शेयर कारोबारका सबै भुक्तानी डिजिटलबाट मात्रै
धितोपत्र दलाल व्यवसायी मार्फत दोस्रो बजारमा हुने कारोबारको रकम विद्युतीय माध्यमबाट मात्रै भुक्तानी गर्न स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालले शेयर लगानीकर्तालार्ई आग्रह गरेको छ।
शेयर कारोबारमार्फत हुने रकमको लेनदेनमा नेपाल धितोपत्र बोर्डले १४ असार र ३ भदौ २०७७ मा दिएको निर्देशन अनुसार शेयरको कारोबारमा हुने सबै प्रकारको भुक्तानी रकम डिजिट गर्ने छ। सोही निर्देशनलाई एशोसिएसनले पनि पूर्ण पालना गर्न आफ्ना सदस्य व्यवसायीलाई आग्रह गरेको छ।
व्यवसायीले आफूमार्फत भएको अधिकांश कारोबारहरुको भुक्तानी अहिले पनि आईपीएसबाट ब्यांक खातामा पठाउने गरिरहेका छन्। अब भने सबै व्यवसायी डिजिटल भुक्तानीमै केन्द्रित हुनुपर्ने भएको छ। आईपीएसको कारोबारमा ढिलासुस्ती भएमा संघलाई जानकारी दिन पनि एशोसिएसनले ५ साउन (शुक्रबार) जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ।
कोभिड-१९ को संक्रमण न्यूनीकरण तथा नियन्त्रणका लागि भएको निषेधाज्ञाका कारण आवागमनमा असहजता तथा सीमित ब्यांकिङ कारोबार भएको यस अवस्थामा चेक मार्फत भुक्तानी असहज हुने भन्दै एशोसिएसनले विद्युतीय भुक्तानीलाई नै जोड दिन आग्रह गरेको हो।
नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि १५ दिन भित्रमा व्यवसायी र लगानीकर्ताबीच हुने कारोबारको रकम विद्युतीय माध्यमबाट मात्र भुक्तानी गर्न दिएको निर्देशनको पूर्ण पालना गर्न एशोसिएसनले आफ्ना सदस्य व्यवसायीलाई आग्रह गरेको हो। धितोपत्र खरीद गर्न चाहने लगानीकर्तालाई अनलाइन ब्याङ्किङ, कनेक्ट आईपीएस लगायतका इन्टरनेट तथा विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध भई कारोबार गर्न एशोसिएसनले आग्रह गरेको हो।