निषेधाज्ञा लगाइसकेपछि अब के गर्ने ? यस्तो छ विज्ञहरुको सुझाव
निषेधाज्ञा लागू गरेसँगै कोरोना संक्रमण फैलिन नदिन गर्नुपर्ने काममा सरकार अझै पनि केन्द्रित हुन सकेको छैन। बन्दाबन्दीकै बेला जस्तो सरकार अस्पष्ट र अन्योलमा छ।
काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमणको दर बढ्दै गएपछि उपत्यकाका तीन जिल्लामा बुधबार रातिदेखि निषेधाज्ञा लागू गरिएको छ। उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना संक्रमणको जोखिम उच्च बनेकाले निषेधाज्ञाको आदेश जारी गरेका हुन्।
आदेश अनुसार औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु र सेवाका काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट बाहिर निस्कन बन्देज लगाइएको छ। यी काममा बाहेक उपत्यकाका तीन वटै जिल्लामा सवारी साधन पनि सञ्चालन गर्न पाइँदैन । त्यस्तै, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक काठमाडौं उपत्यकाभित्र सवारी साधन प्रवेश गर्न पाउँदैनन् ।
कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को सुझावपछि तीन वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका हुन्। तर, विज्ञहरुले सरकारले निषेधाज्ञा अवधिभर कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा विशेष तयारी नगरे केही समयमै अवस्था नियन्त्रण बाहिर पुग्न सक्ने चेतावनी दिएका छन्।
जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित सरकारले के कारण निषेधाज्ञा जारी गरेको भनेर समेत स्पष्ट पार्न नसकेको बताउँछन्। बन्दाबन्दीमा जस्तै निषेधाज्ञाका नाममा अनावश्यक कडाइ गरिएको र उल्टो भीडभाडलाई प्रोत्साहन गरिएको उनको भनाइ छ।
“सीसीएमसीले सरकारलाई दिंदै आएका सुझाव व्यावहारिक देखिएका छैनन्, त्यसैले यो संयन्त्रलाई खारेज वा विज्ञहरु राखेर पुनर्गठन गर्नुपर्छ।” – डा. समीरमणि दीक्षित, जनस्वास्थ्यविद्
“दिनमा विहान दुई घण्टा पसल खोल्दा झन् भीडभाड बढ्छ” उनी भन्छन्, “त्यसैले सुरक्षाका उपाय अपनाउने गरी पसल खोल्न दिनुपर्छ ।” डा. दीक्षित निषेधाज्ञा जारी गर्ने सीसीएमसीको सुझाव नै अवैज्ञानिक भएकाले त्यसलाई सुधार्नुपर्ने बताउँछन्। “सीसीएमसीले सरकारलाई दिँदै आएका सुझाव व्यावहारिक देखिएका छैनन्” उनी भन्छन्, “त्यसैले यो संयन्त्रलाई खारेज वा विज्ञहरु राखेर पुनर्गठन गर्नुपर्छ।”
उनी आउँदा दिनमा कोरोना परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, अस्पतालमा बेड र अक्सिजनको व्यवस्थापन कसरी हुन्छ भन्ने कुराले मात्र निषेधाज्ञाको औचित्य निर्धारण गर्ने बताउँछन्।
कोरोना संक्रमणले प्रकोपको रुप लिएको इटलीमा शुरुका दिनमा मात्र बन्दाबन्दी गरिएको र पछि स्वास्थ्यका मापदण्ड पुरा गर्नेगरी रेस्टुरेन्टहरु समेत सञ्चालन ल्याइएको थियो। नागरिकलाई घरभित्र थुनेर मात्र कोरोना नियन्त्रण र रोकथाम हुन नसक्ने विज्ञहरुको टिप्पणी छ।
सरकारले जनस्वास्थ्य विज्ञहरुसँग छलफल गरेपछि गएको ६ साउनदेखि लागू हुने गरी करीब चार महीना लामो बन्दाबन्दी अन्त्य गरेको थियो। तर, त्यसवेला नै विज्ञहरुको सुझावलाई बेवास्ता गरी व्यापारीहरुको दबाबमा बन्दाबन्दी खोल्ने निर्णय गरिएको भन्दै आलोचना पनि भएको थियो। बन्दाबन्दी खोल्ने सरकारको निर्णयलाई विज्ञहरुले तत्कालै अव्यावहारिक र अवैज्ञानिक भएको टिप्पणी गरेका थिए।
धुलिखेल अस्पतालको सामुदायिक स्वास्थ्य कार्यक्रम विभागका डा. विराज कर्माचार्य सरकारले निषेधाज्ञा अवधिलाई सदुपयोग गरेर मुख्य तीन कुरामा ध्यान केन्द्रित गर्नुपर्ने बताउँछन्। धेरै कोरोना संक्रमित देखिएका ठाउँ पहिचान गर्नुपर्ने र त्यसका लागि समुदाय स्तरमा गरिने निगरानीलाई अझ प्रभावकारी बनाउनुपर्ने उनको सुझाव छ।
डा. कर्माचार्यका अनुसार, समुदाय स्तरमा कोरोनाभाइरस संक्रमण भए वा नभएको थाहा पाउन र्यापिड स्क्रिनिङ गर्नुपर्छ। समुदायस्तरमा निगरानी प्रभावकारी बनाउन परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउनुपर्ने हुन्छ।
बिरामीको हेरचाह प्रणालीलाई चुस्त अर्को महत्वपूर्ण विषय भएको डा. कर्माचार्यको भनाइ छ। “हेरचाहलाई प्रभावकारी बनाउन लक्षणविनाका संक्रमितलाई घरमै राख्दा थप जोखिम हुन्छ” उनी भन्छन्, “त्यसैले क्वारेन्टिन जस्तै छुट्टै आइसोलेसन सेन्टर बनाएर त्यहीँ राख्ने व्यवस्था गरिनुपर्छ।”
धेरै काेरोना संक्रमित देखिएका ठाउँ पहिचान, समुदायस्तरमा कोरोनाभाइरस संक्रमण भए वा नभएको थाहा पाउन र्यापिड स्क्रिनिङ र समुदायस्तरमा निगरानी प्रभावकारी बनाउन परीक्षण र कट्याक्ट ट्रेसिङ बढाउनुपर्छ ।'' – डा. विराज कर्माचार्य, सामुदायिक स्वास्थ्य कार्यक्रम विभाग, धुलिखेल अस्पताल
उनी उपचार सेवा प्रभावकारी बनाउन रेमडीसिभिर लगायत कोरोना संक्रमितको उपचारका लागि प्रभावकारी देखिएका नयाँ औषधि तत्काल नेपाल भित्र्याएर उपचार गर्ने व्यवस्था मिलाउनुपर्ने बताउँछन्।
कोरोना विशेष बाहेकका अन्य अस्पताहरुमा पनि कोरोना संक्रमितको उपचार हुन थालेपछि स्वास्थ्यकर्मी र अन्य बिरामीहरुमा पनि कोरोनाभाइरसको संक्रमण फैलिन थालेको छ। संक्रमण फैलिएपछि कतिपय अस्पतालले त सेवा नै बन्द गर्नुपर्ने अवस्था निम्तियो।
डा. कर्माचार्य अस्पतालहरुमा कोरोना संक्रमणबाट जोगिने पूर्वतयारी गर्नुपर्ने र त्यसका लागि अस्पतालको क्षमता विकास गर्नुपर्ने बताउँछन्। एउटै अस्पतालमा कोरोना संक्रमित र अन्य बिरामी राखेर उपचार गरिँदा खतरनाक अवस्था आएको उनको टिप्पणी छ।
“अस्पतालमा एउटै भर्याङ, ढोका, कोठा र चर्पी लगायतको प्रयोग गर्दा संक्रमण तीव्र रुपमा फैलिने खतरा रहन्छ” उनी भन्छन्, “त्यसैले प्रत्येक अस्पतालमा कोरोना संक्रमितका लागि न्यूनतम २० प्रतिशत बेड छुट्याउने निर्णय व्यावहारिक छैन, बरु यसले उल्टै जोखिम निम्त्याउँछ।”
संक्रामक रोग तथा आईसीयू विशेषज्ञ डा. प्रभात अधिकारी सरकारले यसअघिको बन्दाबन्दीलाई राम्ररी उपयोग गर्न नसकेको र निषेधाज्ञा अवधिभर राम्रो तयारी नगरे ठूलो विपद्को सामना गर्नुपर्ने बताउँछन्। कोरोना रोकथामका लागि अब समुदायस्तरमा ‘सेरो प्रिभ्यालेन्स टेष्ट’ विधिबाट परीक्षण शुरु गर्नुपर्ने उनको भनाइ छ।
यस्तो परीक्षण अन्तर्गत कुनै पनि व्यक्तिको शरिरमा कोरोनाभाइरस विरुद्ध लड्ने एन्टीबडी बने वा नबनेको थाहा हुन्छ। त्यस्तै, परीक्षण बढाउनका लागि कन्ट्याक्ट ट्रेसिङलाई अझै बढाउनुपर्ने उनी बताउँछन्।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीले हिमालखबरलाई बताए अनुसार अहिले दैनिक २० हजार जनाको कोरोना परीक्षण गर्न प्रयोगशाला क्षमता भए पनि कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन गर्ने जनशक्ति अभावका कारण क्षमता अनुसारको परीक्षण हुनसकेको छैन।
डा. अधिकारी कन्ट्याक्ट ट्रेसिङका लागि अन्य सरकारी कर्मचारीलाई तालिम दिएर खटाउन सकिने र खासगरी भेटेरिनरी चिकित्सकलाई परिचालन गर्न सकिने बताउँछन्।
परीक्षणको दायरा बढाउन डाइरेक्ट पीसीआर लागू गर्न सकिन्छ। तर विज्ञहरुले पटक–पटक सुझाव दिंदा पनि सरकारले डाइरेक्ट पीसीआर लागू गर्न सकेको छैन।
डाइरेक्ट पीसीआरलाई मान्यता दिने काम राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको जिम्मेवारी अन्तर्गत पर्छ।
आइसोलेसनका लागि दौडधुपमा मन्त्रालय
सरकार भने योभन्दा अरु नै काममा केन्द्रित देखिन्छ। स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन महाशाखा प्रमुख डा. विकास देवकोटा लक्षण देखिएका कोरोना संक्रमितलाई राख्न खरिपाटीमा जस्तै अन्य विभिन्न ठाउँमा आइसोलेसन केन्द्र बनाउने विषयमा छलफल भइरहेको बताउँछन् ।
मन्त्रालयमा बिहीबार भएको बैठकमा खरिपाटीसँगै कीर्तिपुर, इचंगु, दहचोक, बोडे लगायतका ठाउँमा चारदेखि पाँच हजार कोरोना संक्रमित राख्ने आइसोलेसन केन्द्र बताउने विषयमा छलफल भएको थियो।
“मेडिकल कलेजलाई पनि लक्षणसहितका कोरोना संक्रमितको उपचार गर्ने गरी उपयोग गर्दैछौं।” – डा. विकास देवकोटा, गुणस्तर मापन महाशाखा प्रमुख,
डा. देवकोटा लक्षणविनाका कोरोना संक्रमित राख्न कलेजका होस्टल, पार्टी प्यालेस लगायतका ठाउँलाई व्यवस्थित गरेर राख्ने तयारी भइरहेको बताउँछन्। त्यस्तै, लक्षण सहितका कोरोना संक्रमित राख्न निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग सहकार्य गर्ने तयारी भएको उनले बताए ।
“कुनै ठाउँमा पाँच वटा अस्पताल भए तीमध्ये दुई अस्पतालमा लक्षणसहितका कोरोना संक्रमितको मात्र उपचार गर्ने गरी व्यवस्था मिलाउनेबारे छलफल भइरहेको छ” उनी भन्छन्, “मेडिकल कलेजलाई पनि लक्षणसहितका कोरोना संक्रमितको उपचार गर्ने गरी उपयोग गर्दैछौं।”
उनका अनुसार, नेपाल मेडिकल कलेज र किष्ट मेडिकल कलेजले कोरोना संक्रमितको उपचार गर्ने ठाउँ बनाउन इच्छा देखाएका छन्।
डा. देवकोटा प्रत्येक प्रदेशलाई करीब दुई महीनाअघि नै आइसोलेसन केन्द्र बनाउन अक्सिजन प्लान्ट राख्ने लगायतको बजेट दिइसकेको बताउँछन्।
स्वास्थ्य मन्त्रालय अन्तर्गत केन्द्रदेखि जिल्लासम्म कोरोना रोकथाम र नियन्त्रणका लागि ‘हेल्थ टेक्नोलोजी असिस्टेन्ट टिम’ को संयुक्त कार्य समूहले काम गरिरहेको डा. देवकोटा बताउँछन्। यो टिमले कोरोना संक्रमितको उपचारमा भइरहेका कमीकमजोरी, जनशक्तिको व्यवस्थापन, नयाँ प्रयोगमा आएको उपचार विधि तथा औषधिको व्यवस्थापन लगायतमा काम गर्छ ।
“संयुक्त कार्य समूहले एमबीबीएस छात्रवृत्तिमा वा एमडी एमएस तह पास गरेकालाई कोरोना अस्पतालमा खटाउने, संक्रमितको उपचार गर्न अभाव देखिएका ठाउँमा सय जना चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवेदन माग्ने, रेमडिसिभिर औषधि नेपाल भित्र्याउन र फाभिपिराभिर औषधि स्वदेशमै उत्पादन गर्न अनुमति दिने जस्ता काम गरिसकेको छ,” हेल्थ टेक्नोलोजी असिस्टेन्ट टिमका सदस्य समेत रहेका डा. देवकोटा भन्छन्।