‘महामारीबीच धेरै देशले आन्तरिक उडान खुलाइसके, हामी पनि खोलिहालौं’ (भिडिओसहित)
नेपाली हवाई क्षेत्रमा २३ वर्षदेखि सेवा दिंदै आएको बुद्ध एअर देशको अग्रणी वायुसेवा कम्पनी हो। यो वायुसेवाले सन् २०१९ मा यात्रु सेवाका हिसाबले आन्तरिक उडानमा ५० प्रतिशतभन्दा बढीको हिस्सा ओगटेको थियो। कोरोना संक्रमण महामारीको जोखिमका कारण सरकारले हवाई उडान बन्द गर्ने समय १५ भदौसम्म लम्ब्याएको छ। महामारीका कारण ५ महीनादेखि बन्द समग्र हवाई क्षेत्रले भोगिरहेको समस्या लगायत विषयमा बुद्ध एअरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुुर बस्नेतसँग हिमालखबरका राजु बास्कोटाले गरेको कुराकानीको सारसंक्षेपः
कोभिड–१९ रोकथामका लागि गरिएको बन्दाबन्दीले नेपाली हवाई उड्डयन क्षेत्रमा पारेको असर कति ठूलो हो ?
अहिले समग्र हवाई उद्योग ठप्प हुँदा हामी शून्यमा पुगेका छौं। यो स्थितिबाट अब कसरी माथि उक्लिने र हिजोको सामान्य अवस्थामा पुग्ने भन्ने चिन्ताको विषय बनेको छ। झन्डै चार महीना लामो बन्दाबन्दी र त्यसयता पनि उडान नखुलेकाले समग्र हवाई उद्योगको क्षति हेर्दा महीनैपिच्छेको आय गुमेको छ। त्यो क्षतिको खाडल अब कहिल्यै पुरिंदैन। कम्पनीलाई कति घाटा लाग्यो भन्ने विषयमा चाहिं सञ्चालन, बीमा, साँवा, ब्याजमा खर्च छ। कर्मचारीलाई निश्चित तलब–भत्ता हामीले महीनैपिच्छे दिइरहेका छौं। त्यो हिसाबले बुद्ध एअरलाई मासिक रु. ८-१० करोड घाटा छ। सामान्य अवस्थामा बुद्ध एअरको मासिक आम्दानी करीब रु. ५० करोड हुने गरेको थियो। अहिलेको अवस्थामा ६ महीना उडान हुन नसक्दा बुद्ध एअरलाई मात्रै रु.३ अर्ब घाटा भएको छ।
कोभिडको संक्रमण झन् फैलिरहेकाले जोखिम उच्च भएको भन्दै सरकारले उडान खुलाउने मिति पछाडि धकेलिरहेको छ। वायुसेवासहितका समग्र पर्यटन व्यवसायी उडान खुलाउन आन्दोलन गर्ने तयारीमा छन्। किन ?
चार महीनाको बन्दाबन्दीपछि गएको साउन १५ देखि होटल र रेस्टुरेन्ट खुल्न थालेका थिए। अब होटल–रेस्टुरेन्टको आपूर्ति प्रणाली चलाउनुपर्छ भनेर शुरु भइरहेको अवस्थामा सरकारले फेरि बन्द गराउन थाल्यो। संसारभर नै सुरक्षा निर्देशिका पालना गरेर होटल–रेस्टुरेन्ट सञ्चालन हुन थालेका छन्। यसैले हाम्रोमा पनि अब फेरि बन्द गर्ने हैन, आवश्यक सुरक्षा मापदण्ड पालना गरेर पर्यटन तथा हवाई उडान पनि खोल्नुपर्छ भनेका हौं। विश्व स्वास्थ्य संगठनले कोभिड अझै लामो समय रहन सक्ने भएकाले योसँगै बाँच्नुपर्ने भनेको छ। यस कारण हामी सबै क्षेत्रले सुरक्षा उपाय अपनाएर अगाडि बढ्नुपर्छ।
संसारभरि कोभिडको संक्रमण हुँदाहुँदै अर्थतन्त्र चलायमान भएका उदाहरण प्रशस्त छन्। हामीले कमभन्दा कम जोखिम हुने गरी सुरक्षाका उपाय अपनाएर अर्थतन्त्रलाई अघि बढाउनुपर्छ। पाँच महीनादेखि मजदुर कामविहीन हुँदा श्रमिकको खर्च गर्ने शक्ति नै गुमिसक्यो। अझै कति दिन सहेर बस्ने?
हवाई उडान खुलाए पनि तत्कालै यात्रा गतिविधि हुने अवस्था त देखिंदैन, तपाईंहरुले किन उडान खुलाउनुपर्ने अडान राखेको ?
यात्रु आएनन् भने हामी भाडा घटाउँछौं वा उडान संख्या कटौती गर्छौं। छिमेकी मुलुक भारतसहित संसारका धेरै देशले कोभिड महामारीका बीच आन्तरिक वायुसेवा शुरु गरेका छन्। अत्यावश्यक कामका लागि हिंड्नुपर्नेले प्रयोग गर्ने साधन वायुसेवा नै हो। सबैजसो देशले अत्यावश्यक सेवा प्रवाहकै लागि आन्तरिक वायुसेवा खोलेका हुन्। हामीले पनि खोल्नुपर्छ। संसारभरि कोभिडको संक्रमण हुँदाहुँदै अर्थतन्त्र चलायमान भएका उदाहरण प्रशस्त छन्। हामीले कमभन्दा कम जोखिम हुने गरी सुरक्षाका उपाय अपनाएर अर्थतन्त्रलाई अघि बढाउनुपर्छ। पाँच महीनादेखि मजदूर कामविहीन हुँदा श्रमिकको खर्च गर्ने शक्ति नै गुमिसक्यो। अझै कति दिन सहेर बस्ने?
हवाई उडान खुलेको एक–दुई साता विभिन्न स्थानमा अड्किएर बसेका र आकस्मिक प्रयोजनमा हिंड्नुपर्ने यात्रु चढे पनि त्यसपछि यात्रु नभएर वायुसेवा कम्पनीलाई झन् अप्ठ्यारो पर्दैन ?
त्यो हाम्रो समस्या हो। यात्रु कम भए उडान संख्या घटाउने वा अन्य व्यवस्था मिलाउने काम हामी वायुसेवा कम्पनीले गर्छौं। अब उडान रोकिरहने होइन।
जहाजको क्षमताभन्दा कम यात्रु आए भने भाडा बढ्छ कि बढ्दैन ?
हवाई भाडा बढाउने वा घटाउने व्यापारिक रणनीतिको कुरा हो। तर, इन्धनको मूल्य घटेका कारण अहिले हवाई भाडा घटिसकेको छ। माग र आपूर्तिको सिद्धान्तले भाडा अझै घट्न सक्छ। सरकारले तोकेको सीमाभन्दा बढी त कुनै पनि वायुसेवाले भाडा लिन सक्दैनन्। अहिलेको विश्लेषण अनुसार २०२१ फेब्रुअरीसम्म कोभिडको असर जान सक्छ। त्यो अवस्थामा मजदूरको चुलो कसरी बाल्ने भन्ने चिन्ता हो।
हामीले त सरकारलाई अनुरोध मात्रै गर्ने हो। सरकारले कसरी उडान गर्न दिन्छ भन्ने अर्को पाटो हो। भ्याक्सिन नआएसम्म उडान नखुलाउने वा दैनिक दुई वटा मात्रै उडान गर्न दिने भनियो भने सोही अनुसार तयारी गर्नुपर्छ। अहिले त सरकारले नै के गर्ने भन्ने निर्णय गर्न नसकेकाले अन्योल छ। हामीले भने बुद्ध एअरका ११०० कर्मचारीको चुलो कसरी बाल्ने, अझै ६ महीना कसरी टिक्ने भनेर रणनीति बनाइसकेका छौं।
नेपालमा पर्यटक कति आउँछन् भन्ने आधारमा हवाई क्षेत्र चल्ने भएकाले कुन वायुसेवा कति समय टिक्छन् भन्ने कुरा पर्यटक आगमनले निर्धारण गर्छ। पर्यटक नआएको अवस्थामा पनि बुद्ध एअर चाहिं अझै ६ महीनादेखि एक वर्षसम्म टिक्न सक्छ।
पाँच महीनादेखि जहाज मर्मत गर्ने र कर्मचारीलाई दिने तलबमा कत्तिको समस्या भोग्नुपरेको छ ?
अहिले आम्दानी शून्य भएकाले समस्या त भइहाल्छ। कर्मचारीलाई तलब दिनैपर्छ। व्यवसाय ठप्प भएको असहज परिस्थितिलाई देखाउँदै नदिएको भए पनि हुन्थ्यो होला। तर, २३ वर्षदेखि सञ्चालनमा रहेको वायुसेवाका कर्मचारीलाई भोकभोकै राख्न हाम्रो नैतिक दायित्वले दिएन।
वायुसेवा नचलेर घाटामा रहेको अवस्थामा अब चलाउँदा पनि यात्रु अभावका कारण तत्काल फाइदा त नहोला नि !
नाफा र घाटा अहिले गौण विषय भएको छ। हामी जुन दिन उडान खुला गर्छौं, त्यसपछि सामान्य अवस्थामा आइहाल्छौं भन्ने छ। नेपालमा पर्यटक कति आउँछन् भन्ने आधारमा हवाई क्षेत्र चल्ने भएकाले कुन वायुसेवा कति समय टिक्छन् भन्ने कुरा पर्यटक आगमनले निर्धारण गर्छ। पर्यटक नआएको अवस्थामा पनि बुद्ध एअर चाहिं अझै ६ महीनादेखि एक वर्षसम्म टिक्न सक्छ।
बुद्ध एअरले दुर्गम उडानका लागि नयाँ जहाज ल्याउने कुरा थियो, कोभिड–१९ को कारण त्यो योजनामा कुनै फेरबदल भएको छ?
तय भइसकेको त्यो योजनामा फेरबदल भएको छैन। दुर्गम क्षेत्रको उडानका लागि अमेरिकी कम्पनी टेक्स्ट्रन एभिएसन इन्कको १८ सिटे जहाजको मूल्यांकन गरिरहेका छौं। बन्दाबन्दी रहे वा नरहे पनि त्यो जहाज ल्याउने योजना छ। अहिले अमेरिकामा परीक्षण उडान गरिरहेको त्यो जहाज ल्याएर यहाँ पनि परीक्षण उडान गरी हाम्रो भूबनोट अनुसार उपयुक्त देखिए सञ्चालनमा ल्याउनेछौं।
अहिलेसम्म बुद्ध एअर सेवामुखी उडानलाई बेवास्ता गरी सुगममा सीमित भएर नाफामुखी मात्र भएको आरोप पनि लाग्छ नि !
दुर्गम गए पनि हामी नाफामुखी नै हुन्छौं। हामी फाइदामा चल्नेछौं भनेर नै दुर्गममा जान खोजेका हौं। सेवामुखी चाहिं हामी अहिले पनि छौं। वार्षिक १८ लाख नेपालीलाई सस्तो भाडामा हवाई सेवा उपलब्ध गराइरहेका छौं। आजको दिनमा विराटनगर रु.३ हजारमा जान पाउने गरी घोषणा भएको छ। २३ वर्ष अघि बुद्ध एअर सञ्चालन गर्दा काठमाडौं–विराटनगरको हवाई भाडा रु.१६०० थियो भने त्यतिवेला सुनको भाउ प्रतितोला रु.४००० मात्रै थियो। अहिले सुनको भाउ प्रतितोला रु.१ लाख पुगेको छ। महँगीको हिसाबले हाम्रो अहिलेको हवाई भाडा नेपाली यात्रुलाई अप्रत्याशित सस्तो हो। सेवामुखी भएकाले सस्तो भाडा दिइरहेका छौं।
दुर्गम गए पनि हामी नाफामुखी नै हुन्छौं। हामी फाइदामा चल्नेछौं भनेर नै दुर्गममा जान खोजेका हौं। सेवामुखी चाहिं हामी अहिले पनि छौं। वार्षिक १८ लाख नेपालीलाई सस्तो भाडामा हवाई सेवा उपलब्ध गराइरहेका छौं।
साना जहाजलाई विस्थापन गरेर एटीआरका सबै ठूला जहाज उडाउने बुद्ध एअरको रणनीति नेपाली हवाई उड्डयन क्षेत्रमा सफल हुनुको कारण चाहिं के हो ?
सानाबाट ठूलोमा जाँदैमा सफल नै हुन्छ भन्ने हुँदैन। हामी भन्दा अगाडि एटीआर जहाज तत्कालीन नेकोन एअरले चलाइसकेको छ। यही एटीआरकै कारण नेकोन डुबेको भन्ने पनि छ। हामीले चाहिं यसैबाट फाइदा गर्न सकेका छौं। त्यसैले जहाज मात्र सफलताको कारण हुन सक्दैन। जहाज चलाउन र नाफामा लैजान व्यवस्थापन चुस्त बनाउनुपर्छ।
सरकारले स्वदेशी र विदेशीलाई समान भाडादर लागू गर्नुपर्छ भनिरहेको छ, यो लागू भयो भने नेपालीले पाएको भाडादर पनि बढ्छ ?
५० वर्षदेखि प्रचलित विदेशीसँग लिइने भाडादरलाई अहिले आएर सरकारले वायुसेवाले बढी नाफा लिने माध्यम बनायो भनेर रिस गरेको हो कि जस्तो छ। विदेशीसँग लिएको डलर फेयरबाटै स्वदेशी यात्रुलाई भाडामा अनुदान मिल्ने हो। स्वदेशी र विदेशीलाई हवाई भाडामा एकरूपता गर्ने हो भने अहिले नेपालीले पाइरहेको रु.३ हजारको भाडादर त एकै पटक रु.५ हजार पुग्छ।
नेपालीलाई बढाउन नपाइने र विदेशीबाट लिने चाहिं घटाउने भन्ने पनि छ नि !
विदेशीबाट डलर फेयर लिन नपाउने हो भने सजिलो हिसाबले हेर्दा पनि नेपालीलाई नै भाडा बढ्छ। वायुसेवा टिक्न पनि भाडा बढाउनैपर्छ। नेपालीलाई नै भाडा बढाउने गरी एकरुपता गर्न किन खोजिएको भनेर पर्यटन मन्त्रीलाई यात्रुले पनि प्रश्न गर्नुपर्ने हो।
अब्बल व्यवस्थापन हुँदाहुँदै बुद्ध एअरले यसअघि भुटानको पारो, भारतको लखनउ र दिल्ली उडान शुरु गरेर पछि बन्द गर्यो। अन्तर्राष्ट्रिय उडानमा किन असफल हुनुभयो ?
अन्तर्राट्रिय उडानमा हामीले प्रयास गर्दै गएका छौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्यहाँबाट उडान गर्ने हाम्रो तयारी छ। व्यापार गरेपछि नाफामा जानुपर्छ भन्ने हाम्रो मान्यता हो। त्यसैले यसअघि अन्तर्राट्रिय गन्तव्यमा घाटा भएको ठाउँलाई निरन्तरता दिएनौं।
कोभिड–१९ महामारीपछि नेपालको उड्डयन र पर्यटन क्षेत्र तंग्रिएर पुरानै अवस्थामा फर्कन कति समय लाग्ला ?
यो विषय राज्यको रणनीति र व्यवस्थापनमा भर पर्छ। अन्तर्राष्ट्रिय ट्राभल ट्रेड एजेन्सीले सन् २०२१ को हिउँदमा गत वर्षभन्दा १४५ प्रतिशतले पर्यटक बढ्ने आकलन गरेको छ। नेपालमा पनि सोही अनुपातमा पर्यटक आउन सक्छन्। उडान कहिले खोल्ने, पर्यटकलाई सुरक्षाको महसूस कसरी गराउने भन्ने रणनीति अहिलेदेखि नै बनाउनुपर्छ। बन्दाबन्दीको तेस्रो सातादेखि नै बुद्ध एअरले सुरक्षा मापदण्ड अपनाएर उडान गर्ने तयारी गरेको थियो। त्यस अनुुसार हामीले परीक्षण पनि गरिसकेका छौं। मूल रूपमा राज्यले तयारी कस्तो गर्छ, त्यस अनुसार नै पर्यटन क्षेत्र तंग्रिन सक्छ।
याे पनि पढ्नुहाेस्– दुर्गम क्षेत्रमा उडान भर्ने महत्वाकांक्षी योजना बनाउँदै बुद्ध एअर