काठमाडौं महानगरका वडा–वडामा संक्रमित, आइसोलेसन नहुँदा सम्हाल्नै हम्मे!
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारसम्मको तथ्यांक अनुसार, काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या २ हजार ४ सय २५ पुगेको छ। उपत्यकाभित्र सबैभन्दा बढी काठमाडौं जिल्लामा १ हजार ९ सय ६३ जना संक्रमित छन् भने ललितपुरमा ३ सय २१ र भक्तपुरमा १ सय ४१ जनामा संक्रमित उपचाररत छन्। उपत्यकामा बिहीबार मात्रै २ सय जनामा संक्रमित पुष्टि भएकोमा काठमाडौं जिल्लामा १ सय ७४ जना संक्रमित भेटिए।
३ भदौ बुधबारसम्म काठमाडौं जिल्लाभित्र काठमाडौं महानगरपालिकामा मात्रै कुल संक्रमितको संख्या ९२८ पुगेको छ। बुधबार मात्रै यो महानगरमा १ सय २७ जना संक्रमित थपिएका थिए। तर, देशकै राजधानी भएको र सबैभन्दा बढी जनसंख्या रहेको काठमाडौं महानगरमा कोरोना विरुद्धको पूर्वतयारी कति कमजोर छ भने, अहिलेसम्म आफ्नो एउटा पनि आइसोलेसन सेन्टर छैन।
दैनिक नयाँ संक्रमित थपिंदै जाँदा उनीहरुलाई उपचारका लागि राख्ने ठाउँ खोज्न जनप्रतिनिधि र स्वास्थ्यका कर्मचारीलाई धौधौ पर्न थालेको छ। संक्रमित बढी भएका वडाका वडाध्यक्षहरू संक्रमित, उनीहरुका परिवार र छरछिमेकीबाट आउने फोनले चौबीसै घण्टा जस्तो व्यस्त बनाउने गरेको बताउँछन्।
महानगरका वडाहरुमा दैनिक नयाँ संक्रमित थपिंदै जाँदा उनीहरुलाई उपचारका लागि राख्ने ठाउँ खोज्न जनप्रतिनिधि र स्वास्थ्यका कर्मचारीलाई धौधौ पर्न थालेको छ। संक्रमित बढी भएका वडाका वडाध्यक्षहरू संक्रमित, उनीहरुका परिवार र छरछिमेकीबाट आउने फोनले चौबीसै घण्टा जस्तो व्यस्त बनाउने गरेको बताउँछन्।
आइसोलेसनको अभावमा जनप्रतिनिधिले संक्रमितहरूलाई घरमै आइसोलेसनमा बस्न सुझाउने गरेका छन्। धेरै जना होम आइसोलेसनमा बसेका पनि छन्। तर, ठूलो परिवार भएका र डेरा लिएर बस्ने संक्रमितहरुलाई घरमा बस्न असहज हुने भएकाले आइसोलेसनको व्यवस्था मिलाउन गाह्रो भएको वडाध्यक्षहरु बताउँछन्।
महानगरले समयमै आफ्नै क्वारेन्टिन र आइसोलेसन नबनाएकाले अहिले समस्या परेको उनीहरू बताउँछन्। पूर्वतयारीका बारेमा छलफल हुँदा ‘उपत्यका मेयर फोरम’ ले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग मिलेर संयुक्त तयारी गर्ने भनिए अहिले अप्ठ्यारो परेको एक वडाध्यक्षले बताए। उनले भने, “मेयरले शुरुदेखि नै वडाहरुलाई आफ्नो व्यवस्था आफूले मिलाउनु भनेको भए जसरी पनि क्वारेन्टिनहरु बनाइन्थ्यो र संक्रमण यति फैलिंदैनथ्यो होला। तर, निर्णय पर्खेर बस्दा आपत् आइलाग्यो।”
कतिपयले आफ्नो वडामा रहेका अस्पतालहरुलाई आइसोलेसन बनाउन समन्वय गरेका छन्। बानेश्वर क्षेत्र पर्ने वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीले आफ्नो वडामा ठूला ४ वटा अस्पताल भएकाले वडाका लागि निश्चित बेड व्यवस्था गरिदिन भनिसकेको बताए।
काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले कोभिडका लागि रु.१० करोड छुट्याइएकोमा राहत बाँड्ने बाहेक महानगरमा केही काम नभएको बताउँछिन्। “शुरुदेखि नै क्वारेन्टिन र आइसोलेसन बनाऔं र आवश्यक परे पीसीआर मेशिन किनेर धेरैको परीक्षण गरुँ भनें, तर उहाँ (मेयर विद्यासुन्दर शाक्य) मान्नुभएन।”
होम आइसोलेसनले झनै जोखिम !
काठमाडौं महानगरका ३२ वटा वडामध्ये सबैमा संक्रमित रहेको महानगरको जनस्वास्थ्य विभागले जनाएको छ। २ भदौसम्मको तथ्यांक अनुसार, कूल संक्रमित ८०१ मध्ये सबैभन्दा बढी वडा नम्बर ३२ कोटेश्वरमा ८० जना छन् भने वडा नम्बर १४ कलंकी क्षेत्रमा ६४ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ। त्यस्तै, वडा नम्बर ३ महाराजगञ्ज क्षेत्रमा ६१, वडा नम्बर १० बानेश्वरमा ५३, वडा नम्बर ४ धुम्बाराही क्षेत्रमा ५२ जना संक्रमित छन्। (हे. इन्फो)
महानगरको कोभिड फोकल पर्सन ज्ञानबहादुर वलीका अनुसार, साउनको मध्यतिर ‘ट्राभल हिस्ट्री’ भएकाहरुमा संक्रमण देखिएको थियो। जसमा भारत तथा उपत्यका बाहिरका प्रदेश २ र ५ बाट आउनेहरुमा बढी संक्रमण देखियो। बन्दाबन्दीको बीचमा र पछि बाहिरबाट महानगरपालिकामा अवैध र अनियन्त्रित रुपमा मानिसहरु भित्रिए। त्यसरी आउनेहरुलाई महानगरले क्वारेन्टिनमा राख्ने व्यवस्था पनि गरेको थिएन। जसका कारण उनीहरुलाई अलग राख्ने र कोरोना पहिचानका लागि स्वास्थ्य परीक्षण गराउने कुरै भएन।
आइसोलेसनको व्यवस्था गर्न नसकेको महानगरले संक्रमितहरूलाई घरमै आइसोलेसनमा बस्न भनेको छ। महानगरले लक्षण नदेखिएका र घरमै बस्न मिल्ने अवस्था भएकाहरुलाई होम आइसोलेसनमा बस्न आग्रह गरेको हो। महानगरको स्वास्थ्य विभागका अनुसार, अहिले करीब १५० जना संक्रमित होम आइसोलेसनमा बसिरहेका छन्।
काठमाडौं उपत्यका प्रवेश गर्नेलाई केही वडाले कडाइ गर्न खोजेका थिए। तर, क्वारेन्टिनमा राख्ने व्यवस्था नभएपछि त्यो संभव हुन नसकेको वडाध्यक्षहरू बताउँछन्। बाहिरबाट आउनेहरूलाई सरकारले होम क्वारेन्टिनमा बस्न आग्रह गरे पनि बसे–नबसेको हेर्ने कुनै संयन्त्र थिएन।
त्यही निर्बाध आवागमन र रोकथाममा भएको चुकका कारण अहिले संक्रमण उपत्यकाभरि फैलिएको छ। आइसोलेसनको व्यवस्था गर्न नसकेको महानगरले संक्रमितहरूलाई घरमै आइसोलेसनमा बस्न भनेको छ। महानगरले लक्षण नदेखिएका र घरमै बस्न मिल्ने अवस्था भएकाहरुलाई होम आइसोलेसनमा बस्न आग्रह गरेको हो। महानगरको स्वास्थ्य विभागका अनुसार, अहिले करीब १५० जना संक्रमित होम आइसोलेसनमा बसिरहेका छन्।
उपत्यका मेयर फोरमले सीसीएमसीसँगको सहकार्यमा कीर्तिपुर, नागार्जुन र बलम्बुमा गरी करीब एक हजार अट्ने क्षमताको आइसोलेसन सेन्टर तयार पारेको छ। यी सेन्टरमा सामान्य लक्षण देखिएका वा घरमा बस्न समस्या हुनेहरुलाई लैजाने गरिएको स्वास्थ्य विभागले जनाएको छ।
होम आइसोलेसनमा हुनेहरुलाई पनि स्वास्थ्यकर्मीहरुले आवश्यक परामर्श दिने गरेको वडा नम्बर १४ की वडाध्यक्ष शोभा सापकोटाले बताइन्। एक हप्तादेखि वडा सिल गरेको बताउँदै उनले भनिन्, “वडाभित्रका अस्पतालहरुलाई आवश्यक पर्दा सहयोग गर्नुपर्छ भनेकी छु।” १४ नम्बर वडासँगै अन्य कतिपय वडाका केही टोल पनि सिल गरिएको छ।
पहिले क्वारेन्टिनमा नराखिंदा शुरु भएको कोरोना संक्रमण अहिले होम आइसोलेसनमा राख्दा फैलिने खतरा बढेको छ। महानगरके ३२ वटा वडामध्ये सबैभन्दा बढी संक्रमित भएको वडा नम्बर ३२ का स्थानीय हरि कार्कीले भन्छन्, “यो वडामा बाहिरबाट आएकाहरुबाटै संक्रमण फैलिन शुरु भएको हो। अहिले पनि लक्षण नदेखिएको र सामान्य मात्र लक्षण देखिएको भन्दै घरमै राख्ने गर्दा धेरैमा फलिने जोखिम छ।”
महानगरका मेयर विद्यासुन्दर शाक्यले चार हजार जनासम्म अट्ने आइसोलेसन बनाउने तयारी भइरहेको बताए। उनले भने, “उपत्यकाभरिका संक्रमितलाई राख्ने गरी चार हजार जना क्षमताको आइसोलेसन बनाउने तयारी हुँदैछ। त्यसैले समस्या पर्दैन।”