कोरोना अपडेटः जहाँ कोरोनाका कारण अहिलेसम्म मृत्युदर शून्य छ
विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ लाख ७१ हजार ६३५ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बुधबार साँझसम्म २ करोड १७ लाख ५६ हजार ३५७ जना कोरोनाबाट संक्रमित भएका छन् । तर, कोरोनाका कारण हरेक दिनजसो मृत्यु बढिरहेका वेला यस्ता देशहरू पनि छन्, जहाँ कोरोनाबाट अहिलेसम्म भएको मृत्यु शून्य छ ।
यस्तो देशको सूचीमा नेपाल सदस्य रहेको दक्षिणी एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य राष्ट्र भुटान पनि छ । त्यसैगरी मंगोलिया, कम्बोडिया, डोमिनिका लगायत २३ देशहरू कोरोना भाइरसबाट शून्य मृत्यु हुने देशको सूचीमा पर्दछन् । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार कोरोना भाइरसको संक्रमणको अवस्था एक अंकमै सीमित रहेका देशहरूको संख्या ३ छ । यद्यपि ती देशहरू कम जनसंख्या भएका समुन्द्रका टापु देशहरू हुन् ।
संक्रमितको संख्या ३ मात्र हुने देश एन्गिल्ला हो । १५ हजार जनसंख्या रहेको उक्त टापु देशमा ६६२ जनामा परीक्षण गरिएकोमा ३ जना संक्रमित देखिएका थिए । जहाँ तीनै जना संक्रमित निको भइसकेका छन् ।
त्यसैगरी सेन्ट पिएरे मिकेलनमा अहिलेसम्म ५ जना मात्र संक्रमित भेटिएका छन् । २४२ बर्ग किलोमिटर क्षेत्रफल रहेको उत्तर अमेरिकी महादेशमा पर्ने यो देशको जनसंख्या ५ हजार ७९० छ । बेलायती भर्जिन टापुहरू भएको देशमा ९ जना मात्र संक्रमित भेटिएका छन् । यस देशमा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । ३० हजार २५८ जनसंख्या रहेको यस देशमा १ हजार ८९० जनाको परीक्षण गरिएको थियो ।
त्यसैगरी १० देखि १ सय जना संक्रमित हुने देशहरूको संख्या १९ रहेको छ । एकसय भन्दा बढी संक्रमित नहुने देशमा फिजि, फल्कलेण्ड दिप, डोमिनिका, लावस लगायत छन् ।
यीमध्ये डोमिनिकामा १८, फिजिमा २८, लावसमा २२ र फल्कलेण्डमा १३ जना संक्रमित भेटिएका छन् भने ती देशहरूको मृत्युदर शून्य छ ।
त्यसैगरी १ सयदेखि २ सयसम्म संक्रमित हुने देशको संख्या सात रहेको छ । त्यसमा भुटान पनि पर्दछ । भुटानमा अहिलेसम्म १४६ जना मात्र संक्रमित भेटिएका छन् । ७ लाख ७२ हजार जनसंख्या रहेको भुटानमा अहिलेसम्म ६३ हजार ११२ जनाको परीक्षण गरिएको छ ।
त्यस्तै पश्चिम यूरोपमा अवस्थित अर्को देश मोनाकोमा अहिलेसम्म १४५ जना संक्रमित भेटिएका छन् । ३९ हजार २७९ जनसंख्या रहेको यस देशले ३८ हजार २०९ जनाको कोरोना परीक्षण गरेको छ । उत्तर अमेरिका महादेशमा पर्ने बारबाडोसमा १५२ जना संक्रमित भेटिएका छन् । २ लाख ८७ हजार जनसंख्या रहेको यस देशले १४ हजार ६७४ जनामा परीक्षण गरेको छ ।
त्यसैगरी संक्रमितको संख्या १ हजार भन्दा तल हुने देशहरूको संख्या ३१ रहेको छ । संक्रमितको संख्या १ हजार रहने देशहरूमा मंगोलिया, म्यानमार, पपुवान्यूगिनि, गुनेयना, बुरुन्डी, चाड र भियतनाम लगायत रहेका छन् । भियतनाममा अहिलेसम्म ९८३ जना मात्र संक्रमित भेटिएका छन् भने २५ जनाको कोरोनाका कारण मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । ३ लाख ३१ ह्जार २१२ बर्ग किलोमिटर क्षेत्रफल रहेको भियतनामको जनसंख्या ९ करोड ७४ लाख रहेको छ ।
नेपाल भन्दा क्षेत्रफलको हिसावले दुइ गुणा ठूलो र तीन गुणा बढी जनसंख्या रहेको भियतनाममा १५ फेब्रुअरीमा १६ जना संक्रमित भेटिएका थिए । कूल संक्रमितमध्ये भियतनाममा ५३३ जना निको भइसकेका छन् । भियतनामले ७ लाख २३ हजार भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरेको छ ।
मंगोलियामा अहिलेसम्म २९८ जना मात्र संक्रमित भेटिएका छन् । ३२ लाख ८५ हजार जनसंख्या रहेको मंगोलियाले ४५ हजार ७३० जनामा परीक्षण गरेको थियो । यस देशमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएको छैन । एसियाकै अर्को देश म्यानमारमा ३७५ जना मात्र संक्रमित भेटिएका छन् । ५ करोड ४४ लाख जनसंख्या भएको यस देशमा १ लाख ३७ हजार जनाको परीक्षण भएको थियो । म्यानमारमा अहिलेसम्म कोरोनाका कारण ६ जनाको ज्यान गइसकेको छ । त्यस्तै बुरुन्डीमा ४१६, गुयनामा ७०९ जना संक्रमित भेटिएका छन् ।
कोरोना संक्रमितको संख्या १ हजारदेखि ५ हजारको बीचमा हुने देशको संख्या ४९ रहेको छ । यी देशको सूचीमा थाइल्याण्ड, श्रीलंका, न्यूजिल्याण्ड, जोर्डन, उरुग्वे, युगाण्डा, यमन, एंगोला, टियूनिसिया, सोल्भाकिया, मोज्जाम्बिक, क्यूवा, कंगो, नाम्विया, हंगेरी लगायतका देशहरू छन् । थाइल्याण्डमा ३ हजार ३८१ जनामा मात्र कोरोना पुष्टि भएको छ । ६ करोड ९८ लाख जनसंख्या रहेको थाइल्याण्डले ७ लाख ४९ हजार जनामा परीक्षण गरिसकेको छ । थाइल्याण्डमा गत फेब्रुअरी १५ मा ३५ जना संक्रमित भेटिएका थिए । श्रीलंकाले १ लाख ९५ हजार जनामा कोरोना परीक्षण गरेकोमा २ हजार ९०२ मा कोरोना पुष्टि भएको छ ।