मन्त्रिपरिषदको निर्णयः विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउने, निषेधाज्ञालाई कडाइ गर्ने
सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेको छ। बिहीबार अवेर सकिएको मन्त्रिपरिषद बैठकले स्वदेश आउन चाहने नेपालीलाई ल्याउने व्यवस्था गर्ने निर्णय गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईका अनुसार, स्वदेश आउन चाहने नेपालीका लागि उडानको व्यवस्था गरिनेछ। नेपाल आएपछि भने सात दिन क्वारेन्टिनमा बस्नुपर्नेछ। “विदेशबाट आउनेहरुले आफ्नै खर्चमा क्वारेन्टिनमा बस्नुपर्नेछ”, मन्त्री भट्टराईले भने।
नेपालबाट विदेश जान समेत दिइने भएको छ। त्यो देशको अवस्था हेरेर जान चाहनेलाई नरोक्ने निर्णय बैठकले गरेको छ।
स्थलगत नाकाबाट आउनेहरुले पनि क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने उनले बताए। उनीहरुले पनि आफ्नै खर्चमा सात दिन क्वारेन्टिनमा बस्नुपर्नेछ। तर, पैसा तिर्न नसक्नेले भने सरकारले व्यवस्था गरेको ठाउँमा क्वारेन्टिनमा बस्नुपर्नेछ।
बैठकले अहिले जारी गरिएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। सीसीएमसीले देशब्यापी बन्दाबन्दी नगर्ने, तर अवस्था हेरेर स्थानीय प्रशासन मार्फत निषेधाज्ञा जारी गर्न सिफारिस गरेको थियो।
राजधानी उपत्यकामा ६ देखि १० हजार आइसोलेसन बेड निर्माण गर्ने पनि बैठकले निर्णय गरेको छ। निजी, सामुदायिक, सरकारी लगायत सबै अस्पतालमा आइसोलेसनको व्यवस्था गर्ने बैठकले निर्णय गरेको हो ।