कैलालीमा आज मध्यरातिदेखि निषेधाज्ञा
कोभिड–१९ को संक्रमण बढ्दै गएपछि कैलालीमा आज मध्येरात देखि निषेधाज्ञा घोषणा गरिएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीले ४ भदौ राति १२ बजेदेखि १४ भदौसम्म निषेधाज्ञा घोषणा गर्ने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने, “हामीले लकडाउनको अभ्यास एक सय २० दिनसम्म ग¥यौं, त्यसपछि केही खुकुलो बनायौं। तर, खुकुलो गर्दै जाँदा मान्छेहरु निर्वाध रुपमा हिँड्ने, सामाजिक दूरी कायम नगर्ने, स्वास्थ्य मापदण्डको पालना नगर्ने जस्ता गतिविधि बढ्यो। त्यसैले अब स्थितिलाई नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरेका हौँ।”
उनले निषेधाज्ञा उल्लंघन भए कफ्र्यू जारी बताए। संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ मा भएको अधिकार प्रयोग गर्दै प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेश जारी गरेका हुन्।
उक्त आदेश कार्यान्वयनका लागि प्रहरीलाई निर्देशन भइसकेको छ। स्थानीय प्रशासन ऐनमा यो आदेशको कसैले उल्लंघन गर्छ भने एक महीनासम्म कैद, ५ सय रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले अत्यावश्यकीय सामग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय बाहेक सवारी सञ्चालनमा रोक लगाइएको निर्णय गरिएको छ।
यो अवधिमा औषधि, खाद्यबस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन पाइने छैन्।