महात्मा गान्धीको भनाइ दोहोर्याउँदै प्रशान्त भूषणले अदालतमा भने- माफी माग्दिनँ, सजाय स्वीकार्छु
भारतको सर्वोच्च अदालतका विवादास्पद न्यायाधीश अरूण मिश्रले नेतृत्व गरेको तीन सदस्यीय इजलासले आज त्यहाँका प्रसिद्ध अधिकारकर्मी प्रशान्त भूषणलाई अदालतको अवहेलनामा सजाय सुनाउने तय भएको थियो। त्यही उद्देश्यले शुरू भएको सुनुवाइमा भूषणले आफूले अदालत समक्ष माफी नमाग्ने बताउँदै मुद्दाको सुनुवाइमा महात्मा गान्धीले व्यक्त गरेको विचारलाई दोहोर्याइदिए।
भूषणले अदालत समक्ष आफूले गरेका ट्वीटका लागि माफी नमाग्ने बताए। भने- "राष्ट्रपिता महात्मा गान्धीले आफ्नो ट्रयायलमा व्यक्त गरेका धारणा यहाँ दोहोर्याउन चाहन्छु – म दया माग्दिनँ। सदाशयताका लागि पनि याचना गर्दिनँ। अदालतले अपराधका लागि निर्धारण गर्ने जुनसुकै सजायलाई एउटा नागरिकको सर्वोच्च कर्तव्यको रूपमा प्रशन्नतापूर्वक स्वीकार्न आएको छु।"
भूषणले सर्वोच्च अदालत र त्यहाँका प्रधानन्यायाधीशको आलोचना गर्दै १३ र १५ असारमा गरेका दुई वटा ट्वीटका लागि भारतको सर्वोच्च अदालतले उनलाई ३० साउनमा दोषी ठहर्याएको थियो। त्यही मुद्दामा आज उनलाई सजाय निर्धारण गर्ने सुनुवाइ तय भएको थियो।
अदालतको अवहेलना सम्ब्नधी भारतीय कानूनअनुसार, ६ महीनासम्म कैद वा भारतीय रूपैयाँ दुई हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ। भूषणले आफूलाई दोषी पाउने अदालतको ३० साउनको फैसलामाथि पुनरावलोकनको निवेदन दिने बताउँदै आज सजाय निर्धारण गर्न हुने सुनुवाइ स्थगित गर्न माग गर्दै निवेदन दिएका थिए।
तर, अदालतले उनलाई दोषी पाउने फैसला पुनरावलोकन हुने भयो भने निर्धारण गरेको सजाय पनि त्यसैबखत पुनरावलोकन हुनसक्ने भन्दै सुनुवाइ स्थगित गर्न अस्वीकार गरेको थियो।
त्यसपछि शुरू भएको सुनुवाइमा भूषणले महात्मा गान्धीले तत्कालीन ब्रिटिश सरकार नियन्त्रित अदालतलाई दिएको जस्तो चुनौती दिए। त्यसपछि न्यायाधीश मिश्रले भूषणलाई यस्तो बयान फिर्ता लिनका लागि दुई-तीन दिन समय दिने बताए। भूषणले त्यसलाई पनि अस्वीकार गरिदिए। उनले भने- "आफ्नो बयानबारे पुनर्विचार गर्न चाहन्न।"
आफूले सोचविचार गरेरै त्यस्तो बयान दिएको भन्दै उनले केही दिनमा विचार परिवर्तन गर्ने सम्भावना नरहेको र त्यसले अदालतको समय मात्र खेर जाने बताए। यद्यपि अदालतले उनलाई सजाय निर्धारण नहोउञ्जेलका लागि वयानमा पुनर्विचार गर्ने समय दिएको छ।
महान्यायाधिवक्ताले पनि गरे भूषणको प्रतिरक्षा
आजको सुनुवाइमा अचम्मलाग्दो अवस्था त्यतिखेर आयो – जब भारतका महान्यायाधिवक्ता स्वयम्ले प्रशान्त भूषणलाई सजाय हुन नहुने तर्क गरे।
महान्यायाधिवक्ता के के वेणुगोपालले सर्वोच्च अदालतसमक्ष भने- "प्रशान्त भूषणलाई पहिले नै दोषी देखाइसकिएको छ, अब त्यसमाथि उनलाई सजाय दिनु उपयुक्त हुँदैन।"
वेणुगोपालले आफूसँग सर्वोच्च अदालतले लोकतन्त्रलाई असफल पारेको बताउने त्यहाँका पाँच जना न्यायाधीशको सूची भएको बताए। उनी त्यतिमै रोकिएनन् र भने- "मसँग पूर्व न्यायाधीशहरूको बयानको अंश छ, जसले भन्छन्- सर्वोच्च अदालतमा धेरै नै भ्रष्टाचार छ।"
तर, इजलासका न्यायाधीशहरूले महान्यायाधिवक्ता वेणुगोपाल समक्ष भने-"हामीले तिम्रो अनुरोध त्यतिञ्जेल मान्न सक्दैनौं, जबसम्म भूषणले आफ्ना ट्वीटका लागि माफी माग्दैनन्। जबसम्म माफी नमाग्ने आफ्नो अडानमाथि पुनर्विचार गर्दैनन्।"
द वायर र बीबीसीको सहयोगमा।