अछाममा बाढीबाट बेपत्ता ११ जना अझै भेटिएनन्
अछामको रामारोशन गाउँपालिकास्थित सैनीबजारमा गएको मंगलबार राति करीब १२ बजे कैलाश खोलामा आएको बाढी बस्ती पस्दा बेपत्ता भएका १७ मध्ये ११ जना अझै भेटिएका छैनन्। ६ जनाको शव भेटिएको छ।
रामारोशन गाउँपालिका–५ सैनीबजारमा राति १२ बजे बाढी पसेको थियो। शव भेटिएकामध्ये तीन जनाको मात्रै सनाखत भएको छ। सैनीबजारका नवीन साउद, चन्द्र साउद र गौरी शाहको सनाखत भएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए।
सैनीबजारबाट बगेकाको शव बान्नीगढी जयगढ र मंगलसेनमा भेटिएको थियो। बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा तीन तथा मङ्गलसेन नगरपालिका–३ मा पर्ने लमतणा र सेरीमा तीन जनाको शव भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख (एसएसपी) मुकेशकुमार सिंहले जानकारी दिए।
पहिचान हुन नसकेका ३ जनाको शव जिल्ला अस्पताल अछाममा राखिएको एसएसपी सिंहले बताए। हराइरहेकाहरुको खोजीका लागि नेपाली सेनाका ७०, नेपाल प्रहरी र शसस्त्र प्रहरीका ३०/३० जना तथा स्थानीयहरु घटनास्थलमा रहेको एसएसपी सिंहले बताए ।