विष खुवाइएपछि रुसी विपक्षी नेता नाभाल्नी अचेत, आईसीयूमा उपचार हुँदै
रुसका विपक्षी नेता अलेक्सेइ नाभाल्नीलाई विष खुवाइएको छ। अचेत भएका ४४ वर्षीय नाभाल्नीको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ।
उनकी प्रवक्ता किरा यार्मिशका अनुसार साइबेरियाको टोम्स्कबाट विमानमा मस्को फर्कने क्रममा उनी अचेत भएका थिए। त्यसपछि विमानलाई साइबेरियाकै ओम्स्क शहरमा आपतकालीन अवतरण गराएर उनलाई अस्पताल भर्ना गरिएको छ।
यार्मिशले ट्विट गर्दै नाभाल्नीलाई विष खुवाइएको जनाएकी छिन्। उनका अनुसार साइबेरियाबाट मस्कोका लागि प्रस्थान गर्नुअघि उनले चिया मात्र पिएका थिए। चियामा नै केही मिसाइएको हुनसक्ने उनले आशंका गरेकी छिन्।
यात्राका क्रममा यार्मिश पनि विमानमा नाभाल्नीसँगै थिइन्। त्यति वेला नाभाल्नीलाई अत्यधिक पसिना आइरहेको थियो। यामिशका अनुसार उनले ध्यान अन्त मोडिने भन्दै आफूसँग कुरा गरिरहन आग्रह गरेका थिए।
त्यसपछि उनी उठेर बाथरुम गए। उनी त्यहीँ अचेत भएका थिए। उनको ओम्स्कस्थित अस्पतालमा उपचार भइरहेको तास न्यूज एजेन्सीले जनाएको छ।
उनी अझै अचेत रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको यार्मिशले जनाएकी छिन्। “हाम्रो आग्रहमा प्रहरीलाई बोलाइएको छ”, उनले भनेकी छिन्।
नाभाल्नीले रुसमा भ्रष्टाचारविरोधी अभियानको नेतृत्व गरिरहेका छन्। उनी राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक हुन्।
नाभिल्नीमाथि यसअघि पनि आक्रमण हुँदै आएको थियो। सन् २०१७ मा पनि उनको आँखामा केमिकल हानिएको थियो।
त्यस्तै गत वर्ष थुनामा रहेका उनलाई अचानक अस्पताल भर्ना गरिएको थियो। त्यति वेला पनि उनलाई विष खुवाइएको अनुमान उनका समर्थकको थियो। पछि चिकित्सकले उनलाई गम्भीर प्रकारको एलर्जी भएको भन्दै थुनामै फिर्ता पठाएका थिए।
-अलजजिराबाट