ट्रम्पका पूर्व सल्लाहकारमाथि आर्थिक अपचलनको आरोप
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका पूर्व सल्लाहकार स्टिभ बेननमाथि अमेरिका र मेक्सिकोको सीमामा पर्खाल निर्माणका लागि कोष संकलन गर्ने अभियानमा हिनामिना गरेको अभियोग लागेको छ।
बेनन र अन्य तीन व्यक्ति मिलेर 'वि बिल्ड द वाल' (हामी बनाउँछौं पर्खाल) अभियान मार्फत संकलित रकम दुरुपयोग गरेर हजारौं दातालाई धोका दिएको अमेरिकी न्याय मन्त्रालयले बताएको छ। उक्त अभियानबाट २० मिलियन डलर उठाइएको थियो।
संकलित रकममध्ये बेननलाई एक मिलियन डलर प्राप्त भएको र त्यसमध्ये केही पैसा उनले निजी काममा खर्च गरेको आरोप लगाइएको छ। यद्यपि बेननले अदालतमा आफूलाई निर्दोष बताउँदै निवेदन दर्ता गराएका छन्।
गिरफ्तारी लगत्तै भिडिओ लिङ्क मार्फत उनलाई फेडेरल कोर्टमा पेश गरिएकोमा उनी ५ मिलियन डलरको जमानतमा रिहा भएका छन्। उनलाई अमेरिका बाहिर जान र निजी विमान वा पानीजहाजमा यात्रा गर्न रोक लगाइएको छ।
बेननलाई सन् २०१६ मा भएको राष्ट्रपति निवार्चनमा ट्रम्पको जितको योजनाकार मानिन्छ। बेननको दक्षिणपन्थी र आप्रवासी विरोधी नीतिकै आधारमा ट्रम्पले 'अमेरिका फस्ट' अभियान शुरू गरेका थिए।
हिनामिनाको आरोप लागेसँगै बेनन राष्ट्रपति ट्रम्पका छैटौं पूर्व सल्लाहकार बनेका छन्, जसमाथि आपराधिक मुद्दा दायर गरिएको छ।
बेननको गिरफ्तारीबारे प्रतिक्रिया दिंदै राष्ट्रपति ट्रम्पले धेरै नराम्रो लागिरहेको बताएका छन्। उनले 'वी बिल्द द वाल' अभियानसँग आफ्नो कुनै सरोकार नरहेको पनि स्पष्ट पारेका छन्।
'वी बिल्ड द वाल' अभियान ट्रम्पको २०१६ को चुनावी अभियानको सबैभन्दा ठूलो घोषणा अमेरिका र मेक्सिकोको बीचमा पर्खाल निर्माणका लागि शुरु गरिएको थियो।
बेननमाथि त्यस अभियानका लागि मानिसहरुसँग पैसा उठाएर त्यसमा अपचलन गरेको आरोप छ। उनलाई आफ्नो एक गैरसरकारी संगठनको माध्यमबाट अभियानको लागि एक मिलियन डलर प्राप्त भएको थियो, जसबाट उनले हजारौं डलर निजी प्रयोजनका लागि खर्च गरेका थिए।
उनीमाथि आर्थिक अपचलनका साथै मनी लाउन्ड्रिङको पनि आरोप छ। यी दुवै घटनामा अमेरिका कानून अनुसार अधिकतम २०/२० वर्ष जेल सजाय हुने प्रावधान छ। - एजेन्सी