आइसोलेसन अनुभवः आत्मबल नै रै’छ कोरोनालाई जित्ने औषधि
कोरोनाभाइरसको संक्रमण पुष्टि भएको शुरूआती दिनमा यो अनौठो रोगप्रति स्वाभाविक रूपमा डर र संशय थियो। मन बलियो पारे पनि कताकता कोरोनासँग हार्छु कि भन्ने लाग्न थालेको थियो। लगातारको ज्वरो, खानामा अरुचि, केही खाए शौचालय गइहाल्नुपर्ने बाध्यता र शारीरिक कमजोरीले गलाएको थियो।
आइसोलेसनको बसाइ ८ दिन कटेपछि भने केही सुधार आउन थाल्यो। एघारौं दिन पुग्दा शरीरमा जाँगर बढेर आएको छ। ज्वरो हराएको छ, खानामा रुचि बढेको छ।
यसबीचका भोगाइ र कोरोनाभाइरससँग लड्न गरेका प्रयास सबैसँग बाँड्न मन लागेर लेख्दैछु।
गएको २१ साउनको दिउँसो मोरङको ग्रामथान गाउँपालिकास्थित मोतीपुरको तकियाझोडामा भवनाथ पौडेलको कृषि फार्म अवलोकन गर्न अग्रज पत्रकार मोहन भण्डारी (हाल संक्रमित), पत्रकार मित्र सञ्जीव खनाल, माल्दाजु (नाम गोप्य, हाल उनी पनि संक्रमित) र म एउटै कारमा गएका थियौं। त्यस दिनको चर्को घाम र उखरमाउलो गर्मीमा पौडेलले दिएको तात्तातो खीर खाएर फर्किएपछि मलाई पखाला लाग्ला जस्तो भयो। दुई पटक शौचालय गएपछि शरीर गल्न थाल्यो। हात, खुट्टा र जीउ कट्कट् खान थाल्यो।
बेलुका ज्वरो बढ्दै गएर राति १२ बजे १०१ फरेनहाइटमा पुगेपछि सिटामोल खाएँ। २२ गते बिहानदेखि सामान्य ज्वरो दिनभर थियो। अपराह्नतिर मित्र सञ्जीवलाई बोलाएर स्वाब परीक्षण गरियो। ल्याबका प्राविधिकलाई आग्रह गरेर दुवैको स्वाबको परीक्षण छिटै गर्न लगाएकाले २३ गते बेलुका खनालजी र म संक्रमित भएको जानकारी आयो।
म संक्रमित भएको थाहा पाए लगत्तै म डेरामा बसेको विराटनगर महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष निश्चल अर्यालले फोन गरेर भने, “आइसोलेसन खाली छैन। तिम्रो घर इटहरी होइन ? अब घरै जाऊ।”
राति खाना खाँदै गर्दा मित्र बाबुराम भण्डारीले पहिलो फोन गरेर मलाई संक्रमित भएको जानकारी गराए। त्यो खबरले मेरा हातगोडा कामे, खान ठिक्क परेको गाँस बिसाएर लामो सास लिएँ, र तरकारी थप्न आएकी श्रीमती कवितालाई इशाराले परै जान भनें।
ल्याबका चिनेका मित्रलाई फोन गरेपछि संक्रमित नै भएको पक्का भयो। फेसबूक स्टाटसमा आफू संक्रमित भएको लेखेर केही दिनयता आफ्नो सम्पर्कमा आएका साथीहरुलाई पीसीआर परीक्षण गराउन आग्रह गरें।
म संक्रमित भएको थाहा पाए लगत्तै म डेरामा बसेको विराटनगर महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष निश्चल अर्यालले फोन गरेर भने, “आइसोलेसन खाली छैन। तिम्रो घर इटहरी होइन ? अब घरै जाऊ।” मैले घरमा पाको उमेरकी आमा र ससाना केटाकेटी भएकाले जान नसक्ने जानकारी गराएँ।
वडाध्यक्ष अर्याललाई मेरो प्रश्न अधुरै छ। यदि विराटनगर घर भएको मानिस इटहरीमा बस्छ र कोरोना संक्रमित भएर अर्यालको वडामा भएको घरमा आएर बस्न चाहन्छ भने उनले अनुमति देलान् ?
निदाउन गाह्रो भए पनि त्यो रात जसोतसो कटाएँ। बिहानदेखि लगातार फोन आउन थाले। हरेक व्यक्तिले मलाई हौसला दिइरहेका थिए, आत्मबल बढाउन मद्दत गरिरहेका थिए। मैले फेसबूकमा लेखेको स्टाटसबाट केही स्थानीय अनलाइन मिडियाले सकारात्मक समाचार बनाएछन्। पत्रकार कमल रिमाल र सञ्जीव खनालले आफूलाई संक्रमित भएको सार्वजनिक गरेर अरुलाई सचेत गराएको समाचार थियो।
२४ गते बिहान आदरणीय सान्दाइ (हामीले बोलाउने नाम) ले फोन गरे। उनले न हौसला दिए, न त ढाडस। फोन उठाउने बित्तिकै एकोहोरो पड्किए, “के हो तिमीलाई प्रचार चाहिएको ? फेसबूकमा लेख्ने, समाचार बनाउने। देश–विदेशमा प्रचार खोजेको हो?”
उनको भनाइले नमज्जा लाग्यो। उनीसँगको कुरा छोट्याएर फोन बिसाएँ।
म घरको तल्लो तलामा बस्ने र घरबेटीसँग सम्पर्क नहुने भएकाले डेरामै आइसोलेसनमा बस्ने चाहना थियो। तर, घरबेटीले बस्न नदिएपछि २४ साउन राति ९ बजे महानगरले वडा नम्बर १९ स्थित बैजनाथपुर हेल्थपोष्टमा त्यसै दिनबाट संचालनमा ल्याएको आइसोलेसनमा गएँ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र कानून मन्त्री हिक्मत कार्कीले फोन गरेर नआत्तिन आग्रह गर्दै उपचारमा सहयोग गर्ने आश्वासन दिए। मैले मेरी श्रीमतीको पनि स्वाब लिएर तत्कालै रिपोर्ट दिलाउन दुवैलाई आग्रह गरें। त्यही अनुसार श्रीमतीको रिपोर्ट आउँदा नेगेटिभ देखियो।
शनिबार दिनभर श्रीमतीको रिपोर्ट कुर्ने क्रममा घरधनी मसँग रिसाएको खबर साथी विक्रम लुइँटेलले फोन मार्फत जानकारी दिए। मेरा घरबेटी महानगरपालिकाका वडा सदस्य हुन्। उनले महानगरमा फोन गरेर मलाई तत्कालै आइसोलेसनमा लैजान भनेका रहेछन्। म घरको तल्लो तलामा बस्ने भएकाले घरबेटीसँग सम्पर्क हुँदैन। डेरामै आइसोलेसनमा बस्ने मेरो चाहना थियो। तर, पूरा नभएपछि २४ साउन राति ९ बजे महानगरले वडा नम्बर १९ स्थित बैजनाथपुर हेल्थपोष्टमा त्यसै दिनबाट संचालनमा ल्याएको आइसोलेसनमा गएँ।
मेरा ज्वाइँ हैदर अली (नगरपालिकाका जनस्वास्थ्य निरीक्षक) ले मलाई एउटा मात्रै पलङ भएको कोठा उपलब्ध गराएर सहयोग गरे।
सहज बसाइ, दुःखद भोगाइ
वरिपरि हरियो धान लहलह भएको खेतको बीचमा रहेको आइसोलेसनको एक कोठामा म एक्लै छु। जोडिएको कोठामा रहेका संचारकर्मी मित्रद्वय बाबुराम भण्डारी र जितेन्द्र ठाकुरले वेलावेला हँसाउँछन्। उनीहरुसँग रामरमाइलो गर्न म पनि मिसिन्छु।
२५ साउनबाट मलाई ज्वरो बढ्यो, खानामा अरुचि हुन थाल्यो। जबर्जस्ती खाने प्रयास गर्थें। नयाँ आइसोलेसन भएकाले स्वास्थ्य सहायता दिन थालिएको थिएन। २७ साउनमा पहिलो पटक मेडिकल अफिसर चिकित्सक र स्वास्थ्यकर्मी आएर सबैको समस्या बुझे। यहाँ रहेका झण्डै २० जनामध्ये म नै बढी अस्वस्थ थिएँ। आएको चौथो दिनमा मलाई ज्वरो रोक्ने सिटामोल र पेटका लागि पेन्टोप्राजोल दिइयो।
त्यसपछि हरेक दिन एक पटक उनै चिकित्सक आएर समस्या सुन्थे र सिटामोल, पेन्टोप्राजोल र जीवनजल खान सुझाउँथे। म दिनदिनै शिथिल हुँदै गएको थिएँ। अन्न निलिन छाडेको थियो। बिहानदेखि बेलुकासम्म ८ पटक शौचालय गइसकेको थिएँ। मेरी स्वास्थ्यकर्मी श्रीमतीले औषधिका नाम त भन्थिन्, तर आइसोलेसनमा चिकित्सकले अनुमति नदिई ल्याउन पाइँदैनथ्यो। यही स्वास्थ्य चौकीमा दरबन्दी भएकी बहिनी शर्मिला निरौला (फुपूकी छोरी) ले पनि चिकित्सकले नभनी औषधि दिन नमिल्ने बताइन्।
२५ साउनबाट मलाई ज्वरो बढ्यो, खानामा अरुचि हुन थाल्यो। जबर्जस्ती खाने प्रयास गर्थें। नयाँ आइसोलेसन भएकाले स्वास्थ्य सहायता दिन थालिएको थिएन। २७ साउनमा पहिलो पटक मेडिकल अफिसर चिकित्सक र स्वास्थ्यकर्मी आएर सबैको समस्या बुझे। यहाँ रहेका झण्डै २० जनामध्ये म नै बढी अस्वस्थ थिएँ।
चिकित्सक प्रज्वल खतिवडा चाहिं सिटामोल र पेन्टोप्राजोलले नै ठीक हुन्छ भन्थे। मलाई बढी डोजको औषधि दिन आग्रह गर्दा उनले मानेनन्। आइसोलेसनमा बस्दा बढी डोजको औषधि खान नहुने उनको सुझाव थियो। विराटनगरका वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलसँग आफ्ना समस्या राख्दा उनले एन्टीबायोटिक एजिथ्रोमाइसीन खान सुझाव दिए। तर, आइसोलेसनमा आउने डा. खतिवडाले त्यसमा स्वीकृति दिएनन्।
मित्र मुकेश पोखरेलले नियमित फोन गरेर हौसला दिइरहेका वेला अर्का हिमालखबरकर्मी लक्ष्मी बस्नेतले स्वास्थ्य समस्याका बारेमा बुझिन्। उनले सहकर्मी रामु सापकोटा मार्फत काठमाडौंका डा. अनुप बास्तोलासँग कुरा गर्ने वातावरण मिलाइन्। डा. बास्तोलाले एन्टिबायोटिक नखान सुझाव दिए। पेटको समस्या कोभिड–१९ कै कारण भएको बताउँदै उनले चिन्ताका कारण पेट दुखेको दाबी गरे। दिनभर साथीहरुसँग हाँसेर बिताए पनि आइसोलेसनका तीन रात निदाउन नसक्दा चिन्ता गरेरै कटाएको थिएँ।
कोरोना संक्रमण भएपछि झण्डै एक हजार जनाको फोन उठाएँ होला, तर सबैभन्दा बढी आत्मबल बढाउने फोन हिमालका सम्पादक किरण नेपालको थियो। योग, प्राणायाम, व्यायाम, गुर्जो र बेसारबारे सही सुझाव पाएँ।
अधिकांश फोनहरुमा प्रश्न मात्रै आउँथे। कसरी सर्यो ? लक्षण केके छ ? कहाँ कहाँ जानुभएको थियो ? बेसार पानी कत्तिको खाइन्छ ? गुर्जो छ कि छैन ? यस्ता प्रश्न दोहोरिइरहन्थे। हरेकलाई एउटै कुरा जवाफ दिंदादिंदा थाकेको थिएँ।
आत्मबलको टेको
बिरामी भएर लखतरान हुँदा समेत मैले आइसोलेसनमा दिइएको भन्दा अरु औषधि नपाएको अवस्थामा पनि कोरोनालाई परास्त गर्दै गएँ। त्यसका लागि सबैभन्दा ठूलो कुरा मेरो आत्मबल नै थियो। राति निद्रा नलाग्दा र उठेर शौच गर्न जाने शक्ति नभएको वेला पनि हिम्मत हारिनँ।
एक मनले कोरोनासँग हार्दैछु जस्तो लाग्थ्यो। अर्को मनले जित्छु भन्ने हुन्थ्योे। गुर्जो, बेसार, जिरा, मेथी, ज्वानो, लसुन, प्याजको सेवन अझ बढाएँ। दिनमा तीन पटक तातो पानीको बाफ लिएँ। त्यति नै पटक मनतातो पानीले कुल्ला गरेर घाँटी सफा गरें। स्याउ, काजु र बदाम बल गरेर खाएँ। रुचि नहुँदा नहुँदै जोड दिएर बिहान दूध र अण्डा पनि खाएँ। सकिनसकी बिहान-बेलुका व्यायाम गरें।
३१ साउन बिहानदेखि ज्वरो कम हुन थाल्यो। बल गरेर खाएको थोरै खानेकुरा पच्न थाल्यो। ३२ साउनमा खाना अलि बढी खाएँ भने व्यायाम पनि बढी गर्न सकें। १ भदौमा आइपुग्दा ममा रहेको कमजोरी हराइसकेको छ। भोक लाग्न थालेको छ भने खाएको पच्न थालेको छ। अब पीसीआर परीक्षण गर्ने हो भने नेगेटिभ रिपोर्ट आउनेमा विश्वस्त छु।
एक मनले कोरोनासँग हार्दैछु जस्तो लाग्थ्यो। अर्को मनले जित्छु भन्ने हुन्थ्योे। गुर्जो, बेसार, जिरा, मेथी, ज्वानो, लसुन, प्याजको सेवन अझ बढाएँ। दिनमा तीन पटक तातो पानीको बाफ लिएँ। त्यति नै पटक मनतातो पानीले कुल्ला गरेर घाँटी सफा गरें। स्याउ, काजु र बदाम बल गरेर खाएँ।
विराटनगरमा अहिले पनि ५०० जति संक्रमित आइसोलेसन नभएर घरमै बसेका छन्। म बसेको आइसोलेसनमा बस्ने विराटनगर गुद्री बजारका एक व्यक्तिका अनुसार, उनको ५ दाजुभाइको संयुक्त परिवारका ११ जना संक्रमित भएर घरमै बसेका छन्।
२ भदौको बिहान मेयर भीम पराजुलीका सहयोगी तथा सञ्चारकर्मी कौशल निरौलाले १० दिन पुगेकाको स्वाब लिने तयारी भएको जानकारी गराएका थिए। त्यसै अनुसार हिजो साँझ मेरो स्वाब संकलन भइसकेको छ। भोलितिर मेरो रिपोर्ट आउनेछ र संक्रमणमुक्त भएको देखिएर घर जाने आशामा छु।
बदलियोस् सोच
आइसोलेसनमा मेरो छिमेकी कोठामा ब्याङ्कका मेनेजर छन्। उनका श्रीमती र ५ वर्षीया छोरी संक्रमित भएर पनि डेरामै छन्। विराटनगर ३ पिपलचोकका एक घरबेटीले उनीहरुलाई बाहिरबाट साँचो लगाएर थुनेर राखेका छन्। चाहिएको आवश्यक सामान भने घरबेटीले किनेर ल्याइदिन्छन्। घरभित्र बसेका संक्रमितबाट घरबेटी यति डराए, भाडामा बस्नेलाई उनले बन्धक बनाए।
यो समस्या विराटनगरका धेरै घरको साझा हो। मेरा घरबेटीले आइसोलेसनमा जानुअघि पटक पटक फोन गरेर कहिले निस्कने भन्दै सोधेका थिए। अब म कोरोनामुक्त भएर डेरामा फर्कने तयारीमा छु। तर, मेरा घरबेटीले मलाई स्वीकार्लान् त भन्नेमा शंका छ। संक्रमणमुक्त भएपछि रोगसँग लड्न सक्ने क्षमता शरीरमा विकास भइसकेको हुनाले फेरि सहजै संक्रमण हुन सक्दैन।
कोरोना संक्रमणमुक्त भइसकेका व्यक्तिलाई पनि अहिले समाजले हेला गर्ने गरेको छ। कोरोनामुक्त भएका मानिसमा रोग प्रतिरोधी क्षमता बढी हुन्छ भन्ने सन्देश समाजमा फैलाउन सके आइसोलेसनबाट घर फर्किएकाहरुले उचित सम्मान पाउनेछन्।