आजदेखि लागू हुने निषेधाज्ञा उल्लंघन गरे हुनसक्छ एक महीनासम्म कैद
काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आज राति १२ बजेदेखि १० भदौ राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका छन्। काठमाडौंमा कोरोना संक्रमणको दर बढ्दै गएपछि तीन वटै जिल्लामा निषेधाज्ञाको आदेश जारी गरिएको हो।
तीन वटै जिल्लाका सुरक्षा समितिको संयुक्त बैठकले निषेधाज्ञामा सर्वसाधारणले के गर्न सक्छन् र उनीहरूका कस्ता क्रियाकलापमा रोक लगाउने हो भन्नेबारे निर्णण गरेर प्रमुख जिल्ला अधिकारीले त्यसैअनुसार आदेश जारी गरेका हुन्।
उक्त आदेश अनुसार औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन मिल्दैन। यी काममा बाहेक उपत्यकाका तीन वटै जिल्लामा निजी र तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न पाइँदैन।
त्यस्तै स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक काठमाडौं उपत्यकाभित्र सवारी साधन प्रवेश गर्न पाउँदैनन्। अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न पनि पाइँदैन।
प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेका निषेधाज्ञामा समेटिएका ती आदेशको उल्लंघन गर्नेलाई कडा कारवाही हुनसक्छ। ती आदेशहरू संक्रामक रोग ऐन, २०२० अनुसार जारी भएकाले आदेशको उल्लंघन गर्नेलाई पनि सोही ऐनअनुसार कारवाही हुने भएको हो।
उक्त ऐनको दफा ३ मा त्यसरी दिइएको आदेश नमान्ने व्यक्तिलाई एक महीनासम्म कैद वा एक सय रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने प्रावधान छ।
यही ऐनअनुसार आदेश कार्यान्वयन गर्न खटिएका अधिकृत व्यक्तिहरूको काममा बाधा पुर्याउनेलाई अझ कडा सजाय हुनसक्छ। सोही ऐनको दफा ३ को उपदफा २ मा त्यसरी बाधा पुर्याउने व्यक्तिलाई ६ महीनासम्म कैद वा रू. ६०० सम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ।
तीन वटै जिल्ला प्रशासन कार्यालयहरूले यसपटकको निषेधाज्ञामा कुनै पनि प्रकारको सवारी पास जारी नगर्ने बताएका छन्। जसका कारण यसअघिको बन्दाबन्दीमा जस्तो प्रशासन कार्यालयबाट पास लिएर निर्वाध सवारी चलाउन पनि पाइने छैन।
सवारी साधन चलाउन पासको जारी गर्ने व्यवस्था हटाइए पनि खाद्यवस्तु, औषधी, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार (प्रेस), फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने काममा जान भने सवारीको प्रयोग गर्न पाइनेछ ।
जसका लागि पूर्वस्वीकृति चाहिने छैन, तर आफू यसरी तोकिएकै कामका लागि जान लागेको हो भन्ने कुनै न कुनै प्रमाण चाँही सुरक्षाकर्मीले सम्बन्धित व्यक्तिबाट खोज्नेछन्।