नारायणहिटीमा महारानीको एकान्तवास
सन्दर्भ: पूर्व मुमाबडामहारानी रत्नराज्यलक्ष्मी देवी शाहकाे ९१ औं जन्माेत्सव
नारायणहिटी दरबार भित्रको महेन्द्र मञ्जीलमा एकान्तको जीवन बिताउदै आएकी पूर्व मुमाबडामहारानी रत्नराज्यलक्ष्मी देवी शाहबारे ९ भदाै २०७० को हिमाल खबरपत्रिकामा प्रकाशित आवरण रिपोर्ट।
३० हेक्टर क्षेत्रफलमा रहेको नारायणहिटी दरबार संग्रहालयको पश्चिमतर्फको गेट छेउमा करीब पाँच रोपनी जमीनमा छ– ‘महेन्द्र मञ्जिल’ । अग्ला पर्खालबीचको त्यो मञ्जिलमा सात वर्षदेखि एकान्तवासमा रहेकी पूर्व महारानी रत्न (८५) जम्मा चारपल्ट मात्र बाहिर निस्किइन् । तीनपल्ट आफ्नो जन्मोत्सव मनाउन (४ भदौ) छोरा ज्ञानेन्द्रको निर्मल निवास जाँदा र एकपल्ट स्वास्थ्य जाँच गर्न भक्तपुर क्यान्सर अस्पताल पुग्दा।
२०६२ सम्म प्रत्येक मंगलबार दरबार परिसरको उत्तरतर्फको गणेशथान मन्दिर र एकादशीमा पश्चिम गेट बाहिरको नारायणथान मन्दिर पुगेर पूजा गर्ने उनको बानी पनि २०६३ पछि टुटेको छ।
वैशाख २००८ मा तत्कालीन युवराज महेन्द्रसँग विवाह गरेपछि युवराज्ञी बनेर त्यो मञ्जिलमा प्रवेश गरेपछिका उनका ६२ वर्ष त्यहीं बिते । तर युवराज्ञी, बडामहारानी र मुमाबडामहारानीका वेग्लावेग्लै भूमिकामा उनले त्यहाँ विताएका ५६ वर्षभन्दा निकै फरक छन्, पछिल्ला ६–७ वर्ष।
गणतन्त्र आएपछि ‘महारानी’ को शान र शौकत विगत बनेको छ भने छोरा, बुहारी र आफन्तले दरबार छाडेर नागार्जुन सरेपछि उनको सहारा एकान्त भएको छ । तर, उनले यो एकान्त आफैंले रोजेकी हुन्, विगतसँग सम्बन्धविच्छेद नगर्ने चाहनाले । दरबारलाई संग्रहालय बनाउने निर्णय गरेको गणतान्त्रिक सरकारले पनि उनको त्यो चाहनालाई स्वीकारेकाले उनी त्यहाँ छिन्।
उनको एकान्तवासको न्यास्रो मेट्न सातामा एक दिन छोरा ज्ञानेन्द्र र बुहारी कोमल महेन्द्र–मञ्जिल आउँछन् । नातिनी बुहारी हिमानी पनि छोराछोरी लिएर हरेक हप्ता नै छुट्टै आइपुग्छिन् । भाइ सुशीलशमशेर जबरा र केही आफन्तले पनि उनको न्यास्रो वेलावेला मेटिरहेका छन् । उनको सहयोगमा खटिएका दरबारका एक पूर्वकर्मचारी भन्छन्, “वेलावेला बोलावट हुँदा हामी भित्र गए पनि कामबाहेक अरू कुरा गर्नुहुन्न।”
दिनभर सहयोगमा खटिने दरबारका केही पूर्वकर्मचारी र सैनिक बाहेक दैनिक काममा सघाउने केही महिला त्यहीं बस्छन् । १० जना सशस्त्र प्रहरीलाई कम्पाउण्ड बाहिरको सुरक्षा जिम्मेवारी रहेको ६ दशक पुरानो त्यो घरको रंग उडेर फुङ्ग देखिन्छ भने घरको भित्ता र ढलान ठाउँ ठाउँमा चर्केको छ । नेपाल ट्रष्ट मातहत रहेको पुरातात्विक महत्वको यो मञ्जिलमा रङरोगन–मर्मत ट्रष्टले वा उसको अनुमतिमा मात्र गर्न पाइन्छ।
लैनचौर–लाजिम्पाट सडक विस्तारका क्रममा काटिएको खानेपानीको लाइन नजोडिएपछि नारायणहिटी परिसरभित्रकै सैनिक व्यारेक र संग्रहालयले बोरिङ गाडेका छन् भने नेपाल ट्रष्टको स्वामित्वमा रहेको मञ्जिलमा बोरिङ गाड्न नपाइने हुँदा ट्याङ्करबाट पानी ओसारिन्छ।
फरक पहिचान
नेपालको २४० वर्षे राजसंस्थाको इतिहासमा महेन्द्र पृथ्वीनारायणपछि सम्भवतः सबैभन्दा शक्तिशाली राजा थिए भने रत्न उनकी प्रिय रानी । महेन्द्रले रत्नका नाममा कैयौं दरबार, शिक्षण संस्था र संघसंस्था स्थापना गर्नुले पनि देखाउँछ, उनीहरूको प्रेम।
राणा प्रधानमन्त्री जुद्धशमशेरका नाति जर्नेल हरिशमशेरका दुई छोरा र ८ छोरीमध्ये अन्तरी हुन्, रत्न । उनकी दिदी (हरिशमशेरकी काहिंली छोरी) इन्द्रको बिहे जुद्धशमशेर श्री ३ हुँदै युवराज महेन्द्रसँग भएको थियो । तीन छोरा र तीन छोरीकी आमा इन्द्रको सातौं पटकको गर्भपतन गराउन खोज्दा २००७ मा मृत्यु भएको थियो।
गर्भपतनको कारण अहिलेसम्म नखुले पनि दरबारका भित्रियाहरू पहिल्यै ६ छोराछोरी भइसकेकाले सातौं सन्तान आवश्यक नभएको महसूस गरेका महेन्द्रले नै गर्भपतन गराउने औषधि खुवाएपछि अत्यधिक रक्तस्राव भएर इन्द्रको मृत्यु भएको बताउँछन् । इन्द्रको मृत्युले विक्षिप्त बनेका महेन्द्र रत्नसँग प्रेमसम्बन्ध गाँसिएपछि मात्र पुरानै अवस्थामा फर्किएको उनीहरूको भनाइ छ।
तर, राजा त्रिभुवन रत्न र महेन्द्रबीच विवाह गराउन तयार थिएनन् । श्री ३ हुँदाको जुद्धशमशेरको व्यवहारबाट आक्रोशित त्रिभुवन आफू शक्तिमा आएको त्यो वेला उनकै छोरीलाई भावी महारानी बनाउन चाहँदैनथे । त्यही विषयले बाबु र छोराको टक्कर बढ्दै जाँदा रत्नसँग विवाह गर्न नपाए युवराज पद त्याग गर्ने मनस्थितिमा पुगेर महेन्द्रले राजीनामा पत्र नै तयार पारेको दरबार जान्नेहरू बताउँछन् । राजा त्रिभुवन पनि महेन्द्रलाई हटाएर माइलो छोरा हिमालयलाई युवराज बनाउनेसम्मको तयारीमा पुगेको पनि उनीहरूको भनाइ छ ।
तत्कालीन गृहमन्त्री वीपी कोइरालाको पहलमा प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले धेरै सम्झएपछि त्रिभुवन केही नरम बने पनि महेन्द्र र रत्नको विवाहमा सहभागी भने भएनन् । थोरै आफन्तको उपस्थितिमा नागार्जुन दरबारमा विवाह गरी रत्नलाई महेन्द्र–मञ्जिलमा भिœयाउँदाको क्षणमा त्रिभुवन दरबारमा देखा परेनन्।
त्यसरी दरबार प्रवेश गरेकाले रत्नका शुरूका दिन असहज नै रहे । तर त्यसको दुई वर्षपछि नै राजा त्रिभुवनको निधन भएर महेन्द्र राजा बनेपछि उनका लागि पासा पल्टे जस्तै भयो । घरानाकी छोरी उनलाई रानीको भूमिका निर्वाह गर्न गाह्रो हुने कुरै थिएन । जसलाई इतिहासविद् पुरुषोत्तमशमशेर जबरा पुष्टि गर्दै भन्छन्, “पृष्ठभूमि र दरबार पस्दाका अनुभव जे जस्तो भए पनि बडामहारानी भएपछि उहाँबाट शान्त, शालीन र भद्र व्यवहार नै प्रदर्शन भयो।”
राणा परिवारकी चञ्चले छोरी उनले बडामहारानी भएपछि परिपक्व र जिम्मेवार भूमिका निर्वाह गरेको महेन्द्र राजा हुँदा योजना, अर्थ सचिव र राष्ट्र ब्याङ्कका गभर्नर रहेका पूर्व परराष्ट्रमन्त्री डा. भेषबहादुर थापा पनि बताउँछन् । रानी भए पनि शासनबाट सधैं टाढा रहेको बताउने थापा त्यो बेलाको प्रसङ्ग सुनाउँदै भन्छन्, “कामको सिलसिलामा दरबारमा जाँदा राजासँग खानपिन र व्यावहारिक कुरा हुँदासम्म सँगै बसे पनि सरकारी कामकाजको प्रसंग उठ्नासाथ उहाँ त्यहाँ बस्नुहुन्नथ्यो ।”
रत्नकी बुहारी राजा वीरेन्द्रकी पत्नी रानी ऐश्वर्यको स्वभाव भने ठीक उल्टो देखियो । क्याबिनेट बैठकमा राजाको कुरा राजाकै अघि काट्ने र आफूले भने अनुसार गर्न दबाब दिने ऐश्वर्यको स्वभाव भएको त्यो वेलाका एक मन्त्री बताउँछन् । जानकारहरूका अनुसार, महेन्द्र–रत्नबीच भने ‘एक जनाले देश र अर्कोले घर चलाउने’ समझ्दारी रहेकाले रत्नले राजकाजमा वास्ता र हस्तक्षेप नगरेकी हुन्।
सामाजिक काम मार्फत पतिलाई सहयोग गर्ने चाहना भने रत्नमा रहेको देखिन्छ । अनाथ र असहाय बालबालिकाको आश्रयका लागि नेपाल बाल संगठन स्थापना गर्नु त्यसकै उदाहरण थियो । राजधानी बाहिर घुम्न जाँदा महेन्द्रसँगै गए पनि त्यहाँका भेटघाटमा सहभागी हुनुको साटो उनी एक्लै बस्थिन्।
पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट भन्छन्, “राजकाजमा हात हाल्दा पतिलाई गाह्रो पर्ने र आफू पनि अनावश्यक विवादमा तानिने कुरा उहाँले बुझेको देखियो ।” त्यस्तो समझ्दारी र साथ उनीहरूबीच पछिसम्म देखियो । सुदूरपश्चिम भ्रमणमा जाँदा महेन्द्रलाई हृदयघात हुँदा उनी साथमा थिइन् भने २०२७ मा शिकार खेल्न टीकापुर गएको वेला उनलाई गोली लाग्दा महेन्द्र साथमै थिए।
रत्नको सबैसँग मीठो बोल्ने, अरूको समस्यामा चासो राख्ने र ममता दर्शाउने स्वभाव रहेको सम्झ्ँदै पूर्वपरराष्ट्रमन्त्री डा. थापा भन्छन्, “म अध्ययनका निम्ति अमेरिकाको क्यालिफोर्निया राज्यमा छँदा राजासँग त्यहाँ पुग्नुभएकी रत्नले मलाई यतिका वर्षसम्म यहाँ बस्दा आमाको सम्झ्ना आउँदैन भनेर सोधेपछि आमा र मातृभूमिको सम्झ्नाले मलाई भावुक बनाएको थियो।”
अमेरिकाबाट फर्केपछि अर्थसचिव भएको बेला अल्सरले सताएका उनलाई पोखराको रत्न मन्दिरमा भएको दिवाभोजमा रत्नले ‘तपाईंलाई अल्सर भएकाले चिल्लो पीरो नहालेको छुट्टै खाना बनाउन लगाएको छु’ भनेको पनि सम्झ्ना छ।
पीडाको खात
महेन्द्रसँग प्रेम–विवाह हुनुअघि चञ्चल र मनमौजी स्वभावकी रत्नको सिनेमा, मनोरञ्जन र लाउन—खानमा विशेष रुचि थियो। २३ वर्षको उमेरमा विवाह गरेर २५ वर्षमा रानी बनेकी उनी २०२८ मा राजा महेन्द्रको हृदयघातबाट निधन भएपछि ४२ वर्षमै विधवा बनिन् । छोराबुहारीलाई राजकाज पूर्ण रूपमा सुम्पेर उनी ‘लो–प्रोफाइल’मा बस्नुको एउटा कारण त्यो पनि हुन सक्छ।
तर, २०४५ सम्म उनी सामाजिक काममा (विभिन्न जिल्ला भ्रमण गएर अनाथ बालबालिकालाई ल्याएर पाल्ने, बालमन्दिर घुम्ने) मा भने संलग्न रहिरहिन् । शाही नेपाली सेनाको राजदल गण (आर्टिलरी गण) को ‘कर्नेल इन चिफ’को मानार्थ उपाधि पाएकोले त्यो वेलासम्म गणको वार्षिकोत्सवमा पनि उनी पुग्थिन् । २०४६ को राजनीतिक परिवर्तनपछि भने उनका ती गतिविधि पनि बन्द भए । त्यसरी, उनको सक्रियता पूरै बन्द हुनुमा बुहारी तत्कालीन रानी ऐश्वर्यासँग सम्बन्ध बिग्रनुलाई अर्को कारण मानिन्छ।
विदेशी महिलासँग सम्बन्ध गाँसेका धीरेन्द्र शाहको अधिराजकुमार पदवी खोस्नुहुँदैन भनेर धारणा राखेकाले ऐश्वर्या उनीसँग रिसाएकी थिइन् । वीरेन्द्र र धीरेन्द्रबीच राम्रो सम्बन्ध रहेकाले ऐश्वर्यले जे भने पनि वीरेन्द्रले धीरेन्द्रको पद नखोस्लान् भन्ने विश्वासमा रहेकी उनी आफूले सोचेको नभएपछि निराश भइन् । ऐश्वर्यचाहिं विदेशीसँग सम्बन्ध राखेर कान्छी बहिनी प्रेक्षालाई दुःख दिएकोमा धीरेन्द्रसँग आक्रोशित भएकी थिइन्।
२०४६ को परिवर्तन सहज बनाएकोमा रत्न वीरेन्द्रसँग असन्तुष्ट रहेको चर्चा चल्ने गरे पनि जानकारहरू त्यो मान्दैनन् । उनीहरूका अनुसार, त्यसअघि नै उनी राजनीतिबाट टाढा हुँदै पूर्ण रूपमा आध्यात्मिक बनिसकेकी थिइन् । यस्तैमा १९ जेठ २०५८ मा भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश विनाश, अर्का छोरा धीरेन्द्र, दुई छोरी शान्ति र शारदा सहितका आफन्तहरू मारिएपछि उनलाई विरक्तितर्फ अरू अग्रसर बनायो।
दरबार हत्याकाण्ड हुँदा दरबारमै रहेका त्यहाँका एक पूर्व कर्मचारीका अनुसार, घटनाको वेला त्रिभुवन सदनकै अर्को कोठामा रहेकी रत्नले गोलीको आवाज सुनेपछि ‘यो दीपेन्द्रले आज पनि बिरालो मारेछ’ भनेकी थिइन् । तर, त्यो वेला दीपेन्द्रबाट भयंकर दुर्घटना भइसकेको थियो।
१६ वर्षको उमेरमा आमा गुमाएपछि दुई बहिनी र एक भाइलाई उनले आमा झैं स्याहार गरेर हुर्काएकी थिइन् । महेन्द्रसँग बिहे गरेपछि पनि उनले दिदीका तीन छोरा र तीन छोरीका निम्ति सन्तान नै नजन्माउने निधो गरिन् । दरबारस्रोतका अनुसार, बिहेको केही दिनमै महेन्द्रसँग भारत गएर उनले स्थायी बन्ध्याकरण गराएकी थिइन्।
पीडा पचाउने स्वभाव
दुःख र पीडा अरूसँग नभन्ने स्वभाव थियो, रत्नको । आफ्नो पीडा सुनाउँदा अरूलाई पीडा थपिन्छ भन्ने उनको मान्यता रहेको देखिन्छ । पूर्वपरराष्ट्रमन्त्री थापा भन्छन्, “राजकीय सुख भोग्ने मात्र नभएर मानवीय दुःख सहँदै अरूलाई माया दिनसक्ने खूबी उहाँमा देखियो।”
दरबार हत्याकाण्डका वेला वीरेन्द्र सहित गोली लागेका घाइतेहरूलाई अस्पतालमै रातभरि कुरेकी रत्न शव उठाएपछि मात्र अस्पतालबाट दरबार फर्केकी थिइन् । राजपरिवारका सदस्यको पोस्टमार्टम गर्ने÷नगर्ने अन्योल पनि उनकै निर्णयले टुङ्गिएको थियो।
“दरबार हत्याकाण्डको भोलिपल्ट छाउनी पुग्दा रातभर नसुतेर सुन्निएको चेहरा, रोएर सुन्निएका आँखा तर बिल्कुल शान्त र अविचलित भावमा नहडबडाइ उहाँले निर्देशन दिएको देखें” पूर्वराजपरिवारसँग नजिक रहेका पूर्व गभर्नर हिमालयशमशेर जबरा भन्छन्, “अरू भए त्यो पीडा सहन नसकेर सिद्धिइसक्थे।”
पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट पनि रत्नको चेहरा हेरेर उनको मनको विरक्ति बताउन नसकिने बताउँछन् । उनी भन्छन्, “जतिसुकै असह्य पीडा हुँदा पनि शिवले कालकूट विष पिए जसरी उहाँ पीडा पिएर बाँच्न सक्नुहुन्छ ।” दिदीलाई अहिले पनि हरेक साता भेट्ने भाइ सुशीलशमशेर जबरा पनि अरूलाई दुःख देखाउने र भन्ने बानी दिदीमा नरहेको बताउँछन् । “अनुहारमा दुःख पढ्न कहिल्यै सकिएन, जति पनि दुःख सहन सक्ने मान्छे हो” जबरा भन्छन्, “नभए त आजसम्म कसरी बाँचिबक्सन्थ्यो होला र !”
स्वास्थ्य र खानपान
४ भदौमा ८५ वर्ष पूरा हुने रत्नको स्मरणशक्ति राम्रै रहे पनि पछिल्ला दिनमा स्वास्थ्यस्थिति त्यति राम्रो छैन । हरेक बिहीबार दिदीले बोलाएपछि भेट्न गइरहने भाइ सुशीलशमशेर जबरा भन्छन्, “हातखुट्टा दुखेर हिंडडुल गर्न सकिनँ भनेर पछिल्लो दुई सातादेखि मलाई बोलाइबक्सेको छैन ।” उनलाई पहिलेदेखि नै ‘थाइराइड ग्लान्ड’को समस्या थियो । तर उनका निजी चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठ रत्न स्वस्थ र स्वास्थ्यप्रति समेत पूर्ण सचेत रहेको बताउँछन्।
“हरेक हप्ता म निवासमै गएर जाँच गर्छु, त्यस्तो समस्या केही छैन” डा. श्रेष्ठ भन्छन्, “पछिल्लो समय कहिलेकाहीं हातगोडा दुख्ने समस्या देखिए पनि यो उमेरमा त्यस्तो दुखाइ हुन्छ नै, त्यसबाहेक अरू समस्या छैन ।” उनले भिटामिन, कलस्ट्रोल लगायतका औषधि भने सेवन गरिरहेको बताए।
हरेक साता उनको साधारण स्वास्थ्य परीक्षण र हरेक वर्ष पूर्ण चेकजाँच हुन्छ । दुई वर्षअघि खुट्टामा गिर्खा देखिएपछि चेकजाँचका लागि ज्ञानेन्द्रले भक्तपुर क्यान्सर अस्पताल लगेको बाहेक उनले अस्पताल जानुपरेको छैन।
महेन्द्रको निधनपछि पूर्ण शाकाहारी बनेकी उनको खानपिन सामान्य छ । बिहान एक गिलास दूध पिउने, दिउँसो २–३ बजे हल्का खाना खाने, बेलुकी ५–५:३० बजे चिया पिउने र राति ९–९:३० बजे हल्का खाना खाने । फलफूल र सागसब्जी उनलाई विशेष मन पर्छ । पहिले दरबार परिसरमै गाई पालिए पनि अहिले गाई पाल्ने ठाउँ नभएको र दरबारका गाई सरकारले अधिग्रहण गरेपछि निर्मलनिवासबाट हरेक बिहान पाँच लिटर दूध आउँछ । नुहाइधुवाई र नित्यकर्म आफैं गर्ने उनी भान्से बजैले पकाएको ‘चोखो’ खान्छिन् । भान्सा र अरू काममा सघाउन केही सहयोगी महिला पनि त्यहाँ खटिएका छन्।
राजसंस्था रहेको भए ४ भदौमा राष्ट्रिय बाल दिवससँगै उनको जन्मोत्सव धूमधामले मनाइन्थ्यो । उनकै पहलमा अनाथ र असहाय बालबालिकालाई आश्रय दिन २०२१ मा नेपाल बाल संगठन र बाल मन्दिरको स्थापना भएपछि ४ भदौलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाउन थालिएको थियो । २०६३ मा गणतन्त्र स्थापना भएपछि बाल दिवस २९ भदौमा सारिएको छ।
‘नभए कसरी बाँच्नुहुन्थ्यो र !’
सुशीलशमशेर जबरा (८०), भाइ
हामी दुई दाजुभाइ र ८ दिदीबहिनी थियौं । रत्न अन्तरी (छैटौं) दिज्यू हो । २००२ मा कलकत्तामा मुमा स्वर्गे हुँदा म ११ वर्षको, बहिनी ८ वर्षकी र उहाँ १६–१७ वर्षको थियौं । उहाँभन्दा जेठी पाँच वटै दिज्यूको बिहे भइसकेकाले रत्न दिज्यूले नै हामीलाई मुमा जसरी हुर्काइबक्स्यो । अरू दिज्यूहरूसँग त हेलमेल नै भएन । बिहेपछि माइतीमा आउने चलन नभएकाले हप्तामा एक दिन भेट्न बोलाइबक्सन्थ्यो।
काहिंली दिज्यू (इन्द्र) का छोराछोरी उहाँले नै हुर्काइबक्स्यो । नातिनातिना पनि हुर्काइबक्स्यो । भिनाजु (महेन्द्र) स्वर्गे हुँदा, दरबार हत्याकाण्ड र राजसंस्था अन्त्य हुँदा कति पीडा भयो होला । तर, हामीलाई दुःख र पीडा कहिल्यै सुनाइबक्सेन । सकेसम्म दुःख नदेखाउने, आफैंभित्र राख्ने बानी छ।
अहिले पनि हरेक हप्ता भेट्छु । कहिल्यै पनि मलाई यस्तो दुःख छ भनेर सुनाइबक्सन्न । उहाँको चेहरामा दुःख पढ्न कहिल्यै सकिएन । भित्र दिलमा के पो छ, तर बाहिर देखिने गरी पीर गरेको मैले पाएको छैन । धेरै दुःख सहन सक्ने मान्छे हो । सहन नसक्ने भए त आजसम्म कसरी बाँचिबक्सन्थ्यो होला र!
‘उहाँको चेहरामा दुःख देखिन्न’
कीर्तिनिधि विष्ट (८८), पूर्व प्रधानमन्त्री
महेन्द्रको मृत्युपछि पीडादायी जीवन शुरू भए पनि दुःख देखाउने बानी बिल्कुलै देखिएन । आफू दुःखी भए पनि अरूलाई दुःखको आभास नै हुन नदिने । रानी भएको दम्भ पनि कहिल्यै देखिएन । अरूको सम्मान र प्रतिष्ठाको पूर्ण ख्याल गर्ने स्वभाव छ।
मैले जति संगत गरें र बुझें, उहाँमा दुर्गुण देखिनँ । आज एक्ली हुनुहुन्छ । यस्तो पीडा सहेर चार पर्खालभित्र बस्दा उहाँ कति विरक्तिनुभएको होला । पीडा र दुःखलाई भित्र राखेर बाहिर सामान्य किसिमले चल्न सक्ने उहाँको विशेषतालाई हामीले कदर गर्नै पर्छ।
‘राष्ट्रमाताको गुण’
– विश्वबन्धु थापा (८६), पूर्व गृहमन्त्री
मिलनसार, अरूको हेरचाह गर्ने, दुःखसुख हेर्ने स्वभाव छ । दिदीका छोराछोरी हुर्काउनुभो, ती सबैले आफ्नै आमाको व्यवहार गरे, डाह कसैमा देखिएन । उहाँका छोराछोरी नभएका र दिदीका छोराछोरी हुर्केकाले बाल संगठन खोल्ने अवधारणा ल्याइएको हो । उहाँको स्वभाव अनुसार ‘राष्ट्रकै आमा’ बनाउन चाहेका थियौं हामीले।
खान बोलाउने, आफैं खाना पकाएर खुवाउने, सुख–दुःख सोधपुछ गर्ने र उदार मन थियो उहाँको । अरू कति रानीहरू कन्जुस र पैसा सोहोर्ने पनि देखिए । जति संगत भयो, त्यस अनुसार नराम्रो स्वभाव कहिल्यै पनि महसूस भएन । दरबार हत्याकाण्डपछि चाहिं मानसिक रूपमै विक्षिप्त बने जस्तो लाग्छ, तर त्यो पीडा बाहिर देखाउनुभएन।
‘अरू भए सिद्धिन्थे’
हिमालयशमशेर जबरा (८६)
त्रिभुवनको विरोधकै बीच बिहे गर्ने हिम्मत गर्नु, दिदीको बच्चा हुर्काउने र आफ्नो बच्चा नपाउने प्रण गर्नु चानचुने साहस थिएन । बिहे भएको छोटो समयमै पतिवियोग व्यहोर्नुभो, दरबार हत्याकाण्डमा वंशनाश भयो, राजसंस्था गयो, यो सबैलाई सहेर व्यहोर्नुभो । जीवनमा जुन उतारचढाव आए, त्यस अनुसारको पीडा असह्य हुनुपर्ने हो । अरू भए यस्तो पीडामा सिद्धिइसक्थे, तर उहाँमा सागरको जस्तो अद्वितीय सहनशीलता देखियो ।
राजकाजका सवालमा गर्न नहुने कुरा उहाँबाट भयो भनेर हाम्रो ठूलो सर्कलमा कहिल्यै सुनिएन । कहिल्यै विवादमा पर्नुभएन । इतिहासमा विवादमा नपर्ने रानीहरू विरलै होलान्, तर उहाँ अपवाद हुनुहुन्छ । सानोमा सिनेमा हेर्ने र खानपिनको शौखिन उहाँको जीवनमा जुन वियोगान्त अवस्था देखियो र बज्रपात भयो, त्यस्तो कसैलाई नहोस् ।