जंगबहादुर राणाका अक्षर
कतिपय इतिहासकारहरूले भने जस्तो जंगबहादुर औंठाछाप थिएनन्, उनका अक्षर भँगेराका टाउका जस्ता थिए। उनलाई अंग्रेजी ठ्याम्मै आउँदैन थियो भने हिन्दीसमेत राम्ररी बोल्न सक्दैन थिए।
नेपालका प्रधानमन्त्रीमध्ये जंगबहादुर राणाले लामो समय शासन चलाए । आफूले ‘श्री ३’ को श्रीपेच पहिरिएर ‘श्री ५’ लाई खोपाको देउता बनाए । उनैले शुरू गरेको जहानियाँ शासन १०४ वर्षको आयु बाँचेर अन्त्य भयो ।
जंगबहादुरले गरेका कामहरूमध्ये अंग्रेजलाई रिझाएर नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) नेपालमा फिर्ता गर्नु स्मरणीय र महत्वपूर्ण रहिआएको छ ।
जंगबहादुरको पढाइ–लेखाइको विषयलाई लिएर इतिहासकार पुरुषोत्तमशमशेर जबराले उनलाई औंठाछाप अर्थात् लेखपढ गर्न नजान्ने व्यक्तिका रूपमा चिनाएका छन् ।
राणाले आफ्नो पुस्तक ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ (२०६५ः६) मा जंगबहादुर राणा ढाक्रे (बेरोजगार) भएको अवस्थामा विदेशमा गई जागिर खाने विचारले बनारस गई पण्डित अमरराज पाण्डेको आश्रयमा बसेको उल्लेख गरेका छन् । तर उनी राम्रोसँग लेखपढ गर्न सक्दैनथे । अंग्रेजी त के उही हिन्दी भाषामा पनि बोल्न सक्दैनथे, अर्थात्, उनी औंठाछाप थिए । आफ्नी जेठी श्रीमतीको निधनपछि आफ्नी साली सिद्धिगजेन्द्रलक्ष्मीलाई माग्न जाँदा उनका ससुराले ‘कुनै बन्दव्यापार नगरेको, मान जागिर नभएको, लेखपढ केही नभएको’ भन्दै हप्काएर पठाएको पनि राणाको पुस्तकमा पढ्न पाइन्छ।
दुई पटक जागिर खोसिएर जंगबहादुर बेरोजगार बनेका थिए । गंगा खरेलको ‘सिनास जर्नल’ को वर्ष २६ अंक १ (जनवरी १९९९ः१६३–१७०) मा प्रकाशित ‘जंगबहादुर राणाको जीवनी र कृतिसँग सम्बद्ध एक टिपोट’ लेखमा उनी १८९२ र ९६ सालमा जागिर खोसिएर बेरोजगार भएको उल्लेख छ ।
याे पनि पढ्नुहाेस्– कुँवरबाट कसरी राणा बने जङ्गबहादुर?
जंगबहादुरका दुस्साहस
जंगबहादुर असामान्य क्षमताका थिए । दुस्साहसी पनि । धूर्त र आफ्नो स्वार्थका लागि दूरदर्शी पनि ।
जंगबहादुरले आफ्नै मामा तत्कालीन प्रधानमन्त्री माथवरसिंह थापाको गोली हानी हत्या गरेका थिए । जंगबहादुरलाई सताउने उद्देश्यले माथवरसिंह थापाले महासन्काहा युवराज सुरेन्द्रको अंगरक्षक बनाएको जबराको ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ (२०६५ः१८–१९) मा पढ्न पाइन्छ । माथवरसिंहले अनेक जालझेल र कपटबाट युवराज सुरेन्द्रको लिखित आदेशबाट काजी जंगबहादुरलाई पुनः युवराजकै अंगरक्षक ‘कप्तानी’ पदमा सरुवा गराए ।
युवराज सुरेन्द्रको अंगरक्षक भएपछि जंगबहादुरले अनेकौं भुक्तमान खेप्नु पर्याे। सुरेन्द्र कतिसम्म सन्काहा थिए भने उनी आफ्नी रानीहरूलाई वागमतीमा लगेर नदीमा गाडी गाडी खेल्ने खेलाउने गर्दा एक रानीको त सर्दी लागेरै मृत्यु भयो । भारदारहरूमध्ये कसैलाई छुरीले काट्ने त कसैलाई इनारमा खसालिदिने सम्मको काम गर्थे ।
एक दिन जंगबहादुरलाई पनि सुरेन्द्रले लगनटोलको इनारमा खसालिदिए। तर केहीबेरपछि उनी इनारबाट उत्रेर आए। उनलाई सुरेन्द्रले त्रिशूलीको साँघुबाट चार पटक फाल हान्न लगाए। साँघुबाट घोडा लैजान अह्राए। घोडा साँघुको आधाआधी पुर्याएपछि त्यहींबाट फर्काउन अह्राए। हल्लने सानो साँघु त्यो पनि हल्लिने र बीचबीचमा फलेक नभएको त्यो साँघुबाट घोडा फर्काएर ल्याउन जंगबहादुर सफल भएपछि सुरेन्द्रले पुनः उनलाई काजी पद दिएको पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ को सङ्ख्या २५ (कात्तिक २०३०ः८) मा पढ्न पाइन्छ ।
‘प्राचीन नेपाल’ (उही) अनुसार एक दिन नयाँ पक्रिई ल्याएको मत्ता हात्ती मादको जोडले माहुतेलाई खसाली हात्तीसारबाट उम्केर इन्द्रचोकतिर लाग्यो । त्यसले पसल र घरहरू भत्काई उपद्रो गर्न लाग्यो । यो खबर राजासमक्ष पुग्यो । राजाबाट हात्ती पक्रेर ल्याउन कसले सक्छ भन्ने आदेश आउँदा जंगबहादुर तयार भए । उनी इन्द्रचोकमा भाँडा बेच्ने पसलेको घरमाथि चढी हात्तीको पीठमा फाल हानी बडो फुर्तीसाथ हात्तीलाई नियन्त्रणमा लिएर हात्तीसार पुर्याई राजाबाट स्यावासी पाए ।
जंगबहादुर झोंछे टोलको एक नेवारको घरमा चितुवा पस्दा राजाको आदेशबाट चितुवा पक्रन एक्लै गएका थिए । अनेक जुक्ति र बुद्धिले चितुवालाई बाँधेर नियन्त्रणमा लिएका थिए ।
यस्ता अनेकौं साहस र दुस्साहस, जुक्ति र बुद्धिका कारण जंगबहादुर आफ्नो समयमा प्रधानमन्त्रीका रूपमा लामो समय एक्लो अधिनायक बन्न सफल भए ।
औंठाछाप थिएनन्
इतिहासकार जबराले उल्लेख गरेजस्तो जंगबहादुर राणा औंठाछाप भने थिएनन् । यसबारे प्रमाण पुष्टि गर्ने आधार प्राप्त छन् । इतिहासकार तथा पूर्व प्रशासक भगिराज इङ्नामको संकलनमा रहेको असार १९२२ मा जारी गरिएको इस्तिहारमा जंगबहादुरकै हस्ताक्षर रहेको छ ।
हस्ताक्षरसँगै उनले सम्बन्धित विषय कार्यान्वयनका लागि आफ्नै हस्ताक्षरमा अतिरिक्त आदेश पनि दिएका छन् । पल्लो किरातकी कुंभावती लिम्बूनीले पति वाजनसिंह लिम्बूले राजपोखरीको खेत १९०२ सालदेखि कालावञ्जर फाँडी कमाउँदै आएकोमा खेतसम्बन्धी विवादका विषयमा दिएको उजुरीबारे जारी गरेको इस्तिहारको सिरानको बायाँ किनारामा प्रधानमन्त्रीको छापसहित आदेशका अतिरिक्त निजी आदेश पनि जारी गरेका छन् ।
प्रधानमन्त्रीको छापनेर लेखिएको छ,
सही जङ्बहादुर
यो जग्गा जस्ले कीचला गर्ला नेल् ठोकी १२ मैना कयद होला गौडाका मालीक्ले रुका व...गरी दिनू
यो अक्षरको स्वरुप कमल दीक्षितले ‘जंग–गीता’ (२०४०ः११–२७) मा प्रकाशमा ल्याएका हुन्, जुन जंगबहादुर राणाले आफ्नो बेलायत भ्रमणताका नेपालमा रहेका आफ्ना भाइ बमबहादुरलाई लेखेको पत्रको अक्षरसँग ठ्याक्कै मेल खान्छ ।
जंगबहादुरको अक्षर सिकारुले लेखेजस्तो देखिन्छ । यसबाट उनी लेखपढ नै गर्न सक्दैनथे वा उनी औंठाछाप थिए भन्ने धारणा चाहिं गलत भएको देखिन्छ ।
याे पनि पढ्नुहाेस्– मुर्मी भोट्या होइनन्, तामाङ
अक्षरको विशेषता
जंगबहादुरले तत्कालीन राजा राजेन्द्रविक्रम शाहकी कान्छी रानीसँग अत्यन्तै निकटसम्बन्ध भएका तत्कालीन शक्तिशाली जनरल गगनसिंहसँग कङ्केश्वरीमा एक धर्मपत्र गरेका थिए । धर्मपत्रको व्यहोरा इतिहासकार ज्ञानमणि नेपालको पुस्तक ‘नेपालको महाभारत’ (२०५२ः२२५) मा पढ्न पाइन्छ । यस पत्रबारे टिप्पणी गर्दै नेपालले ‘यो पत्र जंगबहादुरको हस्ताक्षरको हो, अक्षर सिकारुका जस्ता ठूल्ठूला र टेडामेडा छन्’ भनी उल्लेख गरेका छन् । ्
अझ कमल दीक्षितले आफ्नो पुस्तक ‘जंग–गीता’ (२०४०ः३) मा जंगबहादुरको अक्षरको विशेषतालाई मसिनो ढंगले केलाएका छन् । उनले लेखेका छन्, “भँगेराका टाउका जस्ता अक्षर । विचरालाई जोडेमोडेको अक्षर लेख्न पटक्कै आउँदो रहेनछ । आधा अक्षर लेख्न नजानेर खुट्टो काटेरै काम चलाउँदा रहेछन् उनी– हुन्छ, चल्ला, सम्वंदी । बेलाइतबाट नेपालीमा यो चिठी लेख्ने मान्छे नेपाली नै हुन् । जंगबहादुरलाई नेपाली लेख्न त्यति गाह्रो पर्दोरहेछ । जंगबहादुरले अक्षर खार्ने समय पाएका रहेनछन् । अ, छ, ह, श्री लेख्न निकै मिहिनेत गर्नुपर्दोरहेछ । ट र ठ को फरक, ‘नजोडेको ट’ र ‘जोरेको ठ’ भन्ने उनलाई सिकाएकै रहेनछ ।”
तर लेखपढमा कमजोर भए पनि जंगबहादुर दिमागले काम गर्थे । उनले आफ्नो यही क्षमताले आफू विरुद्धका ठूल्ठूला षड्यन्त्र पन्छाए । आफूले रचना गरेका सबैजसो षड्यन्त्रमा उनी सफल पनि भए ।