चथाः पर्व अर्थात् सानो दशैं
सबैभन्दा लामो र ठूलो चाडको रूपमा लिइने दशैं सामान्यतः घटस्थापनादेखि शुरू र पूर्णिमाका दिन सकिने बुझाइ छ । तर नेवार समुदायमा भने यो हिसाबकिताबले काम गर्दैन ।
भाद्र शुक्ल चौथीका दिन मनाइने ‘चथाः’ ले दशैंको आगमनलाई संकेत गर्दछ । यो दिनलाई ‘सानो दशैं’ पनि भनिन्छ । र, तिहारमा गरिने लक्ष्मी पूजाको विसर्जन भाइटीकाको भोलिपल्ट गरेर मात्रै दशैं औपचारिक रूपमा सम्पन्न भएको मानिन्छ ।
दशैंमा चढाइएको बलिको मासु लक्ष्मी पूजामा सुकुटी बनाएर राखिन्छ र विसर्जनका बेला उक्त सुकुटी पनि प्रसादको रूपमा ग्रहण गरिन्छ ।
नेवार समाजमा दशैंको महत्वपूर्ण दिन अष्टमीलाई मानिन्छ । ‘कूछिभ्वय्’ भनिने यो दिनमा परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर ज्येष्ठताको क्रमअनुसार लहरै बसी बेलुका भोज खाने चलन छ । ‘कूछिभ्वय्’ लाई सूक्ष्म ढंगले नियालिएमा यो साधारण भोज नभएर तान्त्रिक विधि अनुरूपको विशेष भोज भनेर बुझ्न सकिन्छ ।
चलनचल्तीमा दशैं शब्द प्रचलित भए पनि नेवारी समुदायमा दशैं ‘मोहनी’ का नामले प्रचलित छ । नवमीमा ‘स्याकुत्याकु’ भनेर बलि चढाइन्छ भने दशमीका दिन ‘चालं’ भनेर प्रसाद ग्रहण गरिन्छ । यो अवसरमा ‘मोहनी सिन्हः’ भनेर तान्त्रिक विधिबाट ध्वाँसो जम्मा पारेर बनाइएको कालो टीका पनि लगाइन्छ । यसबाट बुझिन्छ, यो उपासना नभई साधनासँग सम्बन्धित चाड हो, जसको सम्पूर्ण पूजापद्धति तान्त्रिक विधिअनुसार नै गरिन्छ ।
चथाः राम्रोसँग मनाइएमा मोहनी (दशैं) पनि राम्रो हुने मान्यता नेवार समाजमा पाइन्छ । चथाःको दिन पानी परेमा दशैंमा पनि पानी पर्छ भन्ने धारणा पाइन्छ ।
नेवारहरू जुनसुकै जात्रा, चाडपर्व वा संस्कारजन्य कर्म सम्पन्न गर्नुअघि विशेष पूजा गर्दछन् । ‘मोहनी’ भनिने दशैंमा नेवार समाजले विशेषतः ‘आगंद्यः’ (आगम देवता) र दिगुद्यः –कुलदेवता) को पूजा गर्छन् । आगंद्यः र दिगुद्यः आह्वान ‘चथाः’ कै दिनमा हुन्छ । यस दिन चथाःस्वां (करवीरको फूल), मोहनिस्वां र लक्ष्मी पूजाको लक्ष्मीस्वां (फूल) चढाएर पूजा गरी भोज खाने गरिन्छ । घटस्थापना, जमरा तथा दुर्गा भगवतीको पूजा प्रचलनमा भए पनि यो नेवारी समाजमा प्राचीन भने होइन ।
आजभोलि ‘चथाः’ भनेको गणेश र चन्द्रमाको पूजा गर्ने पर्व भनेर बुझ्न थालिएको पाइन्छ । नेवार समाजमा गणेशको पूजा नगरी अन्य देवीदेवताको पूजा चल्दैन । यही चलनअनुसार नै यस दिन पनि गणेश पुजिएको भनी बुझ्नुपर्दछ । यही दिन गणेशको जन्मदिन पनि परेको र गणेश चौथी उत्सवको प्रभाव पछिल्ला दिनहरूमा चथाःमा पर्न थालेको छ । वैदिक समाजमा प्रचलित गणेशको श्राप चन्द्रमालाई परेको लगायतका कथाहरू पनि चथाःसँग जोडिन आइपुगेका छन् ।
चथाःमा पूजा राति गरिने हुँदा मात्र चन्द्रमालाई अपनाएको देखिन्छ । अर्थको अनर्थ हुने गरी गणेशलाई चथाःद्यः भनेर ‘चोर देवता’को रूपमा लिने गरेको पनि पाइन्छ । यस दिन चन्द्रमा हेरेमा चोरीको दोषभागी हुने मान्यताका कारण चन्द्रमाबाट जोगिएर बस्ने गरेको पाइन्छ । खुर्सानी वा केही फल दिनभर लुगामा वा घाँटीमा झुन्ड्याए चोरीको दोष नलाग्ने भनाइ पनि छ । त्यसरी झुण्ड्याइएका वस्तु राति पूजामा प्रयोग गरिन्छ । राति कुकुर भुकेको आवाज सुुनेपछि मात्रै पूूजा कार्य आरम्भ हुन्छ ।
पौराणिक कथामा गणेशलाई चन्द्रमाको दोष लागेको उल्लेख भएअनुसार चथाःद्यः भनेर गणेशलाई लिइने र पूजा गर्ने पाइए पनि वास्तवमा नेवार समाजमा ‘चथाःद्यः’ भनेर गणेश नभई इन्द्र देवतालाई मानिन्छ । पारिजातको फूल चोर्न इन्द्र आएको र चोर पक्राउ परेको कथा इन्द्रजात्रामा पाइन्छ । चथाःमा पारिजात तथा इन्द्र देवताको कुनै भूमिका नदेखिएका कारण यी कथाहरू पछि मात्र जोडिन आइपुगेको मान्न सकिन्छ ।
सानो दशैंको रूपमा मनाइने चथाःको मौलिकतामा आँच आउने क्रममा गणेश, चन्द्रमा, चोरीलगायतका कुरा गाँसिन पुग्दा यसको अवधारणा नै फेरिएको पाइन्छ । मीठो खुवाउँदा चोर पल्किने भन्दै यो दिन चथाःद्यः लाई काँचो लप्सी, टर्रो नासपाती, काँचो अदुवा, हरियो खुर्सानी, वनस्पति पु (आरूको बियाँ) को साथमा भुटेको गहुँ, भटमास, मकै, केराउ आदि चढाइन्छ । अमिलो र टर्रो फलफूलले मुखको स्वाद बिगारेर दाँत कुँडिएपछि टोक्न गाह्रो हुने गरी भुटेको गेडागुडी चढाएर चोरलाई भगाउन खोजिएको अभिप्रायः देखिन्छ ।
‘चौथी’ तिथिमा चथाः परेको आधारमा चौथी शब्दको अपभ्रंश ‘चथाः’ भनेर पनि उल्लेख गरिएको पाइन्छ । तर, चौथी शब्दको अपभ्रंश ‘चथाः’ हुनसक्दैन ।
हालसम्म कुुनै पनि शास्त्रमा ‘चथाः’ पर्व बारे उल्लेख नपाइएबाट यो पर्व शास्त्रसम्मत नभएको स्पष्ट हुन्छ । तसर्थ यसको सोझो सम्बन्ध ‘मोहनी’ सँग भएको र व्यावहारिक रूपमा दशैं भनिए पनि दशैंको शास्त्रीय विधिविधानभन्दा यो पर्व फरक देखिनु रोचक पक्ष हो । यसकारण मोहनीलाई पनि बेग्लै अर्थ बोकेको मौलिक नेपाली पर्व भन्न सकिन्छ ।
संस्कृतिको अध्ययन गर्नेहरूले अब चथाः र मोहनीको सम्बन्ध तथा यसको दार्शनिक तथा सांस्कृतिक अर्थ केलाउनेतिर ध्यान दिन आवश्यक छ ।