकर्मी विजया राई श्रेष्ठ दिदीको नेतृत्व, देवेन्द्रजीको सहकार्य र अञ्जना गुरुङको सहृदयताको संयोजन सबै यही क्याफेमै भयो।
कोरोना, कोथिना क्याफे र कफी गफका अनुभूति लेख्दै गर्दा मेरो ध्येय यो कहरको समयमा बाहिर निस्कनु, क्याफेमा कफी पिउँदै प्रिय पात्रहरूसँग गफिएका प्रसंगहरू सुनाउनु कदाचित होइन । तर, कहरले भयावह त्रास, नकारात्मक अनुभूति मात्र होइन, मानिसको जीवनमा धेरै प्रयोगात्मक सोचहरूको पनि विकास गराएको छ । विकल्पहरू सुझाएको छ । जीवन र जगतलाई हेर्ने, बुझ्ने नयाँ कोणहरू पनि दिएको छ।
कोरोना कहरले प्रभावित, त्रसित मनमस्तिष्क स्वास्थ्य राख्न प्रियजनहरूको साथ र संवाद उत्तिकै आवश्यक पर्दोरहेछ । त्यसो त औषधि नबनेको कोरोनाका लागि मनोबल नै ओखती हो भनिन्छ । उता लण्डनदेखि कोरोना संक्रमित आफन्त एवं साथीहरूले उच्च मनोबलकै कारणले कोरोनालाई जितेको अनुभव सुनाइरहँदा म स्वयंलाई ढाडस मिल्थ्यो, सकारात्मक हुन बल दिन्थ्यो।
बिहान गुँड छाडेर उडेका र साँझ वासस्थानमा फर्किएका चराहरू जस्तै, आफ्नो गाउँ–घर सम्झिएर फर्किएकाको पनि त अनेकन् सुखानुभूतिका कथाहरू होलान् ! चरीजस्तै फुर्र उड्न खोज्ने ‘आउट—गोईङ्ग’ मान्छे म, थाहा छैन, यो कहरको सन्त्राससँगै कहिलेसम्म बन्दाबन्दी भोग्नुपर्ने हो!
‘कोथिना मीठो छ’ क्याफेमा न केवल पात्रहरू भेटिए, कफी गफ भए । भेट रचनात्मक पनि भए । परिणाममुखी ठोस निर्णय पनि भए । प्रतिफल, आज मेरो दैनन्दिनका रुटिन बदलिएका छन् । सबैभन्दा रमाइलो अनुभव त, जीवनलाई यति नजिकबाट प्रेम गरेकी थिइनँ शायद । आजभोलि, औधी गर्न थालेकी छु।
प्रिय पात्रहरू,
‘लाइफ इज ब्यूटिफूल !’