काठमाडौंका यी ठाउँमा आज थपिए १७४ जना कोरोना संक्रमित
बितेको २४ घण्टामा काठमाडौंमा १७४ सहित उपत्यकामा दुई सय जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडीसीडी)का अनुसार, पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरु काठमाडौंको हात्तिगौडा, पेप्सीखोला, चन्द्रागिरि, रातोपुल, दक्षिणकाली, किर्तिपुर, बुढानिलकण्ठ, बत्तिसपुतली, प्रयागमार्ग, कागेश्वरी लगायत हुन्।
काठमाडौंका लगभग सबैजसो ठाउँमा छिटफुट कोरोना संक्रमित भएको ईडीसीडीले जनाएको छ। इडीसीडीका अधिकारीहरु प्रयोगशालाबाट संक्रमितको ठेगाना, सम्पर्क नम्बर सहितको सुचना नआउँदा पूर्ण विवरण राख्न समस्या परेको बताउँछन्।
ईडीसीडीका तथ्यांक शाखा प्रमुख कृष्णराज पाण्डे, संक्रमित भइसकेका व्यक्ति बारे कोरोना परीक्षण गरेको प्रयोगशालाबाट पूर्ण विवरण नआउँदा कट्याक्ट ट्रेसिङमा ढिलाई हुने गरेको बताउँछन्।
प्रयोगशालाबाट आज ईडीसीडीमा प्राप्त विवरणमा काठमाडौंका १७४ जनाको ठेगाना ‘बागमती काठमाडौं’ मात्र भनेर आएको पाण्डे बताउँछन्।
प्रयोगशालाले कोरोना संक्रमित बारे सुचना पठाएपछि उनीहरुको पूर्ण ठेगाना पत्ता लगाउन ईडीसीडीका अधिकारीहरुले प्रत्येक संक्रमितलाई फोन गर्दै ठेगाना सोध्छन्। “कतिपय संक्रमितको त प्रयोगशालाले फोन नम्बर बिनाको विवरण पठाउँछ, यस्तो अवस्थामा संक्रमित नै सम्पर्कविहीन हुने अवस्था आउँछ” पाण्डे भन्छन्, “संक्रमितको पूर्ण विवरण भएन भने कट्याक्ट ट्रेसिङको काम गर्न समस्या पर्छ।”
कट्याक्ट ट्रेसिङ कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा रहेका शंकास्पद व्यक्ति पहिचान गर्ने काम हो। ईडीसीडीका जनस्वास्थ्य अधिकृत उत्तम कोइराला कोरोना संक्रमितको पूर्ण विवरण नआउँदा राति अवेरसम्म फोन गर्दै ठेगाना सोध्नुपर्ने बाध्यता रहेको बताउँछन्।
“कोरोना जाँच्ने क्रममा आफ्नो ठेगानाको पूर्ण विवरण र सम्पर्क नम्बर अनिवार्य राख्न र प्रयोगशालाले पनि पूर्ण विवरण पठाउन हाम्रो अनुरोध छ” कोइराला भन्छन्।