विश्वमा कोरोनाभाइरसका सक्रिय संक्रमित झन्डै ६५ लाख, एक प्रतिशतको स्वास्थ्य जटिल
विश्वभर उपचाररत कोरोनाभाइरस संक्रमितको संख्या ६४ लाख ८५ हजार छ। तीमध्ये करीब एक प्रतिशत अर्थात् ६१ हजार ७०० को स्वास्थ्य अवस्था मात्र जटिल छ।
सक्रिय संक्रमितमध्ये ६४ लाख २४ हजारको स्वास्थ्य सामान्य वा मध्यम छ। तीमध्ये धेरै घरैमा वा सामुदायिक ‘आइसोलेसन’ मा छन्। स्वास्थ्य अवस्था जटिल भएका भने अस्पतालमा उपचाररत् छन्।
जटिल स्वास्थ्य अवस्थाका सबैभन्दा धेरै बिरामी अमेरिकामा छन्। त्यसपछि भारत र ब्राजिलमा छन्।
अमेरिका कुल ५७ लाख संक्रमितमध्ये २४ लाख ६२ हजार अझै संक्रमणमुक्त हुने प्रतीक्षामा छन्। करीब १७ हजार संक्रमित गम्भीर छन्।
उता भारतमा उपचाररत् करीब ६ लाख ८६ हजार संक्रमितमध्ये ८ हजार ९४४ को अवस्था गम्भीर छ। ब्राजिलमा सात लाख ३४ हजार सक्रिय संक्रमितमध्ये आठ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर छ।
यसैबीच भारतमा हिजो बुधबार मात्र ६९ हजार नयाँ संक्रमित भेटिएका छन्। त्यहाँ अब कुल संक्रमितको संख्या २८ लाख ३५ हजार पुगेको छ। तीमध्ये ५३ हजार ९९४ जनाको मृत्यु भएको छ।