मनसुन सकिन अझै एक महीना लाग्ने, अहिलेसम्म कति प्रतिशत भयो वर्षा ?
मनसुन अवधि सकिन करीब एक महीना बाँकी रहँदा ७८.७२ प्रतिशत अर्थात् १ हजार १८३.१५ मिलिमिटर वर्षा भएको छ। यो सरदर बर्षा भन्दा २१ प्रतिशत अर्थात् ३१५ मिलिमिटर कम वर्षा हो।
मनसुन अवधिमा १ हजार ५०३ मिलिमिटर वर्षा हुनुलाई सरदर वर्षा भनिन्छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, गत वर्ष ९१.४ प्रतिशत वर्षा भएको थियो। २८ जेठ देखि ७ असोजसम्मलाई मनसुन अवधि मानिन्छ।
तर, कहिलेकाहीं मनसुन ढिलो भित्रिने र मध्य असोजसम्म नै सक्रिय रहने गर्छ। जल तथा मौसम विज्ञान विभागकी सिनियर मेटेरियोलोजिष्ट डा. इन्दिरा कँडेल मनसुन अवधि सकिन अझै ३० दिन बाँकी रहेकाले मनसुन अवधिमा पूर्वानुमान अनुसार सरदर वर्षा हुने सम्भावना कायमै रहेको बताउँछिन्।
८–१० वैशाखमा दक्षिण एशियाका देश सहित विश्व मौसम संगठन जापान र थाइल्याण्डका वैज्ञानिकहरुको सम्मेलनले यस वर्ष दक्षिण एशियाली देशहरुमा सरदर वर्षा हुने पूर्वानुमान गरेको थियो। विभागका अनुसार, ३ साउनसम्म नेपालमा वर्षाको स्थिति सरदरभन्दा बढी थियो। ३० जेठदेखि ३ साउनसम्म मनसुनमा हुने कूल वर्षामध्ये ४५ प्रतिशत अर्थात् ६८७ मिलिमिटर वर्षा भएको थियो।
३ साउन यता एक महीनाको अवधिमा ३३ प्रतिशत वर्षा भएको छ। विभागकी सिनियर मेटेरियोलोजिष्ट कँडेलका अनुसार, अहिले पश्चिम प्रशान्त महासागरमा लालिनाको अवस्था विकास हुने क्रममा रहेको विभिन्न अध्ययन मोडेलले देखाएका छन्।
प्रशान्त महासागरमा लालिनाको अवस्था विकास हुँदा त्यसको प्रभावले नेपाल लगायत दक्षिण एशियाली देशमा वर्षा हुन्छ । “केही मोडेलले लालिनाको अवस्था अहिलेभन्दा बढी विकसित हुँदै जाने देखाएका छन्”, कँडेल भन्छिन् “यस्तो अवस्थामा नेपालमा सरदर भन्दा बढी वर्षा हुनसक्छ । तर, त्यसको विकसित रुपको अनुगमन गर्नुपर्छ, मोडेलहरुमा एकरुपता छैन।”
उनका अनुसार, पूर्वी प्रशान्त महासागरमा औसतभन्दा बढी तापक्रम वृद्धि हुनुलाई एलिनो भनिन्छ भने पूर्वीभन्दा पश्चिम प्रशान्त महासगर औसतभन्दा बढी तात्ने अवस्थालाई लानिना भनिन्छ। प्रशान्त महासागरमा एलिनोको विकास हुँदा नेपालमा सरदरभन्दा कम वर्षा हुन्छ भने लानिनाको विकास भए बढी वर्षा हुन्छ। तत्काल छैन ठूलो वर्षा वर्षा गराउने न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेकाले तत्काल ठूलो वर्षाको सम्भावना छैन।
यद्यपि स्थानीय वायुको प्रभावका कारण केही स्थानमा वर्षा हुने सम्भावना भने कायमै छ। मनसुन देशभर सक्रिय हुने सम्भावना कम छ।
आइसोलेटेड सिस्टम ठाउँ ठाउँमा सक्रिय हुनसक्छ। तर, देश व्यापी रुपमा पानी परेको परै हुने सम्भावना हुने सम्भावना छैन”, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले भने। न्यूनचापीय रेखा नेपाल नजिक हुँदा त्यसको प्रभावका कारण नेपालमा वर्षा हुन्छ।