शारीरिक र मानसिक तन्दुरुस्तीका लागि व्यायाम गर्छु: रेखा थापा
कोरोना संक्रमण महामारीका कारण अन्य क्षेत्र जस्तै फिल्म उद्योग पनि सुस्ताएको छ। फिल्म हल बन्द छ भने छायांकन लगायत काम रोकिएका छन्। संक्रमण जोखिम हटेर कहिले सामान्य अवस्था आउला र पूर्ववत् काम शुरु होला भन्ने यकिन छैन। झन्डै पाँच महीनायता कलाकारहरु फुर्सदमा छन्। महामारीले पारेको अन्योल लगायतका विषयमा अभिनेत्री रेखा थापासँगको कुराकानी उनकै शब्दमा:
कोभिड-१९ महामारीले सबै क्षेत्रलाई लथालिंग पारिसक्यो। फिल्म क्षेत्रलाई झनै असर गरिरहेको छ। तर, समग्र क्षेत्रको उस्तै हालत भएकाले अहिले हामीलाई यस्तो असर पार्यो, यति घाटा लाग्यो भनेर पिरोलिने स्थिति छैन। हरेक क्षेत्रमा दैनिक बेरोजगार हुनेहरुको संख्या बढिरहेको छ। फिल्म क्षेत्रमा त झन् बन्दाबन्दीको शुरुदेखि नै सबै बेरोजगार छौं।
बीचमा बन्दाबन्दी खुलेपछि अब अवस्था चाँडै सामान्य होला भनेर आशा पलाएको थियो। तर, अहिले संक्रमण झन् तीव्र फैलिएर परिस्थिति जटिल बन्दै गएको छ। पुरानै अवस्थामा फर्किएर काम शुरु गर्ने सम्भावना झनै पछाडि धकेलिएको छ।
आम्दानीको बाटो नहुँदा अहिले सबैभन्दा समस्यामा दैनिक ज्यालादारी गर्ने मजदूरहरु छन्। हाम्रै फिल्म क्षेत्रमा न्यूनतम ज्यालामा काम गर्ने प्राविधिकहरुलाई एकदम ठूलो समस्या छ। विभिन्न व्यक्तिहरुले सहयोग गरिरहनुभएको छ। तर, चारैतिर अन्यौल भएकाले अब कति दिन सहयोग जुटाएर थेग्न सकिएला!
परिस्थितिले रोग र भोक दुवैबाट जोगिनुपर्ने गाह्रो अवस्थामा पुर्याएको छ। अहिले थोरै खाएर भए पनि संक्रमणबाट बचौं भन्नुपर्ने अवस्था छ। सबै जना सजग हुने र सुरक्षित हुन घरैमा बस्नुपर्नेछ।
चाँडै सामान्य अवस्था होस् भनेर कामना गर्नु बाहेक विकल्प छैन। मन बलियो पार्ने, सकारात्मक सोच राख्ने गरौं। म त्यही गरिरहेकी छु। अहिले घरैमा छु। झन् अहिले निषेधाज्ञा लागू भइसकेपछि बाहिर निस्किने कुरा पनि भएन।
यो फुर्सदको वेला आफ्नो स्याहारमा सक्रिय बन्दै व्यायाम गर्ने गरेकी छु।
आफ्नो शरीरप्रति पनि हाम्रो महत्वपूर्ण जिम्मेवारी छ। झन् कोरोनाको वेला शारीरिक र मानसिक रुपमा तन्दुरुस्त हुनैपर्यो। दैनिक व्यायामले दिनभर घरैमा बसे पनि सकारात्मक सोचको विकास हुँदोरहेछ।
प्रस्तुति: नुनुता राई