प्रदेश-२ का आन्तरिक मामिला मन्त्री कोरोनामुक्त, भन्छन्, ‘विद्यार्थी जीवनपछि फेरि भाँडा माझें’
प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव कोरोना संक्रमण मुक्त भएका छन्। २१ साउनमा कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेको १५औं दिनमा मन्त्री यादव कोरोना मुक्त भएका हुन्।
मन्त्री यादवको १५ दिनको आइसोलेसन अनुभवबारे हिमालखबरसँगको कुराकानी उनकै शब्दमा ः
म विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार आइसोलेसनमा बसें। त्यसैले होला मेरो परिवारमा संक्रमण फैलन पाएन। शुरुदेखि नै दैनिक रुटिन बनाएँ।
बिहान उठेपछि डेढ दुई घण्टा नियमित शारीरिक व्यायाम गरें। त्यसपछि घरेलु औषधिहरू खाएँ। ज्वानु, बेसार, तुल्सीको पात, अदुवा हालेर धेरै बेर पकाएर दिनको कम्तीमा ३/४ पटक नियमित ‘कराहा’ बनाएर खाएँ।
यसरी घरेलु जडिबुटीहरूलाई धेरै बेर पकाएको कुरालाई हाम्रो तिर कराहा भनिन्छ। कोठा, बाथरुम पटकपटक सफा गरिरहेँ। विद्यार्थी जीवनपछि भाँडा माझ्ने काम छुटेको थियो। अहिले फेरि गर्न पाउँदा अवसर जस्तो लाग्यो।
हामी पुरुषहरू सकेसम्म यस्तो काममा ध्यान दिँदैनौं तर यो काम जान्नैपर्ने रहेछ भन्ने कोरोनाले पनि सिकायो। भान्सामा सँधै गर्नुपर्ने यो काम गर्दा महिला दिदीबहिनी, भाउजु, श्रीमती आमा आदि महिला सदस्य मात्रैलाई लगाउने चलन छ।
एक त यो काम पुरुष सदस्यहरूले गर्दा घरायसी कामको बाँडफाँड भयो, अर्को, यो दैनिक जीवनसँग जोडिएको कुरा जान्नुपर्ने आवश्यकता पनि हुन्छ। त्यसैले सानैदेखि सबैले सिक्ने सिकाउने गर्नुपर्ने रहेछ।
मलाई त लाग्छ, कतिपय होम आइसोलेसनमा बस्नेहरूलाई भाँडा माझ्ने, नियमित आफू बसेको कोठा, बाथरुम नियमित सरसफाइ गर्ने कामले दिक्क पनि लाग्यो होला। तर मलाई दैनिक यो काम गर्न पाउँदा १५ दिन एकदम इन्जोय गरेँ।
यो काम सबैले जान्नुपर्ने काम हो। म घरको माथिल्लो तलामा बसेँ। कोही नजिक नआए हुन्थ्यो भन्ने म चाहन्थें तर परिवारका सदस्यहरू बोल्न खोज्ने, नजिक आउन खोज्ने हुँदा रहेछन्। होम आइसोलेसनमा बस्नेहरूको यो चुनौती हो जस्तो लाग्यो मलाई।
त्यसैले जो संक्रमित छौं, उसैले कडा नियम बनाउने र अरुसँग नजिक नै पर्नुहुँदैन। परिवारका सदस्यले पनि १० दिन नबोल्दा, नजिक नजाँदा नै फाइदा हुन्छ भन्ने बुझिदिनुपर्छ। र, संक्रमित हुने व्यक्तिले सकेसम्म आफूलाई व्यस्त राख्नुपर्छ।
रुटिन बनाएर शारीरिक व्यायाम, खानपान, सरसफाइ र अध्ययन तथा अनलाइनबाट कुराकानी गरेर गर्न मिल्ने काममा व्यस्त राख्न सक्यो भने हामी तनावमा नआई कोरोनालाई जित्न सक्छौं।
प्रदेश २ को लागि आवश्यक पर्ने नयाँ रणनीति बनाउनका लागि मैले फोन र अनलाइन (भर्चुअल) बैठकहरूमा सहभागीता जनाएँ।
कतिपय कुराकानीबाट हुने मन्त्रालयको काम पनि भयो। हाम्रो प्रदेशमा कोरोनाबाट मुक्ति दिलाउन अब नयाँ रणनीति बनाउनुपर्छ भन्ने छलफल भएको छ।
म भोलिदेखि काम शुरु गर्छु र कस्तो रणनीति बनाउने बारेमा छलफल गर्छौं। तीनै तहको सरकार मिलेर अब कोरोनाबाट मुक्ति पाउने बाटो खोज्नुपर्नेछ।