ब्यांकका कर्मचारीलाई कार्यालय आउजाउ गर्न भोलिबाट नरोकिने
गृह मन्त्रालयले ब्यांक तथा वित्तीय संस्थाका कर्मचारीको आवतजावतलाई नरोक्न निर्देशन दिएको छ। काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर गृह मन्त्रालयले अत्यावश्यक सेवामा पर्ने ब्यांकिङ प्रणाली सुचारु राख्न कर्मचारीलाई कार्यालय आउजाउ गर्न दिने वातावरण बनाउन निर्देशन दिएको हो।
बिहीबार ब्यांकिङ सेवा दिन कार्यालय हिडेका कर्मचारीलाई प्रहरीले उपत्यकाका विभिन्न स्थानमा रोकेको थियो। कर्मचारी बाटामै रोकिएपछि नेपाल ब्यांकर्स संघले बिहीबार सबै ब्यांकका शाखा बन्द गर्ने निर्णय गरेको थियो।
पूर्व सहमतिविपरित प्रहरीले कर्मचारीलाई कार्यालय आवतजावत गर्न रोकेपछि संघ असन्तुष्ट बनेको थियो। मंगलबार साँझ निषेधाज्ञामा पनि ब्यांक तथा वित्तीय संस्थाका सीमित शाखा खोल्न दिने विषयमा स्थानीय प्रशासन, नेपाल राष्ट्र ब्यांक र ब्यांक तथा वित्तीय संस्थाबीच समझदारी भएको थियो।
तर, पूर्व समझदारी विपरित ब्यांकका कर्मचारी प्रहरीले रोकेपछि गृह मन्त्रालयले नयाँ परिपत्र जारी गरेको हो। गृह मन्त्रालयको पत्रमा सर्वसाधारणलाई आधारभूत ब्यांकिङ सेवा प्रवाह गर्ने सन्दर्भमा नेपाल राष्ट्र ब्यांकबाट इजाजत प्राप्त ब्यांक तथा वित्तिय संस्थालाई जारी गरिएको सुचना बमोजिम आधारभुत ब्यांकिङ सेवा सुचारु गर्न आवश्यक समन्वय तथा सहजीकरण गर्न निर्देशन दिइएको व्यहोरा उल्लेख छ।