भारतले दियो 'रेमडीसिभिर' निर्यातको अनुमति, भोलि नेपाल पठाउने तयारी
अनुसन्धानको क्रममा कोरोनाका सिकिस्त बिरामीको उपचारमा प्रयोग भइरहेको रेमडीसिभिर औषधी नेपाल ल्याउनका लागि आवश्यक अन्तिम तयारी पूरा भएको छ।
भारतीय कम्पनी सिप्लाबाट औषधी आयात गर्ने अनुमति पाएको नेपालको यतिकेम डिस्ट्रीब्युटर प्रालिका कार्यकारी अध्यक्ष प्रभुराज वैद्यले उक्त औषधी बिहीबारसम्म भारतबाट लोड गरेर नेपालका लागि पठाउने तयारी भइरहेको बताएका छन्।
वैद्यका अनुसार आजै सिप्लाले रेमडीसिभिर औषधी निर्यात गर्न भारत सरकारबाट अनुमति पाएको र त्यहाँबाट भोलिसम्ममा नेपालका लागि औषधी लोड गरेर पठाइनेछ।
उनले भने, “तर नेपाल आइपुग्न भने अझै चार-पाँच दिन लाग्नेछ । रक्सौलहुँदै वीरगञ्जबाट उक्त औषधी नेपाल भित्र्याइनेछ।”
यतिकेमले सिप्लासँग दुई हजार भायल रेमडीसिभिर मागेकोमा अभावका कारण कम्पनीले पहिलो चरणमा पाँच सय भायल मात्र पठाउँदै छ।
यतिकेमका अनुसार उक्त औषधीको मल्य नेपालमा करिब रू. ६,५०० पर्नेछ। औषधी व्यवस्था विभागले सिप्लासहित भारतीय कम्पनी हेटेरो र माइलनलाई पनि रेमडीसिभिर औषधी आयातको अनुमति दिइसकेको छ।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बाँकी दुई वटा कम्पनीले पनि औषधी बुक गरिसकेको र ल्याउने तयारीमा रहेको बताए।
हेटेरोबाट औषधी आयात गर्ने जिम्मा पाएको भेभिओस्का प्रतिनिधि बिजय अग्रवालका अनुसार कम्पनीले जहाजबाट आज साँझ वा भोलिसम्ममा उक्त औषधी पठाउँदैछ। “हामीले पाँच सय भायल औषधीको अर्डर पठाइसकेका छौं,” अग्रवाल भन्छन्, “कम्पनीले औषधी तयार पारेर कुुरियरलाई जिम्मा दिइसकेको छ।”
नेपालमा नयाँ औषधी आयात गर्न विभागको अनुमति लिनुपर्ने व्यवस्था छ। उनी औषधी कहिले आउँछ भन्ने कुरा जहाजको उपलब्धतामा भर पर्ने बताउँछन्। माइलनबाट औषधी आयात गर्ने जिम्मा पाएको सिनर्जी डिष्ट्रिब्युटरले पनि जहाजको उपलब्धताको आधारमा औषधी ल्याउने जनाएको छ।
नेपाल ल्याइसकेपछि उक्त औषधीलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नियमन रहेर उसले सिफारिस गरेका अस्पताल र बिरामीहरूमा मात्र प्रयोग गरिनेछ। परिषद्ले रेमडीसिभिरलाई अनुसन्धान गर्ने प्रयोजनका लागि मात्र प्रयोग गर्दैछ।