दैलेखमा पहिरोले पुरिएर दुईको मृत्यु, एक बेपत्ता
दैलेखका विभिन्न ठाउँमा मंगलबार राति पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।
ठाँटीकाँध गाउँपालिका ४ गैरागाउँमा मंगलवार राति पहिरो जाँदा १२ वर्षीय बालक जनक कठायत र भगवतीमाई गाउँपालिका ५ कट्टिमा ६६ वर्षीय बलबहादुर रावतको ज्यान गएको छ।
पहिरोमा परी ठाँटिकाँध गाउँपालिका ४ का लोकेश कठायत अझै बेपत्ता रहेका छन्। बेपत्ता भएका लोकेशको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी हरिबहादुर ओलीका अनुसार ठाँटीकाँध गाउँपालिका ४ गैरागाउँमा गएको पहिरोमा परेका तीन जना घाइतेहरूको उपचारको लागि हेलिकप्टरमार्फत उद्धार गरिएको छ। पहिरोमा परी घाइते भएका ४२ वर्षीय टीकाराम कठायत, उनका छोरा १५ वर्षीय सम्शेर कठायत र २३ वर्षका बम्म नेपालीलाई उपचारको लागि हेलिकप्टरमार्फत सुर्खेत पठाइएको छ।
उद्धार गरी सुर्खेत पुर्याइएका घाइतेहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भैरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए।
पहिरोमा परी घाइते भएकी ४० वर्षीया धनसरा कठायत र ३४ वर्षीय महेन्द्र शाहीलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ।ठाँटिकाँध गाउँपालिका दैलेखका अध्यक्ष धिरवहादुर शाहीले बताएका छन्।
मंगलबार राति आएको अविरल वर्षासँगै गएको पहिरोले ठाँटिकाँध गाउँपालिका ४ मा के–कति क्षति ग¥यो भन्ने यकिन नभएको र घाईतेहरूको उद्धारसंगै वेपत्ताको खोजि कार्य र क्षतिको विवरण संकलन कार्य जारी रहेको गाउँपालिकाका अध्यक्ष शाहीले जानकारी दिए।
अध्यक्ष शाहीका अनुसार अविरल वर्षातका कारण मंगलबार राति गैरागाउँमा गएको पहिरोले ७ घर बगाएको र प्रभावित परिवारहरूको व्यवस्थापनको काम भइरहेको छ।
बाढीपहिरोका कारण ठाँटिकाँध गाउँपालिका ४ मा रहेको गैरागाउँ लघु जलविद्युत आयोजना पुर्णरुपमा क्षति भएको छ। २०६९÷०७० मा निर्माण गरिएको सो लघु जलविद्युत आयोजनमा पुर्णरुपमा क्षति भएपछि साविक विशाला गाविस वडा नं. ८ र ७ का बासिन्दाहरू प्रभावित भएका छन्।
यस्तै दैलेखको नौमूले गाउँपालिकामा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ। नौमूले गाउँपालिका ४ कालिकाका २१ वर्षीय भविलाल बुढामगरको खोलाले वगाउँदा ज्यान गएको हो।